Logo

राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुबाट मतदान गर्न आव्हान

वैशाख ३०, २०७४, नयाँ संविधान जारी भएपछि संघीय संरचनाको विधिवत् कार्यान्वयनका लागि पहिलो पटक हुन लागेको स्थानीय तह चुनावमा शान्तिपूर्ण रूपमा सहभागी भई मतदान गर्न राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेताहरूले अपिल गरेका छन् । आइतबार हुन लागेको पहिलो चरणको निर्वाचनका सन्दर्भमा छुट्टाछुट्टै अपिल जारी गर्दै उनीहरूले यो निर्वाचनबाट जनता अधिकारसम्पन्न हुने अपेक्षा गरेका छन् । 

                  राष्ट्रपति बिध्यादेवी भण्डारीले आम मतदाताका नाममा सन्देश जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल बनाउन आग्रह गरेकी छन् । ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ भित्र सम्पन्न हुनुपर्ने भनी अंगीकार गरेको तीन तहको निर्वाचनको पहिलो खुटकिलो भएकाले यसको आफ्नै महत्त्व छ,’ राष्ट्रपति भण्डारीको सन्देशमा छ, ‘यस निर्वाचनले स्थानीय तहलाई अधिकारसम्पन्न गराई स्थायित्व र आर्थिक समृद्धिको ढोका खोल्नेछ ।’ चुनावमा उत्साह र उमंगसाथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकार प्रयोग गर्न उनले आम मतदातालाई अनुरोधसमेत गरेकी छन् ।

                 प्रधानमन्त्री पुष्पकमल दाहालले पनि चुनावमा सक्रिय रूपमा भाग लिई सार्वभौम अधिकार प्रयोग गर्न मतदातालाई आव्हाहन गरेका छन् । ‘यस्तो प्रकारको चुनाव नेपालमा पहिलोचोटि हुँदैछ । एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीका रूपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोसेढुंगाका रूपमा लिन सकिन्छ,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोतसाधनलाई जनताको घरआँगनसम्म पुर्‍याउन ढोका खुला हुनेछ ।’

               शान्ति सुरक्षाका दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘तसर्थ सबै मतदाता दिदीबहिनी तथा दाजुभाइहरूलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोचब्निा निर्धक्क भई आफूले चाहेका उम्मेदवारलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु,’ प्रधानमन्त्रीको सन्देशमा छ । 

                प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पनि वक्तव्य जारी गर्दै स्थानीय तहको चुनाव संविधानको कार्यान्वयन र नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूत तहसम्म पुर्‍याउने महत्त्वपूर्ण कडीका रूपमा रहेको बताएका छन् । ‘निर्वाचनपश्चात् जनताको स्वशासन सुरुआत हुनेछ र लामो समयदेखि अवरुद्ध विकास निर्माणका काम तथा जनताको सेवा सुविधाको पहुँचमा नयाँ गति प्राप्त हुनेछ,’ अध्यक्ष ओलीले भनेका छन्, ‘आफ्नो सबैभन्दा नजिकको सरकार छान्ने यस निर्वाचनमा उत्साहपूर्ण ढंगले सहभागी हुन र आफूले रुचाएका उम्मेदवारलाई मतदान गर्न सबै मतदातामा अनुरोध गर्दछु ।’

                उनले लोकतन्त्रमा आफ्ना वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै भएको स्मरण गराएका छन् । ‘विभिन्न असहमति राखेर निर्वाचन प्रक्रियाभन्दा बाहिर रहेका दलहरूलाई पनि दोस्रो चरणको निर्वाचनमा उत्साहसाथ सहभागी हुन अनुरोध गर्दैछौं,’ ओलीले भनेका छन्, ‘मतदान गर्नु नागरिकहरूको अधिकार मात्र होइन, कर्तव्य पनि हो ।’

               राप्रपा अध्यक्ष कमल थापाले पनि वक्तव्य जारी गर्दै मुलुकको संकट समाधानका लागि निर्वाचन महत्त्वपूर्ण खुटकिलो हुने उल्लेख गरेका छन् । उनले निर्वाचनले संविधान कार्यान्वयनलाई अघि बढाउने र दोस्रो चरणको निर्वाचन हुने वातावरणसमेत तयार गर्ने विश्वास व्यक्त गरेका छन् ।

            साभार कान्तिपुर 
प्रतिक्रिया दिनुहोस्