Logo

रेखा र कोमलको चुनावी व्यस्तता

वैशाख २५, २०७४, कुनै समय फ्यानहरूको भीडबाट नायिका रेखा थापा जोगिएर हिँड्नुपर्ने अवस्था थियो । अचेल उनी विनम्र बोलीसाथ दर्शकहरूकै घरदैलो पुग्ने गरेकी छन् । फिल्मी सम्बन्धका कारण स्टारडम जोगाउन पनि रिजर्भ बस्नुपर्ने अवस्था थियो, राजनीतिमा लागेपछि यस्तो स्वभावमा परिवर्तन नल्याई सुखै भएन ।

                  ‘राजनीतिमा लागेपछि जनताको मन बुझ्ने मौका पाएकी छु,’ उनले भनिन् । यसै वर्ष राप्रपाको केन्द्रीय सदस्य भएकी रेखा स्थानीय चुनावको भरपूर सदुपयोग गर्दै घरदैलो पुगेकी छन् । उनी आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा खटिएको झन्डै दुई साता पुगिसकेको छ । 
                  उनले चितवन, मकवानपुर, हेटौंडालगायत स्थानमा जनतासँग प्रत्यक्ष भेटेरै ‘गाई’ चिह्नमा भोट हाल्न आग्रह गरिसकेकी छन् । ‘लामो पर्खाइपछि जनताले स्थानीय निर्वाचनबाट नेतृत्व छान्ने अवसर पाएका छन्, यस्तो महत्त्वपूर्ण समयमा असल नेतृत्व बुझेर मात्रै भोट खसाल्न अनुरोध पनि गर्दै हिँडेकी छु ।’ निर्वाचनमा यति बेला युवा सहभागिता लोभलाग्दो देखिँदै गएको छ ।

                 रेखाले पनि आफ्नो पार्टीमा युवा नेतृत्व रहेको दावी गरिन् । ‘मलाई विश्वास गरेर मेरो पार्टीमा भोट हाल्न चाहने शुभेच्छुकहरू थुप्रै देखेकी छु,’ उनले भनिन् । उनले निवार्चनपछि पार्टीले घोषणा गरे अनुरुप काम गरेन भने आफैले खबरदारी गर्ने समेत बताइन् । अबको समयमा युवालाई मौका दिनुपर्छ भन्ने उनको मान्यता छ । 

           राप्रपाकै केन्द्रिय सदस्य रहेकी गायिका कोमल वली पनि स्थानिय निर्वाचनमा सक्रिय छिन् । नयाँ वर्षको उपलक्ष्यमा देशविदेशबाट सांगीतिक कार्यक्रम गर्न आएको निम्तो यत्तिकै थाती राखेर उनी चुनावी प्रचारप्रसारमा खटिएकी छन् । ‘नेताका लागि जनतासमक्ष प्रत्यक्ष भेटघाट गर्ने अवसर यति बेलै हो,’ उनले भनिन्, ‘यही महत्त्व बुझेर बाहिरका सांगीतिक कार्यक्रमहरू अहिलेलाई छाडेकी छु ।’ 

               चुनाव प्रचार प्रसारको बेला राजनीतिक भाषण गरिरहँदा दर्शकश्रोताले ‘अब गीत नगाउने ?’ भन्दै गरेको चिन्ता सुन्दा उनलाई अचम्म लाग्छ रे । ‘संगीत मेरो जन्मआमा हो र राजनीति सन्तान भन्ने गरेकी छु,’ उनले भनिन्, ‘राजनीतिमा करिअर हुर्काउँदै छु, संगीत त जननी हुन्, छोड्ने कुरै भएन ।’

             पार्टीको चुनाव प्रचार प्रसारमा उनी बर्दिया, टीकापुर, कञ्चनपुर, तुलसीपुर, सिन्धुपाल्चोक लगायत अन्य जिल्लामा पुगिसकेकी छन् । ललितपुर निवासी उनी आफ्नै क्षेत्रमा पनि उत्तिकै खटिरहेकी छन् । 

                    कान्तिपुर 

 

प्रतिक्रिया दिनुहोस्