Logo

कता जाँदैछ हाम्रो नेपाली पत्रकारिता?

जुन देशमा सरकारले गुणस्तरीय सेवा दिन सकेको छैन, अनुगमन गर्न सकेको छैन त्यहाँ दिलशोभा जस्ती एउटा सामान्य समाजसेवीबाट अपेक्षा गर्न सुहाउँछ ? सडक पेटीबाट वेवारिसे आमाहरुलाई उठाएर दिलशोभाले दिएको जस्तो संरक्षण, दिक्षा चापागाईँले दिएको जस्तो संरक्षण हामीहरु कसैले दिन सकेका छौं ? सरकार स्वयंले कतिदिन सकेको छ ? भन्ने सवालहरुमा हाम्रो पत्रकारिता किन चुक्यो ? एउटी निर्दोष महिला दिलशोभा र उनको समाजसेवी भावनामाथि चलाईएको कलम कसरी तरवार सावित भयो ? के पत्रकारिताको धर्म यहि हो त ? हामीले यस्ता कुराहरुमा विवेक पुर्याउन जरुरी छ । “

                                                    – रामप्रसाद खनाल    

त्रकारितामा करिब तीन दशक रहँदा, रेडियो, टेलिभिजन, छापा पत्रकारिता देखि अनलाईन पत्रकारिताको समेत अनुभव सँगाल्दा साह्रै सवल,राम्रा पक्षदेखि साह्रै दुर्वल नकारात्मक पक्षहरु पनि देख्न, भोग्न, अनुभव गर्न पाईयो । बुटवलमा बसेर पत्रकारिता गर्दा होस् वा काठमाण्डौंको पत्रकारितामा सरेर होस् अझ भनौं अमेरिकामा झरेर होस्, हेर्दाहेर्दै पत्रकारिताले अचम्मको फड्को मारिरहेको देखिरहेको छु ,भोगीरहेको छु ।
                      १६ औं शताब्दीमा जङ्गबहादुरले बेलायतबाट ल्याएको लेटर प्रेस जहाँ आधा आधा र एक एक अक्षर जोडेर कम्पोज गरेर प्रकाशित गर्ने पत्रपत्रिकाको अनुभव पनि सँगालियो । त्यसपछि आएको अपसेट प्रविधि, कम्युटराईज प्रविधि पनि अनुभव गरियो । देशको एकमात्र सरकारी रेडियो / रेडियो नेपालमा बसेर कामगर्दा होस् वा तत्कालिन अवस्थामा नेपालको एक मात्र सरकारी टेलिभिजन / नेपाल टेलिभिजनमा बसेर काम गर्दा होस् नौला नौला अनुभव सँगाल्दै ब्रिटेन सरकारको सहयोगमा संचालित बीबीसी जस्तो बिश्वबिख्यात सञ्चार माध्यमलाई सहयोग गरेर पनि केहि अनुभव हासिल गर्ने अबसर पाइयो तर पछिल्ला संचार विकास क्रमले यति फड्को मारिसकेको छ कि अवको जमानामा लाईभ अर्थात् प्रत्यक्ष प्रकाशन/ प्रसारण गैसकेपछिको अनुभव पनि सँगालिदैछ अहिले । अव मासिक, बार्षिक, साप्ताहिकको जमाना त पुरै गईसकेजस्तो लाग्दछ ।
                   दैनिक पत्रपत्रिकामा दिनभर भए गरेका घटनाक्रम राति प्रकाशन गरेर भोलि बिहान बजारमा ल्याइदा पनि ढिलो/पुरानो हुनथालेको छ आजकल । तत्कालै जस्ताको तस्तै प्रकाशन प्रसारण नगर्ने हो भने त अव पत्रकारिताको कुनै अर्थ नरहने दिन आए । रेडियो टेलिभिजनले प्रत्यक्ष प्रसारण नगर्ने हो भने अव कुनैपनि समाचार वासी हुन थाले । अनलाईन मिडियाहरु सम्वन्धित ठाउँमा बसेर लाईभ अपडेट गर्न चुके भने त्यसको पनि औचित्य करिव करिव सकिने दिन आए । प्रत्यक्ष प्रसारण, अपडेट, फोटो, भिडियो सहित समाचार अपडेट गर्दा अव संसारको जुनसुकै ठाउँमा जहाँ पनि तत्काल सन्देश प्रवाह हुने र कसैलाई पनि संसार साँघुरिंदै गएको, नजिकै भएको जस्तो अनुभव हुने पनि हामीले देखिसक्यौं, भोगिसक्यौं । संचार क्षेत्रमा यसरी प्रविधिले फड्को मार्दा हाम्रो नेपाली पत्रकारिता पनि अगाडि त बढेको छ तर बिश्वसनियता भने घट्दै जानु चिन्ताको बिषय हो ।
                  अहिले नेपाली पत्रपत्रिका, टि.भी., रेडियो, अनलाईनहरु नेपालमा च्याउसरी उम्रिएका छन् । देशभित्र मात्र होईन बिदेशमा पनि यसको बाढी नै आएको छ भन्नुमा अत्युक्ती नहोला । संचार मन्त्रालयका अनुसार ३८७ रेडियोहरु, १९ वटा टेलिभिजन, करिव १० हजार पत्रपत्रिका, सयौं अनलाईन संचालनमा छन् र यो क्रम हरेक दिन बढ्दो छ । पत्रकारहरुको संख्या पनि अनगिन्ती छ । करिव २ सय रेडियो र एक दर्जन टेलिभिजनहरु थपिने क्रममा छन् । कतिले त लाईसेन्स लिएर प्रक्रिया शुरु गरिसकेका छन् भन्ने संचार मन्त्रालयको जानकारीलाई पत्याउनै पर्छ र पत्याउँदा अव देशको हरेक गाउँपालिका, नगरपालिका, वडासम्म रेडियो, पत्रपत्रिका र देशका प्रमुख शहरहरुमा टि.भी. हरु संचालनमा जाने कुरा आंकलन गर्न अफ्ठ्यारो छैन । त्यतिमात्र होइन अहिले त फेसबुक, ट्वीटर, युट्युब लगायतका सामाजिक संजालका कारण हरेकसँग संचार माध्यमको पहुँच छ । कुनैपनि व्यक्तिले फोनबाट हिंड्दा हिंड्दै सजिलै संसारको जुनसुकै ठाउँबाट अहिले प्रत्यक्ष प्रकाशन, प्रसारण गर्न सक्छ । फेसबुक युट्युब लाईभले त अहिले टेलिभिजन रेडियो लाईभलाई समेत ठूलो चुनौति दिईरहेको छ ।
                   कुनैबेला रेडियो नेपाल र नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा सहभागी हुँदा गर्दाको म अनुभब सम्झिन्छु । कति ठूलो लाग्दथ्यो प्रत्यक्ष प्रसारण तर आज प्रत्यक्ष प्रसारण सामान्य भईसकेको छ । कार्यक्रम शुरु भएर क्लोज नगर्दै समाचार पूरानो हुने दिन आईसक्यो । हरेक कुरा अव प्रत्यक्ष प्रसारणमा पुगेन भने एकैछिन पछी त्यो बासी हुने अवस्था छ । त्यसैले अव पत्रकारिता गर्ने ब्यक्तिहरले पनि आफूलाई समय सापेक्ष बनाउन सकिएन भने हामीले पत्रकारिता नगर्दा हुन्छ । अहिले नेपाली पत्रकारिता संख्यात्मक रुपमा बढे पनि गुणात्मक रुपमा कमजोर हुँदै, पछि पर्दै, विश्वास गुमाउँदै गएको देखिन्छ । त्यसैमाथि कपि पेष्ट पत्रकारिताले त अझ पछाडि धकेलिंदै छ हाम्रो पत्रकारिता ।
                   एउटी अनपढ, सामान्य महिला दिलशोभा श्रेष्ठले आमाघर खोलेर समाजसेवा गरिन् । उनको समाजसेवा उनको ठाउँमा हेर्ने हो भने निकै प्रशंसनिय थियो । पढे लेखका, सक्षम, गर्न सक्नेहरुले गर्न नसकेको काम गर्दै गरेकी दिलशोभालाई एउटा पत्रिकाको संवाददाताले रातारात हिरोबाट जिरो बनाईदियो । दिलशोभाको आमाघरमा खानेकुराको गुणस्तर भएन रे, पानी स्वच्छ भएन रे, स्वच्छ वातावरण भएन रे, सुत्ने वेड बिस्तारा राम्राा भएनन रे ! जस्ता यावत प्रश्न उठाएर दिलशोभाको समाज सेवालाई ज्युँदै समशानघाट पुर्यायो नेपाली पत्रकारिताले ।
                          जुन देशमा सरकारले गुणस्तरीय सेवा दिन सकेको छैन, अनुगमन गर्न सकेको छैन त्यहाँ दिलशोभा जस्ती एउटा सामान्य समाजसेवीबाट अपेक्षा गर्न सुहाउँछ ? सडक पेटीबाट वेवारिसे आमाहरुलाई उठाएर दिलशोभाले दिएको जस्तो संरक्षण, दिक्षा चापागाईँले दिएको जस्तो संरक्षण हामीहरु कसैले दिन सकेका छौं ? सरकार स्वयंले कतिदिन सकेको छ ? भन्ने सवालहरुमा हाम्रो पत्रकारिता किन चुक्यो ? एउटी निर्दोष महिला दिलशोभा र उनको समाजसेवी भावनामाथि चलाईएको कलम कसरी तरवार सावित भयो ? के पत्रकारिताको धर्म यहि हो त ? हामीले यस्ता कुराहरुमा विवेक पुर्याउन जरुरी छ ।
                        देश विदेश जता हेर्यो फोहोरी राजनीतिलाई हामीले प्रशंसा गरिरहेका छौं । सामाजिक, आर्थिक, समाजका हरेक पक्षलाई होईन हामीले राजनीतिक पार्टी र तिनका असफल नेताहरुको हतियार बनेर पत्रकारिता गर्दा समाजको चौंथो अंग पत्रकारिता पुरै दुषित भएको छ । हरेक पार्टीका आ–आफ्नै पत्रकार/संस्था छन् । जो समर्थक छन, उनिहरु बचाउँछन्, ढाक्छन्, गलतलाई सही र सहीलाई गलत बनाएर प्रस्तुत गरिदिन्छन् । यसले गर्दा पत्रकारितामा अविश्वास बढ्दै गएको, पत्रकारिता क्षेत्र बदनाम बन्दै गएको अनुभव गर्न सहजै सकिन्छ ।
                       राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु पर्नेमा पत्रकारिता अहिले उल्टो भएको छ, व्ल्याकमेलिङको साधन भएको छ, हुने खानेहरु, पहुँचवालाहरुको मात्र साधन भएकोछ, बुझि नसक्नु भएको छ हाम्रो पत्रकारिता । पत्रकारितामा लाग्ने पत्रकारहरु स्वयंको गुणस्तर हेर्नुस त ? कहिं कतै बिक्न नसक्ने मान्छे पत्रकार बन्न थाले भने के हुन्छ भन्नुस त ? कहिंपनि काम नलागे राजनीतिमा, राजनीतिमा पनि काम नलाग्ने भए पत्रकारितामा लाग्ने चलन तोडिनुपर्छ । अव पूरानो ढर्राबाट पत्रकारिता चल्नेवाला छैन, सवैलाई चेतना भया ।
नोट : लेखक खनाल अन्तराष्ट्रिय कलाकार मञ्चका केन्द्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वाशिंगटन डी.सी.का अध्यक्ष र नेपाल मदर डट कमका प्रधान सम्पादक पनि हुनुहुन्छ ।
                – सम्पादक
 
प्रतिक्रिया दिनुहोस्