Logo

एक अभिनेता जो आफ्नै आवाज फिर्तीको पर्खाइमा

बैशाख १२ , २०७४ काठमाडौं : ‘फिल्म लाइन’ छोड्ने कोसिस उनले नगरेका होइनन्, तर उनका प्रयासहरू सफल भएनन्। आज फर्केर हेर्दा उनलाई लाग्छ, ‘म अभिनयकै लागि जन्मिएको थिएँ।‘ ०३७ सालमा दीपक पहिलो पटक काठमाडौं आएका थिए। बम्बैमा ‘हिरो’ बन्न नसकेको झोँक थियो। हिरो बन्ने सपनालाई तिलाञ्जलि दिएर लेवनान उड्ने योजनामा रहेका उनको भिसा लागिसकेको थियो। तर त्यही बेला लेवनानमा गृहयुद्ध सुरु भयो। त्यहाँ जाने उडान रद्द भयो।   उनलाई लाग्छ- खासमा उनी लेवनान जान रोकिएका थिएनन्, बरु अभिनयका लागि रोकिएका थिए, जुन उनको वास्तविक सपना थियो। त्यसपछिका दिनमा उनी यताउता भएनन्, आफ्नो सपनालाई पछ्याइरहे। सिंगो जीवन अभिनयमा खर्चेकोमा उनलाई कसैप्रति गुनासो पनि छैन। किनकि अभिनय उनका लागि अरूले रोजिदिएको बाटो थिएन। बुबा उनलाई भारतीय सेनामा पाइलट बनाउन चाहन्थे। अरूका पनि आआफ्ना अपेक्षाहरू थिए। बाबुसहित अरूले देखाएका कयौँ सम्भावना लत्याएर उनी रंगमञ्चको दुनियाँमा हामफालेका थिए।

५६ वर्षका अभिनेता दीपक क्षेत्रीले आफ्नो लामो अभिनय यात्रामा एउटा नमीठो अनुभूति भने गरे- कलाकार देशका गहनाचाहिँ होइन रहेछन्। ‘गहना हुन्थे भने यति उपेक्षा किन भाइ?’ दबिएको आवाजमा उनले प्रश्न गरे। उनीसँग विगतमा जस्तो दमदार स्वर छैन अाज, न त खाइलाग्दो शरीर नै। तर अभिनयको रहर भने ज्यूँका त्यूँ। ‘अब कसो ठीक नहोइएला र भाइ?’ समस्या ठूलो पनि थिएन। पाँच लाख रूपैयाँ ठूलो पैसा पनि होइन। तर नभएपछि त्यही ठूलो हुने रहेछ। उपचारका लागि आवश्यक पाँच लाख रुपैयाँको समस्या बेहोरेर उनले पाँच वर्ष बिताए। दीपकका मित्रसमेत रहेका पत्रकार वसन्तप्रकाश उपाध्यायसँग हालै भएको एक भेट दीपकको उपचारमा ‘टर्निङ प्वाइन्ट’ बन्यो। ‘लेखेर केही हुन्छ र?’ शीर्षकमा वसन्तले फेसबुकमा दीपकको मार्मिक वास्तविकता उल्लेख गरी लेखेको सन्देशले धेरैको ध्यान तान्यो। उक्त भावुक परिवेशमा वसन्तले दीपकलाई सोधेका थिए- ‘केही लेखौँ है?’ ‘तीसौँ वर्ष भयो तपाईंहरूले लेखिरहेको। लेखेर हामीलाई केही हुन्छ र भन्या?’ व्यंग्यमिश्रित दीपकको प्रश्नको जवाफमा वसन्तले फेसबुकमा आफ्ना साथीहरूलाई प्रश्न छोडे,‘लेखेर केही हुन्छ कि हुँदैन?   अन्ततः लेखेर केही भयो। पाँच वर्षदेखि दीपकको स्वर-नलीमा पलाएको मासु काटिने भयो, जसले दीपकको ‘बोल्ड’ आवाज क्रमशः सुकाउँदै लगेको थियो। देश, विदेशबाट दीपकको उपचारका लागि सहयोग जुटिरहेको छ। सोमबारसम्म करिब २० लाख रूपैयाँभन्दा बढी रकम दीपकको उपचारका लागि जुटेको छ। मिडिया एनपी, ठूलो पर्दा, क्यानडा नेपाललगायतमा अपलोड गरिएका भिडियो हेरेपछि विश्वभरबाट सहयोगको बाचा गर्नेहरू थपिएका छन्। उनले ‘भिखारी’ घोषणा गरेको सरकारले पनि उपचारका लागि तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ। ‘पैसा जुट्यो भाइ, अब उपचारपछि आवाज फर्केला कि!’, उनी आशावादी देखिए।

प्रतिक्रिया दिनुहोस्