Logo

दस्तावेज बिशेष :लोड सेडिङ अन्त्य गर्ने अभियानका ‘ हिरो’

दस्तावेज प्रतिनिधी ,काठमाण्डौं,बैसाख,५ दशौं बर्षदेखि लोडसेडिङको मारबाट थलिएका काठमाण्डौं बासी जनतालाई नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमानसिंह घिसिङले लोडसेडिङ मुक्त शहर बनाई उज्यालो प्रकाश दिएर मुलुकमा एउटा उदाहरणिय कार्य गरेका छन् । जसको कारण श्री घिसिङको नाम सुन्नेबित्तिकै जनमानसमा उच्च श्रद्धा र चासोको बिषय बन्न थालेको छ । काठमाण्डौं शहरमा लोडसेडिङको अन्त्य गरेर हिरो भएका कुलमान सिंह घिसिङ अहिले ग्रामिण भेगमा पनि जनताको मुटुको ढुकढुकी बनेकाछन् । उनको यो उल्लेखनिय योगदानलाई सम्पूर्ण नेपाली नागरिकले उच्च श्रद्धा र सम्मानका साथलिनु पक्कैपनि गौरवको कुरा हो ।
                      लोडसेडिङको अन्त्यका लागि बिभिन्न राजनीतिक पार्टिका नेताहरुले जनतालाई खोक्रा आश्वासन दिई बर्षौंबर्षसम्म गुमराहमा पारेको कुरा कसैबाट लुकेको छैन । कसैलेपनि गर्न नसकेको कामलाई कुलमानसिंह घिसिङले चुट्कीको भरमा समाधान गर्नसक्नु पक्कैपनि एउटा चमत्कारिक कार्य नै मान्न सकिन्छ । सहि कार्ययोजना दृढ र ईच्छ्याशक्ति भएमा गाह्रा अप्ठ्यारा चुनौतीहरुलाई पनि सहजै पुरा गर्न सकिन्छ भन्ने एउटा जिउँदो जाग्दो प्रमाणको रुपमा कुलमानसिंह घिसिङलाई लिन सकिन्छ ।
कुलमानसिंह घिसिङ नेपाली जनताका लागि‘आईडलम्यान’हुन् भन्दा अत्युक्ति नहोला जसले मुलुकलाई उज्यालो दिने जिम्मेवारी बोकेको विद्युत प्राधिकरणको संस्कारमै ‘ब्रेकथ्रु ’गरेका छन् । विद्युत प्राधिरकणका प्रवन्ध निर्देशक घिसिङले लोडसेडिङ मुक्त काठमाण्डौं बनाएर सुधारका संकेत दिईसकेका छन् । उनि दावीकासाथ भन्छन् नेपालमा उत्पादित विजुली बेच्न अब धेरै बेर लाग्दैन । सञ्चालनमा आएको तामाकोशी जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न हुने बित्तिकै नेपालमा बिजुली बेच्ने दिन आउन समय नलाग्ने उनले ठोकुवा गरेका छन् । सुधार र व्यवस्थापनमा जोड दिएका घिसिङ उत्पादित हुँदै आएको विजुलीको सही व्यवस्थापन गर्न नसकेको कारण जनताले लोडसेडिङको मार खेप्दै आउन परेको बताउँछन् । विद्युत प्राधिकरणमा भएका व्यवस्थापकिय कमजोरीलाई सच्याएर अगाडी बढेकोले आज उपत्यकामा लोडसेडिङ हटेको उनि दावी गर्दछन् । निर्माणाधिन अवस्थामा रहेका जलविद्युत परियोजना चाँडै सम्पन्न गर्ने तथा काठमाण्डौंमा रहेका ट्रान्सफर्मरलाई अपग्रेड गरि एक हजार मेघावाट क्षमताको बनाउने उनको भावी योजना रहेको छ ।

करिअरको शुरुआत

           पढाईको सिलसिलामा भारतको जमशेदपुर पुगेका घिसिङ २०५१ सालमा नेपाल फर्किए । जागिरे जीवनसँगै उनी नेपाल विद्युत प्राधिकरणमा सातौं तहको ईन्जिनियर भए । त्यतिबेला उनको सरुवा चिलिमे जलविद्युत परियोजनामा भयो । उक्त परियोजनामा उनि प्रवन्ध सञ्चालकको नियुक्ती पाएर कामगर्न थाले । आफ्नो कार्यकालमा उनले चिलिमे जलविद्युत परियोजनालाई मुलुकको नमुना जलविद्युत आयोजनाको रुपमा विकास गरे । चिलिमे जलविद्युतमा वि.सं.२०६७ सालदेखि २०७१ असारसम्म प्रवन्ध सञ्चालकको रुपमा रहेका घिसिङकै नेतृत्वमा चिलिमेकै आम्दानीवाट रसुवागढी जलविद्युत,मध्यभोटेकोशी,सान्जेन माथिल्लो परियोजनाको थालनी गरिएको थियो । यसैक्रममा उनलाई आयोजनाबाट काठमाण्डौं फिर्ता बोलाईयो । त्यसपछि उनि दुईबर्षसम्म जागीर विहिन भए । वि.सं.२०७३ सालभदौ २९ गतेको मन्त्रिपरिषदको बैठकले उनलाई प्रवन्ध निर्देशकको पदमा पुनर्वहाली गरेको थियो । बहालमा रहनासाथ विद्युतीय क्षेत्रमा उनले उल्लेखनिय कार्य गरेर जनताको मन जित्न सफल भएका छन् । चिलिमे जलविद्युतको शेयर धमाधम दलाल मार्फत बिक्री हुन थालेपछि स्थानिय गाउँले र घिसिङको अगुवाईमा ७ करोड रुपैयाँ बराबरको शेयर फिर्ता भएको थियो । जसको कारण रसुवाका जनताहरुले उनलाई श्रद्धा गर्न थाले । तर दलालाका आँखामा उनि कसिंगर भएर बिझाउन थाले । यहि घटनाले नै उर्जामन्त्री ज्ञवालीले घिसिङलाई खलेर कामगर्न नदिएको बिद्युत प्राधिकरण श्रोतले बताएको छ ।

घिसिङको भावी योजनाहरु

१) आवश्यकता अनुसार द्रुतगतिमा विद्युतको आपूर्ति गर्ने ।
२) सम्भावना पहिल्याइ गुणस्तरीय विद्युत उत्पादन गर्ने ।
३) जोखिमरहित विद्युत आपूर्ति गर्ने ।
४) भरपर्दो र प्रभावकारी विद्युत सेवा प्रवाह गर्ने ।
५)वातावरणिय आउटलुक तयार पार्ने
६) मुलुकलाई लोडसेडिङ मुक्त बनाउने ।
         घिसिङका अनुसार अहिलेपनि आवश्यकता अनुसारको विद्युत आपूर्ति हुन सकेको छैन । स्तरिय भोल्टेज प्रवाह गर्न सकिएको छैन । जसको समाधानको लागि खटिरहेको उनि बताउँछन् । उनले सडकका यत्रतत्र टाँगिएका तारलाई व्यवस्थितगर्ने र शहरमा देखिएका कुरुपता हटाउनको लागि भुमिगत तार बिछ्याउने योजना रहेको बताएका छन् । अहिले बेला बेला बिद्युत आपूर्ति बन्दभएको स्विकार्दै घिसिङले यसको निराकरणको लागि सरकारबाट आवश्यक पहल भईरहेको बताएका छन् । वातावरणिय प्रभाव र प्रभावकारी सेवादिन विद्युत प्राधिकरण प्रतिवद्ध रहेको उनले बताएका छन् । शहरदेखि गाउँसम्म विद्युत विस्तार गर्न ग्रामीण विद्युतीय परियोजनालाई तिब्रताकासाथ अगाडि बढाउनुपर्ने उनको ठहर छ । ११ तहमा बढुवा भएर निर्देशक बनेका घिसिङ नयाँ जिम्मेवारीका साथ राहुघाट जलविद्युत आयोजनाको जिम्मेवारी पाएका उनि जनार्दन शर्मा उर्जामन्त्री भएपछि प्रवन्ध निर्देशकको जिम्मेवारी थालेका हुन् । उनी भन्छन्,सरकारको योजना अनुसार हामी काम गरिरहेका छौं,हाम्रो टिम माथिदेखि तल्लोस्तरसम्म नै सशक्त रहेको छ । कुलमानसिंह घिसिङजस्ता होनहार सपुतको यो देशलाई निकै खाँचो छ । यो धर्तिमा उनिजस्ता हजारौं कुलमानसिंह घिसिङ जन्मेमा बिकासको लागि अरुलाई गुहार्नपर्ने छैन । लोडसेडिङको अन्त्य गरि मुलुकलाई उज्यालो छर्ने यि योद्धालाई हृदयदेखि हृदयदेखि नै हार्दिक नमन!

प्रतिक्रिया दिनुहोस्