Logo

निर्वाचन सुरक्षार्थ सेना परिचालन : गृहमन्त्री निधि

वैशाख ४, २०७४- उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न आवश्यक पर्ने संबैधानिक प्रकृया सुरु गरिसकेको बताएका छन् । उनले नेपाली सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद् र मन्त्री परिषद्को निर्णय आवश्यक पर्ने बताए । 

‘त्यसका लागि प्रकृया सरु भइसकेको छ,’ सोमबार नेपालगन्जमा गरिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै उनले भने ।

त्यस्तै, गृहमन्त्री निधिले सुरक्षा चुस्त बनाउन मध्यपश्चिमका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए । उनले निर्वाचनमा मतदाता, मतदानस्थल, राजनीतिक दल र निर्वाचनमा खटिने कर्मचारीहरु कसैलाई पनि सुरक्षाको कमी महसुस नहुने गरी सुरक्षा योजना बनाउनका लागि सुरक्षा निकायलाई निर्देशन दिए । 

‘कतिपय समुह निर्वाचन बिथोल्नतर्फ केन्द्रित छ । भूमिगत समूह पनि हुनसक्छन्,’ उनले भने, ‘अपराध नियन्त्रण, द्वन्द्व ब्यवस्थापन, नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ ।’
 
गृहमन्त्री निधिले  स्थानीय तहको निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागलाई आ–आफनै जिम्मेवारी दिइएको बताए । क्षेत्रीय सुरक्षा गोष्ठिमा मध्यपश्चिमका १५  जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका प्रमुखहरुको सहभागिता छ ।

 साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्