Logo

आजबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा, अब अस्पतालले ४ लाख र बिरामीले डेढ लाख खर्च पाउने

काठमान्डौं ,सरकारले घोषणा गरेअनुसार वैशाख १ गतेदेखि मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क भएको छ। जसअन्तर्गत आइतबार दुई जनाले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट निःशुल्क प्रत्यारोपण सेवा पाएका छन्।  लगातार दुई दिन बिदा परेका कारण निःशुल्क प्रत्यारोपण सेवा आइतबारबाट मात्रै सुरु भएको हो। केन्द्रबाट मिर्गौलाको निःशुल्क प्रत्यारोपण सेवा पाउनेमा पोखराका ३० वर्षीय दीपक गुरुङ र नाङ्लेभारे काठमाडौँकी २६ वर्षीया लक्ष्मी ढकाल हुन्। दुवै जना बिरामीलाई उनीहरुका आमाले मिर्गौला दान दिएको केन्द्रले जनाएको छ।

मिर्गौला प्रत्यारोपण सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने तयारीमा रहेको स्वास्थ्य मन्त्रालयले मिर्गौला प्रत्यारोपण बापत अस्पताल र बिरामीले पाउने रकम स्पष्ट रुपमा खुलाइएको बताएको छ।

निर्देशिका अनुसार एउटा बिरामीको मिर्गौला प्रत्यारोपण गर्दा अस्पतालले चार लाख रुपैयाँ र बिरामीले डेढ लाख रुपैयाँ पाउने भएका छन्। स्वास्थ्य मन्त्री गगन थापाका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार प्रत्यारोपणमा लाग्ने खर्च अस्पतालहरुले पठाएको सूची अनुसार नै दिइएको हो।

 अस्पतालले पाउने चार लाख रुपैयाँमा ल्याब परीक्षण, अप्रेसन शुल्क, सर्जिकल उपकरण, उक्त समयमा प्रयोग हुने औषधि  र प्रत्यारोपणपछि राखिने आइसियूको शुल्क समेटिएको छ।

यसैगरी, मन्त्रालयले अप्रेसनअघिको म्याचिङ शुल्क बाफत बढीमा ५० हजार रुपैयाँ र प्रत्यारोपणपछिको एक वर्षसम्मको औषधिका लागि एक लाख रुपैयाँ थप गरेको छ। जुन अस्पतालले नभई बिरामीले सिधै प्राप्त गर्ने कटुवालले बताए। उनले भने, ‘बिरामीलाई सकेसम्म धेरै सुविधा दिनका लागि यस्तो निर्णय गरिएको हो।’

मिर्गौलाको निःशुल्क प्रत्यारोपण सेवा उपलब्ध गराउनेमा केन्द्रसहित वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्