Logo

सिर्जना वाचन डबलीको दशौं शृङ्खला सम्पन्न

वराज क्षितिज,दस्तावेज संवाददाता, माघ ३ गते बुधवार ,२०७४ ,आवुधावी, युएई – स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको दशौं शृङ्खला युएईको अल ऐन शहर स्थित किनारा रेस्टुरेन्टको सभाहलमा हिजो भव्यताको साथ सम्पन्न भएको छ ।

प्रवासमा रहेर पनि नेपाली साहित्यको उत्थानको लागि झन्डै दुई वर्ष देखि निरन्तर क्रियाशील यो संस्थाले हरेक दुई- दुई महिनामा यु ए ईका फरकफरक शहरहरुमा कार्यक्रम गर्ने गरेको छ । तीन दर्जन सर्जकहरूको उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा उपस्तिथि सबै श्रष्टाहरुले आ-आफ्नो रचना वाचन गरेका थिए ।

धेरै स्रष्टाका गजलहरूमा देशका समसामयिक अवस्थाको सफल चित्रण पाइन्थ्यो । अग्रज गजलकार दलविर सीँ बराईली घायल ले आफ्नो गजलमा, सरकारले स्वदेशमै रोजगारीको सिर्जना गर्न नसकेको कुरालाई सम्झँदै आफ्नो गजलमा यसरी मत जाहेर गरेका थिए ।

सोधेँ जसै खै नोकरी, सरकारले पुर्जी दियो
लेख्यो थियो खाडी पठा फुर्तिलो देखेपछि ।

त्यस्तै घरदेशमा साहुको ऋण तिर्न प्रवास आउँदा पनि आफूले सुख नपाएको तितो यथार्थलाई गजलकार सरोज संगम रावलले यसरी पोखेका छन् ।

साहुको ऋणले सारै पिरेसि दुःख पाइयो
धनको आशामा खाडी छिरेसी दुख पाइयो ।।

देशमा कुर्सीमोह भएकाहरु प्रति औंला ठड्याउदै गजलकार राजीब संघर्षी यसरी असन्तुष्टि जनाउँछ्न्

गरौँ छैन सामार्थ्य फुर्ती छ ठुलो
यहाँ मात्र सत्ता र कुर्सी छ ठुलो

शुरूवात मै शृङ्गारिक मुक्तकबाट आफ्नो रचना शुरु गरेका रोहित कुँवरका गजलका शेरहरूमा जीवनका यथार्थ भोगाइहरू पाइन्थ्यो । गजलकार विवेक दुलाल क्षेत्रीको गजलले पनि देशको समसामयिक अवस्था प्रति व्यंग्य प्रहार गरेका थिए,

केही विश्वास फालिएको छ, केही पौरख गाडिएको छ
ढुङको सालिक उभ्याएर जिउँदोलाई ढाल्लिएको छ ।

आफूले मन पराएको चिज कसरी पाउने होला भन्ने चिन्तामा सेल्कर पाख्रीन तामाङ गजलले यसो भन्दै थिए,

म कसरी टिपुँ अब , म कसरी शिरमा लगाऊँ
मैले मन पराएको फूल अक्करे भिरमा छ ।

एनआरएनए अल ऐन क्षेत्रीय शाखाका प्रमुख गोपाल पौडेल , जनसम्पर्क समितिका उपाध्यक्ष ध्रुब भुजेल तथा ईनास अल ऐन शाखाका उपाध्यक्ष दीपा सुबेदीको पनि उपस्थिति रहेको सो कार्यक्रममा कृष्ण विश्वकर्मा, लक्ष्मण कुँवर , दलविर सीँ बराईली घायल, मोहन तरामु मगर, सरोज सङम रावल, इन्धन डीबी भण्डारी, विनोद सेन पाल्पाली ,अमन एकल, आदिल स्वर नेपाली ,

बलराम बस्नेत , बिराज नेपाल, जे सागर, राजिब संघर्षी, संजायको सिर्जना , बिलासी मान्छे, रोहित कुँवर ,समर चेम्जोङ, विवेक दुलाल क्षेत्री,अथाह सागर तीर्थमान, नवराज क्षितिज, सेल्कर पाख्रीन तामाङ , कान्छो भुपेन्द्र आचार्य , डी एल घिमिरे, उदिन क्षेत्री, खगेन्द्र समरस, दूरबस्तीको शिशिर, लगायतले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए । भने लोक गायक विक्रम परियारले गीत गाएर सबैलाई मनोरञ्जन प्रदान गरे ।

त्यस्तै सिर्जना वाचन डबलीमा आबद्ध श्रष्टाहरु नवराज क्षितिज तथा प्रतीक संग्रामी स्वदेश फर्कने तयारी गर्दै गर्दा , सिर्जना वाचन डबलीमा आबद्ध रही प्रवासबाट नेपाली साहित्यलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । निकै भव्य र सभ्य रूपमा सम्पन्न भएको सो कार्यक्रम अमन एकलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्