Logo

झापालीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

रामप्रसाद ढुंगेल,दस्तावेज,भाद्र २८ गते बुधवार २०७४,युएई – अन्तर्राष्ट्रिय झापाली समाजको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आगामी असोज २४ र २५ (अम्टोबर १० र ११) गते आयोजना हुने भएको छ । ‘समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने उद्देश्य लिइएको उक्त सम्मेलनले विश्वभरि छरिएका झापालीहरुलाई झापाको समग्र विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान गर्न प्रेरित गर्ने लक्ष्य आयोजकको छ ।

वैदेशिक रोजगार, व्यवसाय या अन्य कारणबाट विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुबीच एकता, सहयोग र सहकार्यको मूलमन्त्रमा आबद्ध भई स्थापना भएको यो समाज विशुद्ध सामाजिक हित तथा जिल्लाको भौतिक, शैक्षिक तथा मानवीय हितका लागि स्थापना भएको संयोजक भवानी ओलीले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजका युएई प्रतिनिधि तथा झापाली समाज युएईका अध्यक्ष रोहितकुमार भण्डारीका अनुसार अन्तर्राष्ट्रिय रूपमा झापालीहरु एक भएर झापाको विकासमा ऐक्यवद्धता प्रकट गर्न यो सम्मेलन कोशेढुंगा साबित हुनेछ । समाजको गत सेप्टेम्बर ८ मा भएको सहमति अनुसार विर्तामोडस्थित होटेल होलिडे होममा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गरिनेछ ।

उक्त सम्मेलनमा अस्ट्रेलिया, जापान, अमेरिका, दक्षिण कोरिया, बेलायत, इजरायल, युएई, बहराइन, कुवेत, कतार, साउदी अरब लगायतका १८ भन्दा बढी देशमा रहेका झापाली समाजका प्रतिनिधिहरूले भाग लिएर झापाको विकासमा प्रवासी झापालीहरुको योगदान, भावी योजना, विधान निर्माण, दर्ता लयागत विविध विषयहरूमा छलफल गर्नेछन् ।

प्रत्येक राष्ट्रबाट बढीमा २१ जना सम्बन्धित देशको वैधानिक भिसा भएका व्यक्ति प्रतिनिधिका रूपमा भाग लिने उक्त सम्मेलनमा सम्बन्धित राष्ट्रमा क्रियाशील झापाली समाजका अध्यक्ष, सचिव या संयोजकले समन्वय गरी सेप्टेम्बर २३ सम्म केन्द्रमा सिफारिस गरिएका प्रतिनिधिहरू रहनेछन् ।

प्रस्तावित प्रतिनिधिहरूको विवरण सङ्कलन लगायत आवश्यक परे सम्बन्धित राष्ट्र या झापालीहरू बसोबास गर्ने अरू कुनै पनि राष्ट्रमा सम्पर्क गरी बढी भन्दा बढी झापालीहरूको उपस्थितिको निमित्त प्रोत्साहन गर्न र प्रतिनिधि एवम् पर्यवेक्षकहरूको नामावलीलाई अन्तिम रूप दिन ५ सदस्यीय टोलीको निर्माण गरिएको छ । जसमा रूपराज मैनाली, छत्र सुब्बा, बालहरि राई, दिनेश पोखरेल र रोहितकुमार भण्डारी रहेका छन् ।

कलाकारिता लगायत झापाको राजनैतिक, खेलकुद, सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तित्व साथै जिल्लाका उच्च सरकारी कर्मचारी, नगरपालिका एवम् गाँउपालिकाका प्रतिनिधिहरू, व्यापारिक क्षेत्रका व्यक्तित्वलाई उक्त सम्मेलनमा पर्यवेक्षक वा अतिथिका रूपमा निम्त्याइने छ । विभिन्न राष्ट्रमा बसोबास गरी फर्किसक्नु भएका झापाली साथीहरूलाई सम्बन्धित राष्ट्रका अध्यक्ष र महासचिवको सिफारिसमा प्रत्येक राष्ट्रबाट बढीमा २० जनालाई पर्यवेक्षकका रूपमा रहनेछन् ।

अविरल वर्षाका कारण गत महिना देशै जलमग्न हुँदा अन्तर्राष्ट्रिय झापाली समाजको संयोजनमा करिब १० लाख बराबरको राहत सामग्री वितरण गरेको उक्त समाजले विश्वभरिका झापालीहरुलाई एकताको सूत्रमा बाँधी मानवीय सहयोगमा क्रियाशील बनाउने लक्ष्य लिएको संयोजक भवानी ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्