Logo

गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोपमा पक्राउ परेका उदयहाङ फागो अझै हिरासतमा

स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४,सिलिगुढी –  गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोपमा भारतको सिलिगुढीमा पक्राउ परेका इलाम सूर्योदय-१० का २७ वर्षीय उदयहाङ फागोलाई छुटाउन सरकारी निकायले पहल नगरेको गुनासो परिवारका सदस्यले गरेका छन्। पटक/पटक सरकारी निकायमा जानकारी गराउँदा समेत फागोलाई छुटाउन पहल नगरेको उनीहरुको गुनासो छ। गत साउन २३ गते आमाको उपचारका लागि सिलिगुढी गएका फागोलाई भारतीय प्रहरीले फेमेली क्लिनिकबाटै पक्राउ गरेको थियो। फागोलाई साउन २१ गते दार्जीलिङको सुकुनामा भएको खुकुरी जुलुसमा गोर्खाल्याण्डको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई सघाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । 

‘हामीले पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छौँ, तर पनि सरकारले सुनेन, सरकारको उदासीनताका कारण निर्दोष मान्छेले सजाय भोग्नु परेको छ,’ उनले भने। एमाले वरिष्ठ नेता झलनाथ खनालले इलाम पुगेर फागोलाई छुटाउन आफूले जस्तोसुकै प्रयास गर्ने बताए पनि हालसम्म केही प्रयास नगरेको उनको गुनासो छ।

‘झलनाथ खनालले हामीलाई जस्तोसुकै कसर पनि बाँकी नराख्ने भन्नुभएको थियो, तर अहिलेसम्म केही प्रयास गर्नुभएन, उहाँले गरेको भए त छुट्ने थियो होला नि!’ उनले भने। यसैबीच विनाकारण पक्राउ गरी दार्जीलिङ प्रहरीले हिरासतमा राखेको भन्दै राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापा सिलिगुढी पुगेका छन्।

उनले सिलिगुढीस्थित जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायत सम्बन्धित निकायका प्रमुखसँग भेट गरेका छन् । भेटपछि उनले सुरक्षा निकाय तथा अदालतले सकारात्मक प्रतिक्रिया दिएको बताए। उनले भने, ‘यहाँ मैले अदालत र सुरक्षा निकायका प्रमुखसँग भेटघाट गरेँ, उहाँहरुले सकारात्मक कुरा गर्नुभएको छ, अब शुक्रबारको पेशीपछि केही नयाँ कुरा आउन सक्ने सुरक्षा निकायले बताएको छ  ।’

प्रतिक्रिया दिनुहोस्