Logo

पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्लद्दारा प्रेस बिज्ञप्ती मार्फत खण्डन

स्तावेज, श्रावण ९ गते सोमबार २०७४ , टोकियो, जापान नेपालको एक जिम्मेवार अनलाईन पोर्टल नागरिक न्यूज डट कममा २०१७ जुलाई २१ शुक्रबार प्रकाशित ’पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष  दुई करोड ठगी प्रकरणमा मुख्य मतियार’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै  पूर्व संस्थापक अध्यक्ष तिलक मल्लले प्रेस बिज्ञप्ती मार्फत खण्डन गरेका छन् ।

   उनले भनेका छन्,उपर्युक्त सम्बन्धमा नागरिक डट कममा शुक्रबार प्रकाशित समाचारको  सत्य तथ्य सूचना संप्रेषण गर्ने जिम्मेवार मिडियाको दायित्वलाई पुरै बेवास्ता गर्दै एकपक्षिय ढंगले प्रतिशोधको भावनाले मानमर्दन गर्ने बदनियतबाट आएको उक्त समाचारको खण्डन गर्दै सत्य तथ्य कुरो सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु । फरक सन्दर्भमा कारोबार भएको हो तर तिवारीको ठगी धन्दामा मेरो कुनै संलग्नता छैन पहिलो कुरो त जुनबेला मैले गोविन्द तिवारीसंग आर्थिक कारोबार गरेको थिएँ, उनीसंग मैले लिनुपर्ने रकम तिवारीले जापानमा मिलाउन सकिन नेपालमा मिलाउँछु भनि एकाउन्ट नंबर मागेको र आफ्ना साली, भान्जी लगायतका आफन्तबाट रकम बैंकमा दाखिला गर्न लगाउँछु भनि पीडितहरुलाई पैसा हाल्न लगाई मलाई फसाउन खोजिएको त्यतिबेला मात्र मलाई थाहा भयो जति बेला तिवारीले जापान ल्याईदिने भनेर ठगी गरेको समाचार सार्बजनिक भयो ।

 पीडितहरुसंग मेरो चिनजान, सम्पर्क, कुराकानी र आश्वासन केही भएको छैन । अन्जानवश बैंक एकाउन्ट प्रयोग हुन गएको र रकम दाखिला गर्नेमा पीडितहरु पर्न गएकोमा दुख ब्यक्त गर्न चाहन्छु तर त्यसैलाई आधार मानेर मलाई नै प्रमुख दोषीको रुपमा करार गर्न खोज्नु र हेडलाइननै बनाएर एकपछि अर्को समाचार बन्नु नागरिकले समाचारको बिषय अरु केही नपाएर कसैको उक्साहटमा अत्यन्त पूर्वाग्रहीपूर्ण कदम चालेको भन्ने कुरा प्रष्ट हुन्छ ।

 समाचारमा गोविन्द तिवारीको बिषयलाई गौण मान्दै मेरो मात्र नितान्त निजी ब्यक्तिगत कुराहरु जुन ढंगले समाचारमा आएको छ, जुन धेरैजसो मनगढन्ते छन्, यो चरित्र हत्याकै नियतले आएको भन्ने घामजस्तै छर्लङ्गै छ । प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गर्दै भएको यस प्रकारको हर्कतको निन्दा गर्न चाहन्छु । ऐन कानुन बमोजिम दोषी करार गर्ने अद्दा अदालत हुँदाहुँदै पत्रकार न्यायधिशको स्वरुपमा प्रकट भई मनोमालिन्य ढंगले मुख्य मतियार घोषित गरिएकोमा घोर आपत्ति प्रकट गर्दछु । यस प्रकारका मिडिया हाउसबाट भविष्यमा सत्य तथ्य समाचारको कसरी अपेक्षा गर्ने ? चिन्ताको बिषय बनेको छ ।

 गोविन्द तिवारीको ठगी प्रकरणमा संलग्नता भए नभएको भन्ने सत्य तथ्य के हो भनेर थाहा पाउन गोविन्द तिवारीसंग बुझ्ने चेष्टा नगर्नु, स्वयम मेरो भनाई सुन्ने र राख्ने मौका नदिईनु, जबरजस्ती एकोहोरो आरोप लगाएकै भरमा एकपक्षिय समाचार आईरहनुले सम्मानित मिडिया जगत र पत्रकारहरुप्रतिको बिश्वसनीयता माथि प्रश्नचीन्ह लागेको छ । पत्रकार महोदयले देशमा भईरहेका जघन्य अपराध, कालाबजारी, अरबौको भ्रष्टाचार, चोरी डकैती, अनियमितता जस्ता बिषयमा कलम चलाउन छोडेर निर्दोष मानिसलाई अनाहकमा जालमा फसाउन हात धोएर लागेको देखिन्छ ।

  रकम जम्मा गर्नेहरु पीडितहरु हुन् भन्ने थाहा नभएको तत्कालिन अवस्थामा अन्जानवश आएको रकमको भौचर बाहेक तिवारीसंग मेरो संलग्नता रहेको स-प्रमाण पुष्टी गर्न चुनौती दिन चाहन्छु । मैले कसैलाई जापान बोलाउनका लागि रकम दाखिला गर्न लगाएको छैन, तिवारीले झुक्काएर बैंक एकाउन्ट प्रयोग गरेको हो । तत्कालिन अवस्थामा तिवारीले गलत धन्दा गर्छन भन्ने पनि मलाई थाहा भएन । सुदर्शन मल्ल फरार भन्नु हावादारी कुरा उदेकलाग्दो कुरो नागरिक जस्तो जिम्मेवार मिडियाले होचुवाको भरमा के को आधारमा सुदर्शन मल्ल फरार भन्न सकेको होला ? यसैबाट थाहा हुन्छ कि समाचारको नियत के हो र यसमा कति सत्यता छ भन्ने कुरा । जब कि सुदर्शन गत वर्षको नोवेम्बरमै जापान आईसकेका हुन् जति बेला तिवारी प्रकरणको कुनै गुञ्जायस थिएन ।

   नागरिक कर्मीसंग फोनमा भएको कुराकानी शुक्रबार साँझ नागरिकका कृष्ण ढुंगाना नामको मित्रबाट फोन आएको थियो । म यात्रारत भएकोले पछि कलब्याक गर्ने सहमतिमा फोन राखिएको सत्यतालाई तोडमोड गरी अक्कमक्क भएर फोन काटिएको भनिएको छ । जुन सरासर झुठो हो । न त समाचारमा उल्लेख गरिएको फोन नंबर नै सही छ । झुठो बोल्नुको पनि सीमा हुन्छ, यो त अति नै भयो । पटक पटक समाचार सच्याईएको शुक्रबार साँझ जापानी समय करिव ७ बजेतिर आएको उक्त समाचार २ घण्टा नबित्दै पटक पटक सच्याईनुलाई पनि दालमा कुछ काला छ भन्ने प्रष्ट हुन्छ ।

 सुरुमा साझेदारी ब्यवसायी भनेर पटक पटक उल्लेख भएको एनआरएन आइसीसीको उपाध्यक्ष भवन भट्टको नाम पछि हटाईएको छ । कसैसंग साझेदारी ब्यवसाय गर्नु अपराध हो भने हामीले भन्नु केही छैन । नभए प्रसंग बाहिर गएर समाचारमा अरुको अनावश्यक नालीबेली जोड्नुको कुनै तुक छैन । समस्या समाधानका लागि निरन्तर प्रयासरत समस्याको समाधान मिडियाबाजी र सामाजिक सञ्जाल हुँदै होइन ।

  पीडितले न्याय पाउनुपर्छ दोषीले हदैसम्मको सजायँ पाउनुपर्छ भन्ने मेरो पनि मान्यता हो । दोषीलाई कार्वाही गर्ने र पीडितलाई न्याय दिने सम्बन्धित निकायहरु छन् । सामाजिक सञ्जाल र मिडियाबाजी गरेर समस्याको समाधान हुने भए दुनियाभरिका न्यायालयहरु आवश्यक पर्ने थिएनन् ।

  गोविन्द तिवारीका जापानमै रहेका परिवारका सदस्यहरुलाई भरपर्दो कम्पनीमा कामको सेटल गराई मासिक तलबबाट किस्ताबन्दी तिर्दै जाने गरी उक्त कम्पनीको मालिकबाट पेश्की स्वरुप केही रकमको ब्यवस्था गरी पीडितहरुलाई फिर्ता दिनका लागि नेपाल पठाउने काम भईसकेको छ ।

  बैदेशिक रोजगार बिभागमा केही कानुनी झमेलाहरु र लेखापढीको कामले गर्दा केही समय ढिला भएको हो । संभवत केहीदिनभित्रै पीडितहरुले पहिलोचरणको करिव आधाजति रकम फिर्ता पाउनेछन् । बाँकी रहने रकमपनि जतिसक्दो छिटो निज तिवारी परिवारबाट फिर्ता दिलाउनका लागि पहल गरिने प्रतिबद्धता जाहेर गर्दछौं । पीडितहरुकै पक्षमा अहोरात्र खटेर काम गरिरहेको सन्दर्भमा सुनियोजित ढंगले निराधारपूर्ण समाचार शृङ्खलाबद्द रुपले मेरो चरित्र हत्या गर्ने दुस्प्रयास गरेकोमा मिडियाप्रती गम्भीर ध्यानाकर्षण चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्