सिर्जना वाचन डबली, युएई-एक चर्चा तथा डबली ७-समिक्षा
दस्तावेज श्रावण ९ २०७४ – युएइमा नेपालीहरुको आगमन कहिले देखि शुरुभयो ? त्यसको कुनै आधिकारिक तथ्यांक उपलब्ध नभए
पनि असीको दशकदेखि नेपालीहरु कार्यरत रहेको पाइन्छ । सन् १९९९ सालमा म पनि आफ्नो भाग्य खोज्दै यो देशमा आएको हुँ र
अझैसम्म बालुवामा पसिना चुहाउँदै परिवारको पेट पालिरहेको छु । हामी देश छोडेर बिदेशमा आएता पनि आफ्नो भाषा संस्कृति पनि
साथमा नै आउँछन् । त्यसैको फलस्वरूप नेपालीहरुले आफ्नो भाषा र साहित्य प्रति झुकाव देखाउनु स्वाभाविक हो ।
व्यक्तिगत वा समुहमा मिलेर साहित्यमा अगाडि बढिरहेको युएईमा मेरो अग्रतामा संगठित साहित्य यात्राको थालनी सन् २००४ मा
‘नेपाली साहित्य परिषद,युएईको स्थापना बाट नै भएको हो । नेपाली साहित्य परिषद,युएईको संस्थापक अध्यक्षको रुपमा सन् २००७
सम्म मैले कार्यभार सम्हालें । त्यसपछि नेपालीहरुको अन्य साहित्यिक संस्थाहरु खुल्ने र बन्द हुने क्रम निरन्तर चलिरह्यो र अझै
पनि चलिरहेको छ ।
आज पछिल्लो पटक युएईमा स्थापना भएको स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको बारेमा केहि जानकारी र यसको गतिविधिहरुको बारेमा आज चर्चा गरिनेछ । करिब एक बर्ष अगाडिदेखि नितान्त फरक सोंच लिएर नेपाली साहित्य प्रेमीहरुको बिचमा स्थापित भई लोकप्रियताको शिखरमा छ एउटा साहित्यिक समुह ‘स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबली,युएई’ । संस्था खोल्ने फुट्ने जुट्ने अनि सुस्ताउने निक्कै तितो बिगत बोकेको युएईको साहित्य फाँटमा नयाँ बिहानी उदाएको छ । यहाँको सर्जकहरुमा नयाँ उर्जा थपिएको छ । हुनपनि किन नहोस् ? परम्परागत सोंच भन्दा माथि उठी, फरक विचार बोकेर सिर्जना वाचन डबली,युएई जो, जन्मिएको छ । सिर्जना वाचन डबली कुनै पनि जात भाषा,धर्म लिंग, राजनैतिक आस्थाको आधारमा संचालन हुने छैन ।
यो समुहमा अध्यक्ष,उपाध्यक्ष,सचिब, कोषाध्यक्ष आदि कुनै पनि पद सिर्जना गरिएको छैन । भर्खर आएका नयाँ सर्जकदेखि स्थापित
सर्जक सबै समान सदस्य हुन्छन् । सबैजनाले स्वत:स्फुर्त रुपमा सकेको जिम्मेवारी निभाउँछन् ! अनि हरेक दुई/दुई महिनामा युएईका अलग/अलग शहरमा आ-आफ्नो सिर्जना सुन्ने सुनाउने कार्यक्रम आयोजना गर्छन् । कार्यक्रम आयोजना गर्न लाग्ने खर्च पनि
उपस्थित सम्पूर्ण सदस्यहरुबाट दामासहिले उठाइन्छ । त्यस्तो कार्यक्रममा कुनै औपचारिक आशनग्रहण, ब्याच, खादा ओढाउने आदि कार्यहरु बिशेष समयमा बाहेक गरिंदैन । यो समुह स्थापना भएपछि पहिलो श्रृङ्खला दुबईमा,दोस्रो शारजाहमा,तेस्रो अलऐनमा,चौथो अबुधाबीमा, पाँचौं दुबईमा, छैटौं शारजाहमा सम्पन्न भएको थियो । र ‘स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबली,युएईले आफ्नो सातौँ श्रृङ्खला शुक्रबार १४ जुलाई २०१७ मा अबुधाबीको फेबरेट्स होटलको सभाहलमा यु ए ईको लागि नेपाली दुतावासका महामहिम कार्यवाहक राजदुत श्री नेत्र बहादुर टन्डन ज्यूको प्रमुख आतिथ्यमा भब्यताको साथमा सम्पन्न गर्यो ।
आदिकवि भानुभक्तको २०४ औं जन्मजयन्तीको बिशेष कार्यक्रम अनि साथमा गज़लकार जे.सागरको गज़ल संग्रह ‘यत्ति भए
पुग्छ’को युएईका लागि नेपालका महामहिम कार्यवाहक राजदुत श्री नेत्र बहादुर टन्डन ज्यु तथा विभिन्न अतिथिको बाहुलीबाट संयुक्त
रुपमा लोकार्पण गरिएको थियो ।
कार्यक्रममा आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको बिकासमा दिनु भएको योगदान र नेपाल बाहिर नेपाली भाषाको महत्वको बारेमा कार्यवाहक राजदुत ज्युबाट चर्चा भएको थियो । साथै गज़लकार जे.सागरको गज़ल संग्रह ‘यत्ति भए पुग्छ’ को बारेमा
प्रमुख अतिथिका साथै अन्य अतिथि ज्युहरुबाट पनि चर्चा तथा संग्रहको सफलताको कामना गरिएको थियो । सिर्जना वाचन डबलीका संरक्षक अग्रज गज़लकार श्री टक गुरुङको सभापतित्वमा संचालित पहिलो चरणको कार्यक्रम समाप्त भएको घोषणा सभापति ज्युबाट भए लगत्तै , करिब चालिसजना सर्जकको उपस्थिति रहेको दोस्रो चरणको अनौपचारिक सिर्जना सुन्ने सुनाउने कार्यक्रम सुरु भएको घोषणा उद्घोषक गज़लकार श्री नबराज क्षितिजले गर्नु भएको थियो । कार्यक्रमको सुरुवातमा झापाका फुर्तिला गज़लकार कान्छो भुपेन्द्र आचार्यले सुरु मै माहौल तताउने गज़ल वाचन गर्नु भएको थियो ।
छैन ममा केहि खास किन मायाँ गर्छेउ ?
हुँ म उडी हिंड्ने बतास किन मायाँ गर्छेउ ?
त्यसपछि आउनु भएका चितवनका गज़लकार ऋषिराम पोख्रेल आफुलाई ‘दुरबस्तिको शिशिर’ भन्न रुचाउँछन्-ले गज़ल वाचन गर्दा हल तालीले गुन्जयमान भएको थियो ।
जीवन छ जस्तो लाग्छ धड्कन छ जस्तो लाग्छ
मलाई त यार पत्थरको पनि मन छ जस्तो लाग्छ ।
युएईको साहित्यमा निक्कै पहिलेदेखि परिचित नाम लक्ष्मण भन्तना शिरीषको देश प्रेमले ओतप्रोत भएको गज़ल वाचन गर्दा देश
प्रेमको भाव उर्लेको थियो ।
बली नै दिए मलाई दिनु
मुटुमा नेपाल लेखाइदिनु ।
गोर्खा घर भएकी कार्यक्रममा उपस्थित एकजना मात्र नारी सर्जक ऋतु सन्धि रोकाले मिठो स्वरमा गज़ल गुनगुनाउनु भएको थियो ।
सुखले नि गरे हुन्थ्यो मनोमानी अलिकति
आजभोलि दुखेको छ जिन्दगानी अलिकति ।
रुपन्देहीका गज़लकार दिर्घ छेत्री दीपले जीवन संघर्ष गरिरहनु पर्ने संदेश सिर्जना मार्फत दिनु भएको थियो ।
भाग्नुहुन्न डराएर जिन्दगीमा हारसँग
जुध्नैपर्छ लक्ष्य भेट्न हजारौं जंघारसँग ।
दुर्घटना भएर खुट्टामा पट्टि बाँधेर भएपनि कार्यक्रममा उपस्थित हुनु भएका नुवाकोटका प्रतिभाशाली गज़लकार सेल्कार पाख्रिन तामाङ्गको गज़ल प्रस्तुत गर्नु भयो र यो गज़ल बिस शेरको थियो ।
समस्या आइदियो समाधान बोकेर
शालिक भैदियो मान्छे हैरान बोकेर !
नुवाकोट कै अर्का गज़लकार राजु भण्डारी आफ्नो प्रेमिकासँग मायाको परिक्षा लिंदै थिए ।
तिमी उकाली र ओराली गर्न सक्ने भए आऊ
बिचमा ठुलो खोला पर्छ तर्न सक्ने भए आऊ ।
युएईमा लामो समयदेखि रहेको भएता पनि कार्यक्रममा पहिलो पटक सहभागिता जनाउनु भएका स्याङ्जाका गज़लकार रमेश अर्यालका गज़लमा राजनीतिक व्यंग्यात्मक प्रहार भेटिन्थ्यो ।
फलाम होस् या सुनमा पनि
घोटालै गरेका छन् नुनमा पनि
एकै पाउ चामल किनेर ल्याउनुस्
पैसा परेको छ घुनमा पनि ।
उमेरले निक्कै पाको देखिनु हुने स्याङ्जाका कै गज़लकार लेखनाथ खनालको गज़ल लेख्ने माहौल एक बर्ष अगाडिदेखि मात्र बनेको हो रे । उहाँको गज़ल प्रदेशी छोरा र आमाको मायाँले निथ्रुक्कै भिजेका थिए ।
आमा ! तिमीले पठाउने गुन्द्रुकको आस हुन्छ बिदेशमा
आमा ! भुटेको मकै भटमास पनि खास हुन्छ बिदेशमा ।
स्याङ्जाकाकै अर्का गज़लकार लोकेश संघातले बहरबद्ध गज़ल प्रस्तुत गर्नु भएको थियो ।
छोडेर गएको फर्की आउन जानेन
याद भने कहिल्यै बाटो बिराउन जानेन ।
मुक्तक अनि गज़लमा उत्तिकै दख्खल राख्नु हुने गुल्मीका सर्जक इन्धन डीबी भण्डारीको मुक्तकले हल तालीले गुन्जायमान भएको थियो ।
देशको शासक जाली रहे सम्म बिकास हुँदैन
बिदेशीको हालीमुहाली रहे सम्म बिकास हुँदैन
सरकार ! पहिले पहाड फोड्ने हात बलियो हुनु पर्छ
निमुखाको पेट खाली रहे सम्म बिकास हुँदैन ।
रसुवाका अमन एकल (रामकृष्ण पाण्डे) ले एक/एक कविता र गज़ल वाचन गर्नु भएको थियो ।
उठाए बाले केके जिम्मेवारी बुझौला बुवा बनेपछि
पहिले झैं बन्नेछ मेरो गाउँ चौतारी र कुवा बनेपछि ।
दिउँसोको २ बजिसकेकोले केहि समय खानको लागि बिश्राम भएको थियो । खाना खाएर टन्न भएपछी फेरी सुरु भयो दोस्रो चरणको
सिर्जना सुन्ने सुनाउने क्रम:
मिक्लाजुंग गाउँ पालिकाका रमेश क्षितिज बराल आफ्नो मनले खाएकी युवतीलाई मुक्तकबाटै भन्दै हुनु हुन्थ्यो ।
मयुरको झैं मर्की हिंड्ने चाला हजुरको
देख्दै खेरि लोभ लाग्छ गाला हजुरको
ऐना हेर्दै नबस्नु है गम्किएर यसै गरी
यति मिठो बैंस ढल्की जाला हजुरको ।
चटपटे र व्यंग्यात्मक सिर्जना गर्न खप्पिस नेपाल बि राज को गज़लले नेताहरुलाई भुतुक्कै परेको थियो ।
नेता फटाहा मन्त्री चोर कसरी बन्छ देश
बाँकी धुपौरे हराम खोर कसरी बन्छ देश ??
भानुभक्तीय लयमा भानुको गुनगान गाउँदै थिए मोरङका खगेन्द्र समर्पण न्यौपाने ।
नेपाली कवि जन्मिए जब यहाँ साहित्यको फाँटमा
उनको त्यै कविता सुनें गगन यो चम्किन्छ है रातमा ।
डिउटीमा पुग्नु पर्ने बाध्यताले ‘यत्ति भए पुग्छ’ का सर्जक जे.सागर एउटा गज़ल वाचन गरेर फर्किने हतारमा हुनु हुन्थ्यो र आफ्नै
गज़ल संग्रह ‘यत्ति भए पुग्छ’ बाट तलको गज़ल वाचन गर्नु भयो ।
चोरलाई चौतारोमा साधु शुली चढाएर
नयाँ नेपाल बनाइदै छ यस्तै रिति बसाएर ।
फेसबुकमा शाश्वत गज़ल लेखेर पस्किरहनु हुने गज़लकार शाश्वत ढुंगाना गोबिन्दका गज़ल:ले वाह ! वाह ! लुट्न सम्म लुट्यो ..।
मुर्तिमा राखिएछ ज्यान बोल्दै बोल्दैन
निष्ठुरी देखियो भगवान बोल्दै बोल्दैन ।
नेपाली कविताको दुनियाँमा चम्किलो ताराको रुपमा देखिएका युवा कवि सुरज रानाका अक्षरहरु शिर्षकको कविता सुनाउदै गर्दा हलमा तालीको गड्गडाहट थियो ।
कागजको छातीमा राजमार्ग बनाएर
अक्षरहरुले महायात्रा गरेपछि मात्रै
कागज बाइबल बन्यो
कागज कुरान बन्यो
कागज त्रिपिटक बन्यो
कागज गीता पुराण र महाभारत बन्यो ।
सिर्जना वाचन डबली स्थापना गर्न महत्वपुर्ण योगदान दिनु हुने गुल्मीका सर्जक सुरेश प्रसाद ‘अर्याल कान्छो’ निकट भविस्यमा नै स्वदेश फर्किन लागेको घोषणा गर्दा हलमा केहि क्षेण शुन्यता छाएको थियो । भावपूर्ण केहि भनाई राखेपछि उहाँले एक/एक कविता र
गज़ल वाचन गर्नु भएको थियो ।
आँखामा हुने सबै निधारमा हुँदैनन्
त्यति भाग्यवान सबै संसारमा हुँदैनन् ।
बाग्लुङका राजीव संघर्षी माया गर्दा दिलभित्रको तरवार नदेखेर दिक्क छन् ।
दिलभित्रबाट रेट्ने तरवार देखिंदैन
मनभित्र रोकिएको सम्भार देखिंदैन ।
मिठो गला र सिर्जनाको कला भएकाहरुको नाम लिनु पर्दा पहिलो नम्बरमा कृष्ण बिश्वकर्माको नाम आउँछ । आफ्नै सिर्जनालाई
आफैले स्वर दिएर सबैको मन जित्न सफल भएका छन् ।
आँखाले उही फूलमा बित्थै मन थमायो गयो
मेरै चन्चले यादले मैलाई लुटायो गयो ।
पहिलो पटक डबलीमा सहभागिता जनाउन आइ पुगेका जागेश्वर चौधरीले छिमेकि बलियो हुँदा भोग्नु पर्ने लाचारी प्रस्तुत यसरी गरे ।
छिमेकी बलियो छ सिमाना सारेर के हुन्छ ?
कानुन लाग्दैन उसलाई मान्छे मारेर के हुन्छ?
विलासी मान्छे उपनाम लिएर कार्यक्रममा पहिलो पटक नै आउनु भएका स्याङ्जाका सर्जक यसरि प्रस्तुत भए ।
गुँड छाडी उडेको चरीले त्यो हाँगो सम्झिएला त ?
खदाली बोकेको पानीले त्यो छाँगो सम्झिएला त ?
गुल्मीका स्थाई बासिन्दा मोहन तरामु मगर ले पनि आफ्नो प्रस्तुति यसरी दिनु भयो ।
राजधानी हो सुनौलो जिन्दगी हो घामछायाँ
हैनन् ति दरबार मेरो राम सीता हेर अब ।
स्याङ्जाका सर्जक ओम प्रकास भट्टराई ‘शुभचिन्तक’ जिन्दगीका बध्यताहरुलाई गज़लका शेरमा यसरी उन्दै थिए ।
जाँतोसंग हालेको मकै दाना आटो भएको छ
म दुध तिमी कागती अचेल सम्बन्ध फाटो भएको छ ।
खोटाङका गज़लकार चंद्रमन निलओम ताली लाली र साली बिना जिन्दगी फिक्का हुन्छ भनेर भन्दै थिए ।
यो मेहेफिल पनि फिक्का लाग्छ ताली बिना
सुन्दर रुप पनि कुरूप लाग्छ लाली बिना ।
चितवनका गज़लकार जो संजयको सिर्जना भनेर परिचित हुनु हुन्छ उहाँ आफ्नो चप्पलको बिमा नभएको कुरा यसरी भन्दै हुनुहुन्थ्यो ।
ठेस लाग्नुको पनि सिमा हुनुपर्छ
चप्पल भन्छ मेरो पनि बिमा हुनुपर्छ ।
दाङका बिहे नै नगरेका श्रीमती पिडित गज़लकार प्रतिक संग्रामीका गज़ल सुनेपछि जहिले पनि हलमा कोलाहल मच्चिन्छ जुन यसपटक पनि मच्चियो यसरी:
श्रीमतीले हान्छिन लात बत्ती बालेर
कसरी मनाउ सुहागरात बत्ती बालेर ?
खोटाङका अर्का सर्जक तेज राई जिन्दगी बुझ्न नसकेकोमा गुनासो यसरी गर्छन् ।
बुझ्न नसक्दा जिन्दगीलाई नजिकबाट
खुशी हिंडेंन आँसु भिजाई नजिकबाट !
सो कार्यक्रमका उद्घोषक तथा गज़लकार नबराज क्षितिज तनहुँका हुनुहुन्छ ! युएईको साहित्यमा मृदुभाषी सर्जक भनेर परिचित
गज़लकारका गज़लले खाडी पस्नुको पीडा यसरी बयान गर्छन् l
साँच्चै साँझ बिहान छाक टार्न पिर भएपछि
हो खाडी पसें म ,बिकल्प आखिर भएपछि ।
दलबीर सिंह बराइली ‘घायल’ युएई बसेको अठारा बर्ष बितेपनि गज़ल मार्फत अझै पनि मायामा हल्ला मात्रै चल्ने कुराले चिन्चित यसरी भएका थिए,
तिम्रो मेरो बारेमा हल्ला मात्रै चल्ने भो
साँच्चै मायाँ मारेमा हल्ला मात्रै चल्ने भो ।
कार्यक्रमको अन्तिम सर्जक अग्रज गज़लकार टक गुरुङलाई सहकर्मी दर्शकहरुबाट चाइनिज गज़ल सुनाउने अनुरोध आइरहेथ्यो किनकि उहाँ भर्खर चाइनाको अफिसियल भ्रमण सकेर फर्किनु भएको थियो । उहाँ पनि के कम ? चाइनाको ग्वान्जु सहरमा हुँदा लेखेको
गज़ल सुनाउनु भयो र साथमा उहाँले तरन्नुम शैलीमा अर्को गज़ल यसरि प्रस्तुत गर्नुभयो ।
चुनौती त जीवन रहेसम्म आईरहन्छ
नदीमा डुबेको शिलाले नुहाईरहन्छ ।
यसैगरी रमाइलो वातावरणमा कार्यक्रम अन्त्य हुँदा साँझको पाँच बजिसकेको थियो । कार्यक्रम आयोजना भएको रेस्टुरेन्ट अगाडी
सामुहिक फोटो खिचेर अर्को दुई महिना पछि भेट्ने वाचा सहित सबै बिदा भयौं ।
माथि गज़लकार टक गुरुङको गज़लको यो मिसराले भने झैं ‘चुनौती त जीबन रहेसम्म आईरहन्छ’ तर ति हरेक चुनौतीलाई पार लगाउंदै अगाडी बढ्न सक्यौं भने मात्र जिन्दगी सफल हुन्छ । हाम्रो यो सिर्जना वाचन डबलीको यात्रामा चुनौती धेरै छन् । यो प्रवासको
भुमिमा हरेक दिन मालिकको आदेशमा चल्नु पर्ने हाम्रो बाध्यता छ भने अर्कोतिर घर परिवार र समाजप्रतिको जिम्मेवारी काँधमा हुन्छ । त्यस्तै विभिन्न बाध्यताहरुको वावजुद पनि बचेको थोरै समय निकालेर नेपाली भाषा र साहित्यको लागि दिनु ठूलो कुरा हो । यो प्रवासी भूमिमा पसिनाको धारालाई एक हातले पुछ्दै अर्को हातले साहित्य सिर्जना गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक नमन !
जय साहित्य !!
दलबीर सिंह बराइली ‘घायल’
अलऐन, (संयुक्त अरब इमिरेट्स)