Logo

विदेशी जेलमा ३२० जना नेपाली रहेको तथ्यांक सार्वजनिक

स्तावेज संवाददाता,जेष्ठ १९,काठमाण्डौं नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हालसालै अनुसार जघन्य अपराधमा संलग्न भएर जेल सजाँय भोगिरहेका नेपालीहरुको तथ्यांक सूची जारी गरेको छ । जसअनुसार बैदेशिक रोजगारको सिलसिलामा छिमेकी मुलुक भारत बाहेक अन्य मुलुकमा जेल सजाँय भोगिरहेका नेपालीहरुको संख्या ३ सय २० रहेको छ । त्यसमध्ये १७ जनालाई मृत्युदण्ड र ४३ जनालाई सर्बश्वसहित जन्मकैदको सजाँय तोकिएको छ । प्रधानमन्त्री कार्यालयको मातहतमा रहेको उद्धार शाखाले बिदेशस्थित नेपाली दूतावास एवं महासचिव दूतको कार्यालयसँग समन्वय गरी जेलमा रहेका नेपालीको यकिन तथ्यांक सार्वजनिक गरेको हो ।
     प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी जेलमा सजाँय भोगिरहेका नेपालीहरुको बर्तमान अवस्था पत्ता लगाई सरकारबाट उनिहरुका लागि निर्वाह गर्नुपर्ने दायित्वको लिखित योजना बनाउन सरोकार निकायलाई निर्देशन दिएका थिए ।
       आगामी सरकारले यस बिषयमा संवेदनशिल रुपले मुद्धाको प्रकृती हेरी सम्वन्धित देशको नेपालस्थित राजदूत वा विदेशस्थित राजदूतमार्फत आवश्यक प्रकृया अगाडि बढाउनुपर्ने बिज्ञहरुको दावी छ । कस्तो प्रकृतिको मुद्धालाई आम माफी दिलाउन पहल गर्ने,कस्तालाई ब्लड मनी तिर्नुपर्ने,र कस्तालाई कैदी स्थानान्तरण गरी स्वदेशमा ल्याउनुपर्ने हो भन्नेबारे अब छुट्याउन सकिने प्रावधान रहेको छ ।
    विदेशी जेलमा सजाँय भोगिरहेका करिव ८० प्रतिशत नेपालीहरु लागू औषधको कारोवार मुद्धामा छन् भने दोस्रो संख्या हत्या अभियोगमा सजाँय भोगिरहेका छन् । अत्यन्त न्यून संख्यामा चोरी,फर्जी कागजपत्र निर्माण,बलात्कार,ठगी,किर्ते,जालसाजी तथा मानव तस्कर सम्वन्धी मुद्धामा छन् ।
     जेल सजाँय भोगिरहेका नेपालीहरुमध्ये साउदी अरबमा ७६ जना,यूएईमा ६३ जना,कुवेतमा ६१जना,कतारमा ५० जना,थाइल्याण्डमा ४२ जना,तिब्बतमा २० जना र वेईजिङमा ८ जना रहेका छन् । स्थानिय अदालतले अपराधको प्रकृति हेरी अधिकांश नेपालीहरुलाई झण्डै ५० बर्षको जेल सजाँय तोकेका छन् ।
      परराष्ट्र मन्त्रालयले जेलमा रहेका नेपालीहरुलाई कानुनी सहायता लिन विदेशस्थित दूतावासलाई परिचालन गरिएको बिज्ञप्ती प्रकाशित गरेको छ । सबै कुटनीतिक नियोगलाई जेलमा रहेका नेपालीहरुलाई सहयोग गर्ने तथा अदालतमा आवश्यक परे प्रतिरक्षा गर्ने जिम्मा दिईएको छ । कानुनी रुपमा लड्नुपर्ने मुद्धाहरु दूतावासबाट लडेपनि जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्तागर्न भने सम्वन्धित देशसँग द्धिपक्षिय सम्झौता गर्नुपर्ने छ ।
    विदेशी जेलमा सजाँय भुक्तान गरिरहेका नेपालीहरुलाई स्वदेश ल्याई सजाँय भुक्तान गर्ने प्रावधान अन्तराष्ट्रिय मुलुुकहरुमा अभ्यासमा आउन थालिसकेको कुरालाई मध्यनजर गरी नेपालमा पनि द्धिपक्षिय समझदारी ऐन २०७३ जारी भईसकेको र सो ऐनले विदेशमा रहेका नेपालीहरुको कैद स्थानान्तरण गर्न बाटो खोलिदिएको हुँदा उक्त ऐनको परिधिभित्र रहि विदेशी मुलुकसँग सम्झौता गरी सजाँय पाएका नेपालीलाई स्वदेश स्थानान्तरण गर्न आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्