Logo

सिन्धुपाल्चोकको पहिरोले बगाएको एउटा चोखो प्रेम

बिहान ६ बजे आँखा खुल्यो ,उठेर मोबाइल हेरेँ म्यासेज आइसकेको थिएन उनको । आज मैले पठाएँ “गूड मर्निङ ” भन्दै । म्यासेज deliver भएन ,आफूले गरेको बेला त कहाँ हुन्थ्यो र ?कहिल्यै मक्ख पार्न पाउनी भईन मैले भन्नी सोच्दै मैले ई-कान्तिपूर खोलेँ । पेजको हेडलाइन थियो “सिन्धुपाल्चोकमा बाढीको वितण्डा , भोटेकोसीमा२० जना बेपत्ता ,२ को सब भेटियो। “,मेरा हातका औंलाले अब इस्क्रोल सकेनन् । मुटु बेतोडले धड्कियो ,मैले अत्तालिँदै उनलाई फोन लगाएँ फोन लागेन ,मलाई डरलाग्यो उनले प्राय भन्ने गर्थिन् भोटेकोसी सुसेलेको घरसम्म सुनिन्छ भनेर ,उनको घर बाह्रबिसे – ५,जम्बु बजारमा हो भन्ने म ढुक्क थिएँ ।

                                          – उज्वल धिमाल

तार हतार भयो , घडी हेर्दै ल्यापटप र चार्जर ब्यागमा राखेँ । मोबाइल हेरे सातौँ चोटि फोन आइसकेको थियो उनको । आज हाम्रो ५ बजे भेट्ने कुरा थियो । अलि अलि बाँकी रहेको काम सक्काउनै पर्ने थियो । अनि म अफिसको जुनियर इम्प्लोइ ,दाइहरू ननिस्किदै अफिसबाट निस्कने कुरा पनि भएन । यति गर्दा गर्दै ६ बजिसकेको थियो । ब्याग बोकिसकेपछि फोन गरेँ ,”सरी यार, कहाँ छ्यौ ? म निस्किसकेँ ” यत्ति भनिसकेपछि एकछिन कुरेँ ,के भन्छिन् भनेर ,तर आवाज नै आएन ।१०/१३ सेकेन्डको शून्यतापछि आवाज आयो “म फर्किसकेँ “यत्ति भनेर फोन काटियो । म आत्तिएँ ,सधैँ म नै ढिला गर्छु ,जहिले उनले मात्र कुर्नुपर्छ ,उनको अफिस मैतीदेवीमा छ कोठा कोटेश्वरमा त्यै पनि उनी मेरै लागि भनेर सधैँ बेलुका शंखमुल आइपुग्छिन् ,अनि मैले गर्दा उनलाई कोठा जान ढिला हुन्छ । आफैँमाथि रिस उठ्यो ।कमसेकम आज त छिटो आउनुपर्थ्यो ,भोलिबाट भेट हुनको लागि ५/६ दिन कुर्नुपर्थ्यो दुवैले ।

मेरो भोलि हेटौँडा जानूथियो साइटमा भने उनी घर जाँदै थिइन् बाह्रबिसे घरमा पूजा भएकोले । दुवै ४/५ दिन भुलिन्थ्यो । अब के भनेर फकाउने होला, सोच्दै पछुतो मान्दै थिएँ मोबाइलमा म्यासेज आयो ” शंखमुल पुल पारी छु “भनेर ।अनि खुसी हुँदै दौडिएँ शंखमुल पुलतिर । निलो जिन्स अनि सेतो कुर्ता , मुखमा मास्क अनि ल्यापटप ब्याग बोकेर उभिइराखेकी थिइन् । के भनेर फकाउँ भनेर सोच्दै थिएँ ,अनि सम्झेँ आज अफिसमा दाइले बर्थ डेको चकलेट दिनु भएको थियो त्यो मैले ब्यागमै राखेको थिएँ । उनी नजिकै गएसी भनेँ “आज तिम्रो लागि चकलेट किन्दा ढिलो भयो के ,नरिसाऊ ल ?” यत्ति भनेर चकलेट दिएँ ,उनी चकलेट नलिईकन केही नबोली सरासर हिँडिरहिन् । यो त हुनै थियो ,म पनि पछि पछि हिँडे ।

केही बेर यत्तिकै नबोली हिँडेपछि एक्कासि रोकिइन् उनी ,अनि म तिर फर्किँदै हात थापिन् “चकलेट ?” ।त्यतिबेलासम्म चकलेटको रस मेरो पेटमा पुगिसकेको थियो ,बाँकी मेरो मुखमा थियो । म बिस्तारै चकलेट निल्दै मुसुक्क हाँसे ,उनी माया मिसिएको रिसले मेरो मुखमा हेरेर झन् रफ्तारमा लागिन् पाटनतिर । मलाई अचम्म लाग्छ एक मिनेट नहुँदै “चकलेट ” भन्नूथियो भने पहिलै किन नलगेको ?एकछिनपछि पाटन गएर एउटै गिलासमा कफी खाने नै हो भनेपछि किन यो हतारको हिँडाइ ?किन रिसाए जस्तो गर्छन् ? म बुझ्दिन यी नारीहरूको मनमा के खेलिरहेको हुन्छ ?।

पाटन हाम्रो सधैँ भेट हुने ठाउँ थियो । हरेक साँझ हामी यहीँ आउँछौ ,यही रिसाउँछौ ,यही पकाउँछौ ,यही दुखका कुरा हुन्छन् , सुखका कुरा हुन्छन् ,सपनामै सपना पूरा पनि यहीँ हुन्छन् । निकै प्यारो छ दुवैको लागि यो ठाउँ । केही नबोली नबोली पाटन पुग्यौँ । पाटन सधैको मन पर्ने ठाउँ हो ,तर आज भोलि पाटनको सबै जसो मन्दिरमा बत्ती हालिएको छ । त्यो बत्तिसे पाटन यति मोहक देखिन्छ कि मुख बाट आफै “वाह” निस्किन्छ । उनी र म त्यहीँ कृष्ण मन्दिरको अगाडी बस्यौँ । उनी म तिर हेर्दै भनिन् “हजुर कति बेला जाने भोलि ?” मैले जिस्काउँदै सोधेँ “रिस हरायो हजुरको ?” उनी रुन्चे स्वर निकाल्दै भनिन् “म रिसाएको हैन के, चित्त दुख्छ नि ,हजुर जहिले यस्तै गर्नुहुन्छ ,मलाई नि आश लाग्छ नि कहिले काहीँ त हजुरले कुर्दा पनि त हुन्छ नि हैन र ?” म उनको हात समात्दै भनेँ “सरी न ,कहिल्यै भने जस्तो नहुने भो ,जहिले छिटो आउँछु भन्छु ,आउँदा आउँदै ढिला हुन्छ । “

यत्ति भनिसकेपछि सानी बैनीले दाइ आज कफी नखाने भन्दै आइन् , मैले खाने नि भन्दै गिलास समातेँ । हामीले जति कप कफी खाए पनि एउटै गिलासमा खान्थ्यौँ , । त्यहीँ बस्दै दैनिक जस्तै गफ गर्‍यौँ । केही बेर त्यहीँ बसिसकेपछि हामी उनको कोठातिर हिड्याै । म उनलाई कोटेश्वरसम्म छोड्न गएँ ,छुट्ने बेलामा उनले “कोरोना नेपालमा नि आइसक्यो भन्छन् ख्याल गर्नुहोला ,स्यानिटाइजर अनि मास्क लिएर हिँड्नुहोला हस् ?” भन्दै छुट्टिइन् । म हस् भन्दै टाउको हल्लाउँदै च्यासलको कोठातिर लागेँ । भोलिपल्ट दुवैजना एउटै समयमा हिँड्ने कुरा भयो । त्यहीँ अनुसार म हेटौँडा गए उनी सिन्धुपाल्चोक । बेलुका दुवैले सजिलै पुगेको कुराकानी भैसकेपछी हामी आ-आफ्नो काममा व्यस्त भयौँ ।

त्यही दिन राती ११ गते देखि लामो दुरी सवारी साधन नचल्ने खबर आएपछि मलाई अफिसबाट सकेसम्म आज नै कि घर फर्क कि काठमाडौँ फर्क भनेर फोन आयो । मैले घर जाने सोच बनाएँ । उनलाई फोन गरेँ ,उनी पनि यस्तो बेला छ हजुर नि घर जानू न त एक दुई हप्ता बसेर आउनु होला भनिन् । म घर गएँ । सबैतिर लकडाउन भयो ,एक हप्ता भनेर आएको आज ११० दिन भयो म नि घरै छु र उनी पनि।हामी टाढा भए पनि सधैँ कुरा हुन्थ्यो ,सँगै अनलाईन कोर्सहरु लिइरहेका थियौँ । हरेक बिहान उनैले म्यासेज गरेर बिहानी भएजस्तो लाग्थ्यो । उनलाई पानी परेको मौसम एकदम मनपर्छ ,पानीमा भिज्न मन पर्छ ,सधैँ पानी पर्‍यो भनी म हजुरलाई सम्झन्छु भन्थिन् ।अस्ति राती पनि पानी परिरहेको छ यता त भन्दै थिइन् ,मैले यता त कस्तो गर्मी छ भन्ने कुरा गरेँ ,त्यहीँ कुरा गर्दागर्दै कति बेला निदाएँ थाहै भएन ।

बिहान ६ बजे आँखा खुल्यो ,उठेर मोबाइल हेरेँ म्यासेज आइसकेको थिएन उनको । आज मैले पठाएँ “गूड मर्निङ ” भन्दै । म्यासेज deliver भएन ,आफूले गरेको बेला त कहाँ हुन्थ्यो र ?कहिल्यै मक्ख पार्न पाउनी भईन मैले भन्नी सोच्दै म ई-कान्तिपूर खोलेँ । पेजको हेडलाइन थियो “सिन्धुपाल्चोकमा बाढीको वितण्डा , भोटेकोसिमा २० जना बेपत्ता ,२ को सब भेटियो। “,मेरा हातका औंलाले अब इस्क्रोल सकेनन् । मुटु बेतोडले धड्कियो ,मैले अत्तालिँदै उनलाई फोन लगाएँ फोन लागेन ,मलाई डरलाग्यो उनले प्राय भन्ने गर्थिन् भोटेकोसी सुसेलेको घरसम्म सुनिन्छ भनेर ,उनको घर बाह्रबिसे – ५,जम्बु बजारमा हो भन्ने म ढुक्क थिएँ ।

फोन लागेन ,भाइलाई गरेँ लागेन अब के गरौं ? मैले समाचार पूरा पढ्नै सकिन । दिमाग रन्थनियो । फोन गरिराखेँ ,थाहा छैन मोबाइलले कतिचोटि सम्पर्क हुन सकेन भन्यो । फेसबुक खोलेँ धेरैले त्यही समाचार सेयर गरेका थिए । दिउँसो ११ बज्यो अहिलेसम्म फोन लागेन , म सँग भएको नम्बर उनको र उनको भाइको मात्र थियो दुवैको फोन लागेन । मैले फेरि त्यही समाचार हेरेँ त्यहाँ शव भेटिने र बेपत्ता हुनेहरूको नाम क्रमैसँग लेखिएको थियो ,मेरो आँखाले जुन नाम त्यहाँ देख्न चाहन्न थिए त्यही नाम देखेँ । आँखा आफै धमिलो भएर आयो ,म के गरूँ अब ? बेपत्ता हुनेहरूमा उनको परिवारको चारै जनाको नाम थियो ।

आज दुई दिन भयो आजसम्म बेपत्ता हुनेहरूको खबर छैन ,मैले बाह्रबिसे – ५ का वडा अध्यक्षलाई करिब ८\९ चोटि फोन गरिसकेँ नयाँ खबर केही भन्दैनन् । म उन्ले भनेको सुन्न पनि चाहन्न तरपनि मन मानिरहेको थिएन । थाहा छैन अब खबर आउँदा के आउने हो ? मेरो दिमागले एउटै कुरा मागिरहेको छ,राती “हेर न आज नेटवर्क नभएर म्यासेज गर्नै पाइन ,म ठिक छु है “भन्दै म्यासेज आओस् उनकी नम्बरबाट । बस यत्ति चाहन्छु । तर मलाई एउटा कुरा भने पक्का छ मलाई पानी परेको कहिल्यै मन पर्ने छैन !

प्रकाशित मिति ,२०७७ साल, श्रावण ३ गते, शनिवार

प्रतिक्रिया दिनुहोस्