Logo

अमेरिकामा नेपाल डे परेड गर्ने बारे किन चुलियो विवाद ?

स्तावेज संवाददाता चैत्र २७ गते मंगलवार २०७४,न्यूयोर्क – न्यूयोर्कमा नेपाल डे परेड कसले गर्ने बारेमा यतिखेर विवाद र विभाजन हुन थालेको छ । न्युयोर्कमा शुरुदेखि विवाद हुँदै आएको नेपाल डे परेड यस पटक पनि विवादमुक्त हुन सकेन । आगामी मे महिनामा हुने भनिएको नेपाल डे परेड यतिखेर कसको टिम र कसको संयोजकत्वमा हुने भन्ने बारे विवाद चुलिन थालेको छ । पहिलो नेपाल डे परेड आदिवासी जनजाति महासंघ फिफना, जन सम्पर्क समिति अमेरिका र प्रवासी नेपाली मञ्चको पहलमा भए पनि दोस्रो नेपाल डे परेड फिफनाकै संयोजकत्वमा सबै संस्थाहरुलाई संलग्न गरी भएको थियो । त्यसैलाई निरन्तरता दिँदै फिफनाले विभिन्न सस्थाहरुसग मिलेर परेड गर्ने भनी सरसल्लाह गरिरहँदा फिफनाकै पूर्व पदाधिकारीहरू भने छुट्टै गर्ने भनी टिम बनाउन थालेपछि विभाजित र विवादित हुन थालेको छ ।

मान राणामगर नेतृत्वको फिफनाले वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टको संयोजकत्वमा सबै संघ सस्थाहरुलाई संलग्न गरी नेपाल डे परेड गर्न भनी योजना बनाइरहेको बेला फिफनाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा र निवर्तमान बरिष्ठ उपाध्याक्ष मंगलदास श्रेष्ठले रिज्युउड सोसाइटीको अध्यक्ष रवि कोइरालालाई संयोजक बनाएर नेपाल डे परेड गर्न लागेको छ । दुवै समूहले हिजै बेग्ला बेग्ला स्थानमा बैठक गरी परेडको टिम बनाएपछि यतिखेर न्युयोर्कको नेपाली समुदायमा यो वर्षको नेपाल डे परेड होला की नहोला भन्नेबारे कौतुहलता बढिरहेको छ ।

वाइवा समूहले बेग्लै टिम बनाएर नेपाल डे परेड गर्न लागेको जानकारी पाउने बित्तिकै फिफनाले आइतबारनै बैठक बोलाई विज्ञप्ती जारी गरी दुई वर्ष फिफनाको टेक्स आइडी र अफिसियल कागजपत्र प्रयोग गरी संकलन गरेको हिसाब किताब अहिलेसम्म सार्वजनिक नगरेको बारे ध्यानाकर्षण गराउँदै कानुनी तथा अन्य अड्चन बारे सम्बन्धित व्यक्तिहरू जिम्मेवार हुनुपर्ने जनाएको छ । न्युयोर्कमा नेपाल डे परेड कार्यक्रम फिफना र रिज्युउड सोसाइटी बाहेक अन्य निकायले संयोजनको भूमिका खेल्न सकेको छैन । नेपाल चिनाउने यस्तो महत्वपूर्ण कार्यको लागी नेपाल सरकारको कन्सुलेट, नेपाल मिसन र एनआरएन अमेरिका मौन बसेकोमा नेपाली समुदायहरू  सबैलाई समेटेर नेपाल सरकार वा एनआरएनले संयोजनको भूमिका निभाउनु पर्ने आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्