Logo

सिर्जना वाचन डवलीको नवौँ शृङ्खला भव्यताकासाथ सम्पन्न

कृष्ण विश्वकर्मा/ दस्तावेज,कार्तिक २५ गते शनिवार, २०७४ ,दुबई -स्रष्टा भेटघाट तथा सिर्जना वाचन डवलीको नवौँ शृङ्खला यूएईकै तेस्रो सुन्दर नगरी सारजाहको टोरोन्टो रेस्टुरेन्टको सभा हलमा मिति २४ कार्तिक, २०७४; शुक्रवार भव्यताकासाथ सम्पन्न भएको छ । यूएईमा छरिएर रहेका साहित्य साधकहरुलाई एककृत गर्दै यन्त्रवत कार्य व्यस्तताका बाबजुद पनि नेपाली साहित्यलाई प्रवासमा जीवन्त राख्न सिर्जना वाचन डबली परिवारले अहम् भूमिका निर्वाह गर्दै आएको छ ।

यूएईका विभिन्न सहरमा रहनु भएका सर्जक, स्रष्टाहरु कार्यक्रमको निर्धारित समय पूर्व नै सारजाहको बस पार्कमा जम्मा हुँदै खुल्ला चउरमै अनौपचारिक रूपमा आ-आफ्नो सिर्जना लाइभमा वाचन गर्दै गर्दा प्रवासमा नेपाली साहित्य प्रतिको लगाव कति सधन र घनीभूत छ भन्ने कुरा बसपार्कमा आ-आफ्नै गन्तव्य तिर दौडिरहेका यात्रुहरु एक क्षण टक्क अढिएर सुनेको देख्दा प्रष्ट हुन्थ्यो । एक दर्जन भन्दा बेसी सर्जक, स्रष्टाहरुले उहीँ चउरमै बसेर आ-आफ्ना सिर्जनाहरु लाइभमा पस्किएर माहोल निकै मनमोहक बनाउँदै पनि थिए ।
मध्याह्नको ठिक १ बजे औपचारिक रूपमा शुरु गरिएको सिर्जना वाचन डबलीको कार्यक्रम दबलीकै एक होनाहार गजलकार दुरबस्तिको शिशिरले सञ्चालन गरेका थिए ।

चोटिला र रसिला गजल , मुक्तक लेख्ने गजलकार प्रतीक संग्रामीले शुरुमै गजल वाचन गरेर कार्यक्रमको माहोल निकै तताएका थिए । दुई दर्जन भन्दा बेसी सर्जक स्रष्टाहरुले आ-आफ्ना सिर्जनाहरु मार्फत नवौँ शृङ्खलाको भव्यता र सार्थकतालाई अविस्मरणीय रहने गरी दम्दार रूपमा प्रस्तुति दिएका थिए । डबलीका आदरणीय संयोजक टक गुरुङ , दलवीर सिंह बराइली “घायल” र कृष्ण विश्वकर्माका तरन्नुम गजल गायनले सबैलाई मन्त्रमुग्ध बनाएको थियो भने “यत्ति भए पुग्छ” गजल सङ्ग्रहका स्रष्टा लोकप्रिय गजलकार जे. सागरका अदभूत गायनले उपस्थित सबैलाई आश्चर्य चकित बनाएको थियो ।

शार्दूल छ्न्दमा निबद्ध व्यङ्ग्यधर्मी लामो कविता स-स्वर वाचन गरेर कवि खगेन्द्र समर्पण न्यौपानेले कार्यक्रमलाई अझै थप उचाइमा पुराएका थिए । लामो समयदेखि साहित्य साधना मार्फत निकै अब्बल सिर्जनाहरु पस्किदै आएका सर्जक, स्रष्टाहरुले मुक्तक, गीत ,गजल र कविताहरू वाचन गरेर कार्यक्रमलाई निकै फलदायी, अविस्मरणीय र ऐतिहासिक बनाएका थिए भने नव आगन्तुक स्रष्टाहरुले पनि आ-आफ्ना दम्दार गजल, कविताहरू वाचन गरेर उपस्थित सबैको मन लुटेका थिए ।

कार्यक्रममा पाँच जना विभिन्न स्रष्टाहरुका नवीन कृतिहरुको लोकार्पण पनि गरिएको थियो । यूएईमै कार्यरत चोटिला र रसिला गजल मुक्तकहरु लेख्ने गजलकार प्रतीक संग्रामीको नवीन्तम गजल सङ्ग्रह ” संग्रामी” को उपस्थित मान्यवरहरुको समुपस्थितिमा लोकार्पण गरिएको थियो । त्यस्तै गजलकार ऋतु प्रेयसीको गजल सङ्ग्रह” प्रेयसी” , गजलकार राज विसर्जनको गजल सङ्ग्रह ” माटो” मुक्तककार गौरी तमुको मुक्तक सङ्ग्रह ” समैं दर्बानी” र संयुक्त गजल सङ्ग्रह ” गजल चौतारी” को पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रमको अन्त्य सम्मै बाक्लो उपस्थिति रहेको यस नवौँ शृङ्खलामा सबैको धैर्यता, आत्मीयता र अटुट लगाव वास्तवमै उल्लेखनीय नै थियो । आगामी दशौं शृङ्खला यूएईकै अर्को रमणीय शहर अल ऐनमा गरिने घोषणा सहित निर्धारित समयमै कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्