Logo

एनआरएनए पोर्तुगलमा तीस पदमा ५० जनाको उम्मेदवारी,चुनाव हुने पक्कापक्की

स्तावेज संवाददाता,भाद्र १९ गते सोमवार, २०७४ लिस्वन, पोर्तुगल  – गैर आवासीय नेपाली संघ पोर्तुगलको अधिवेशन नजिकिदै गर्दा संस्थाभित्र देखिएको ३ दले सिन्डिकेटले आम सहमतिको सम्भावना अन्त्य भएको संकेत देखिएको छ भने चुनाव हुने प्रबल सम्भावना देखिएको छ। नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च र माओवादी केन्द्रले सहकार्य गरी अन्य शक्तिहरू र स्वतन्त्र उम्मेदवारहरुलाई बाइकट गरी आफ्नो छुट्टै प्यानल बनाएपछि ३ दले सिन्डिकेटको विरुद्धमा अन्य शक्तिहरू र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

 तीन दलको सहकार्य, अन्य शक्तिहरू र स्वतन्त्र गरी ३० पदका लागि ५० जनाको उम्मेदवारी परेको छ भने उम्मेदवारी शुल्क बापत १९,७०० युरो अर्थात लगभग २४ लाख नेपाली रकम उठेको निर्वाचन समितिले जनाएको छ । आइसिसिमा ३ जना, अध्यक्षमा २, उपाध्यक्षमा १०, महासचिवमा २, सचिवमा ३ , कोषाध्यक्षमा ३ , युवा संयोजकमा २ , महिला संयोजकमा १ , लेखा समिति अध्यक्षमा १ र सदस्या मा २३ जनाले मनोनयन दर्ता गराएका छन् ।

एन आर एन पोर्तुगलको इतिहासमा यति धेरै उम्मेदवार भएको र सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता भएको यो पहिलोपटक हो। यद्यपि उम्मेदवारी प्रक्रियामा केही अनियमितता भएको र यथेष्ट समयको सूचना बिना नै उम्मेदवारी म्यादको समय बढाएको आरोप निर्वाचन समितिले खेपेको छ।

तीन दलको सहकार्यले सोचेभन्दा अत्यधिक उम्मेदवारी दर्ता भएपछि आज आम सहकार्य र सहमतिको लागि व्यापक प्रयासहरू भइरहेको विशेष श्रोतले बताएको छ । आम सहमति र सहकार्यको प्रयास भोलि सेप्टेम्बर ४ तारिक पनि रहने छ । तर कतिपनि अन्य राजनीतिक शक्ति, सामाजिक संघ संस्थाहरू र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नलिने र राजनीतिक सिन्डिकेट र राजनीतिक बार्गेनिङ्गलाई सहमति र सहकार्यको नाममा कुनै पनि सम्झौता नगर्ने भनेपछि निर्वाचन हुने पक्कापक्की भएको छ।

यसपटकको स्वतन्त्र उम्मेद्वारहरुको साथै पदभन्दा अत्याधिक उम्मेदवारी परेको कारण एनआरएनए पोर्तुगलमा जनसम्पर्क समितिको एकल दबदबाको अन्त्य भएको छ भने अघिल्लो अधिवेशनमा नेजससले उम्मेदवारी समेत दिन नदिएको भनेर आरोप लगाउदै आएको प्रवासी नेपाली मञ्चले यो वर्ष आफै जनसम्पर्क समितिसंग सहकार्य गर्दै अघि बढेको छ।

पोर्तुगलवासी आम नेपालीहरूले एन आर एन पोर्तुगलमा चुनाव हुनुपर्ने र लोकतान्त्रिक पद्धतिद्वार असल उम्मेदवारको चयन गर्नबाट साधारण सदस्यहरूलाई बन्चित गर्न नहुने धारणा राख्दै आएका छन् । यसपटक एनआरएनए पोर्तुगलमा मतदान हुने पक्कापक्की भएसंगै पोर्तुगलावासी आम नेपालीक उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्