Logo

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा दुई दिवसीय नेपाल फेस्टिबल सुरु

ज्याक खड्का दस्तावेज संवाददाता २७ अगष्ट, टोकियो जापान – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा यहाँ दुई दिवसीय नेपाल फेस्टिबल शनिबारदेखि सुरु भएको छ । टोकियोस्थित उएनो पार्कमा सुरु भएको फेस्टिबलबाट आयोजकले नेपाली पहिचान, कला संस्कृति र भेषभुषालाई जापानी नागरिक माझ प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटकहरु बढाउने उद्देश्य राखेका छन् । फेस्टिबल आइतबारसम्म चल्नेछ ।

‘अतिथि देवो भवः’ नारासहित सुरु भएको फेष्टिवलको उदघाटन शनिबार एक समारोहका बीच जापानका परराष्ट्र मन्त्रालयका प्रमुख, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएनएका उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, एनआरएनए जापानका अध्यक्ष सुदन थापा लगायतले गरेका हुन् । कार्यक्रममा राजदूत राणाले नेपाल फेष्टिवलले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन कोशेढुङ्गा साबित हुने बताइन् ।

 

त्यस्तै एनआरएनएका उपाध्यक्ष भट्टले प्रत्येक वर्ष हुँदै आएको नेपाल फेस्टिबलले पर्यटन क्षेत्रमा मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको बताए । भट्टले भूकम्पपछि नेपाल पुग्ने जापानी पर्यटकमा कमी आएपनि ‘अब नेपाल सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न सके नेपाल पुग्ने पर्यटकहरु स्वतः बढ्ने धारणा समेत व्यक्त गरे ।

उनले सन् २०१७ यता भने नेपाल पुग्ने पर्यटक तुलनात्मक रुपमा बढेको बताए । फेस्टिबलमा पर्यटक आकर्षक गर्न बनाइएको ‘घुमाउने घर’ले जापानी तथा विदेश नागरिकको नजर केन्द्रित गरेको छ । उनीहरुले ‘घुमाउने घर’को निकै प्रशंसा गर्दै एकपटक ‘माउन्ट एभरेष्टको देश’ नेपाल पुग्ने चाहना समेत व्यक्त गर्न भ्याए । त्यस्तै फेस्टिबलमा जापानी नागरिकहरु नेपाली ढाका टोपीमा सजिएर फोटो खिच्न आतुर थिए भने महिला जापानी नागरिकहरु टिकिया लगाउँदा अचम्म मान्दै थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्