Logo

टोकियोमा नेपाल–भारत सम्बन्धबारे अन्तर्क्रिया

स्तावेज संवाददाता श्रावण १०, सोमबार,२०७४- नेपाल–भारत मैत्री सन्धिका विवादित बुँदाहरु पुनरावलोकन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । जापानको टोकियोमा आयोजित एक अन्तर्क्रियामा वक्ताहरुले सन्धिका बुँदाहरुमा गहिरो अध्ययन गर्दै पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा जवाहरलाल नेहरु विश्वबिध्यालयका प्राध्यापक समेत रहेका प्रबुद्ध समूहका सदस्य महेन्द्र पी. लामाले सन्धिका चित्त नबुझेका बुँदाहरु लिखितरुपमा भारत सरकारसित राख्न नेपाल सरकारालई सुझाव दिए ।  उनले नेपाल, भारत र चीनबीचको सम्बन्ध ‘स्याण्डवीच’जस्तै रहेको उल्लेख गर्दै भने, ‘नेपाल दुई रोटीबीचको बटर हो, बटर बिना स्यान्डवीच मिठो हुँदैन ।’ प्रबुद्ध समूहको बैठकमा पनि सन्धि पुनरावलोकनको विषय लिखित रुपमा नआएको लामाको दाबी छ । 

जापानको चुकुवा विश्वबिध्यालयका सहप्राध्यापक डा. कमल लामिछानेले सन् १९५० को सन्धिका केही बुँदाहरु राणा शासन टिकाउन र चीनको सम्भावित प्रभाव रोक्न गरिएको भन्दै पुनरावलोकन गर्नै पर्नेमा जोड दिए । भारतसँगको सम्बन्ध बलियो बनाउन नेपालका संस्थाहरुलाई बलियो बनाउनुपर्ने उल्लेख गरे । नेपालले परनिर्भरता घटाउँदै छिमेकीसँग अनुदान लिने काम बन्द गरी आत्मसम्मान स्थापित गराउनु पर्नेमा उनले विशेष जोड दिएका थिए । सहभागीहरुले नाकाबन्दीपछि नेपाल–भारतको सम्बन्ध जनस्तरमै बिग्रिएको बताए । कार्यक्रममा नेपाल निर्माण अभियान कार्यक्रमका संयोजक महेशकुमार श्रेष्ठ, डा. विजय ज्ञवालीलगायतले पनि धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्