Logo

विश्व साईकल यात्रीलाई पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानद्धारा सम्मान र सहयोग

ज्याक खड्का,साउन १, २०७४ ,टोकियो  जापान – रक्तदानको महत्वबारे प्रचार गर्न विश्व साइकल यात्रामा निक्लेका दुई युवालाई पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले सम्मान र सहयोग गरेको छ । संस्थाको तर्फबाट भूपि गोविन्द श्रेस्ठ, कुमार कार्कि, डिल्ली राम शिवाकोटी, सुशीला प्रसाईले विश्व साईकल यात्री युबराज बिक्रम मैनाली र भेष बहादुर कंडेललाई स्वागत र सम्मान गर्नुभएको हो । संस्थाले मैनाली र कंडेलले सकारात्मक सन्देश फैलाउँदै नेपालको नाम संसारभर  प्रचार गराउने काममा लागेको भन्दै सबैसँग सहयोग गर्न अनुरोध समेत गरेको छ ।

पर्वत जिल्ला पाङग्राङ ४ का भेषराज कडेँल र झापा कन्काईका युवराज मैनाली विभिन्न १५ देशको यात्रा पछि १६ औ देशको रुपमा जापान आईपुगेका छन् । विश्वलाई रक्तदानको सन्देश दिने उद्धेश्यले ६ महिना अघि यात्रा सुरु गरेका कँडेल र मैनालीले रगतको अभावमा विश्वमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआओस भन्ने सन्देश फैलाउन आफूहरुले साईकल यात्रा थालेको र यस क्रममा नेपालको सगरमाथा र गौतम बुद्धको बारेमा समेत जानकारी प्रचार गर्दै हिँडेको बताए । साइकल यात्रीहरुले नेपालबाट थालेको यात्रा श्रीलंका, भारत, बंगलादेश, माल्दीभ्स, म्यानमार, भियतनाम, कम्बोडिया, लावोस, थाईल्याड, मलेसिया, सिंगापुर, ब्रुनाई, इन्डोनेसिया, फिलिपिन्स, ताईवान हुँदै जापान आइपुगेका हुन् ।

जापानको यात्रापछि दक्षिण कोरियाको यात्रामा निक्लन लागेका साइकल यात्रीहरुले आफूहरु पुगेको देशमा विभिन्न संघ संस्था सहित गैर आवासिय नेपाली संगठन र व्यक्तिहरुले सहयोग गरेको स्मरण गरे । मलेसिया र फिलिपिन्समा भने आफूहरुको सामान चोरी हुँदा समस्यामा परेको भन्दै साइकल यात्रीहरुले नेपालीहरुबाट मिलिरहेको सहयोगले उत्साह थपेको बताए । २५ पटक रक्तदान गरीसकेका मैलालीले रक्तदान गर्दा कमजोर हुन्छ भन्ने भ्रम हरेक देशमा रहेको पाइएको भन्दै यस्तो भ्रम चिर्नका लागि समेत विश्व साईकल यात्रा फलदायी हुने विश्वास व्यक्त गरे ।

५ वर्षमा १ सय ५० देशको यात्रा गर्ने लक्ष्य सहित साईकल यात्रीहरुले यात्राका क्रममा बुद्धको देशमा भ्रमणका लागि निम्ता दिएको र देशको पर्यटन प्रवर्द्दनमा समेत टेवा पुगोस भन्ने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश घुम्न सन्देश फैलाउने काम गरिरहेको बताए । सो अवसरमा पूर्वी नेपाल बिकाश सहकार्य केंद्र जापानका का.वा.सभापति भुपी भूपि गोबिन्द श्रेष्ठले संस्थाको तर्फबाट ३०००० तीस हज़ार जापानी एन सहयोंग र व्यक्तिगत रुपमा कुमार कार्कीले २०००० एन विश्व साइकल यात्रीहरुलाई आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्