Logo

आवुधाबीमा खुल्यो नेपाली रेष्टुरेन्ट

स्तावेज संवाददाता-जेठ,३,२०७४, आवुधाबी, रोजगारीका सिलसिलामा युएईमा रहेका चार नेपालीहरु मिलेर आवुधाबीमा एक रेष्टुरेन्ट सञ्चालन गरेका छन् । बुटवलका रेशम थापा, ओखलढुंगाका राजनजंग राई, धरानका चन्द्र श्रेष्ठ र पोखराका सुक परियार मिलेर ‘अल मसेफ रेष्टुरेन्ट ’ सञ्चालन गरेका हुन् । जेठ १ (मे १५) गते आइतबार केक काटेर रेष्टुरेन्टको उद्घाटन रेष्टुरेन्टका संयोजक राजनजंग राईले गरेका छन् ।

             नेपाली दूताबास जाने बाटोमै पर्ने क्यानेडियन मेडिकल छेउ, एयरपोर्ट रोडमा विगतदेखि नै सञ्चालन भइरहेको रेष्टुरेन्टलाई नेपाली व्यवस्थापनमा सुरु गरिएको हो । तत्काल यही नाममा रेष्टुरेन्ट चलाए पनि नेपाली नामाकरण गर्ने योजना रहेको सञ्चालकहरुले बताएका छन् । नेपाली खाना सेटका अतिरिक्त मःमः चाउमिन, छोयला, नेवारी सेटका साथै इन्डियन र चाइनिज तथा एसियन खाना पनि आफ्नो रेष्टुरेन्टको मेनुमा रहेको जानकारी सञ्चालक रेशम थापाले दिएका छन् ।

     निःशुल्क होम डेलिभरीको सुविधा भएको रेष्टुरेन्टमा नेपाली चाडपर्व विशेष परिकार पनि पाइने सञ्चालक चन्द्र श्रेष्ठले जानकारी दिएका छन् । युएईको राजधानी अबुधाबीमा कार्यरत नेपाली व्यवसायीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र सर्वसाधारण नेपालीहरुको उपस्थितिमा रेष्टुरेन्टको औपचारिक उद्घाटन गरिएको हो ।

         उद्घाटन कार्यक्रममा सरिक हुँदै नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापाले व्यावसायिक सफलताको लागि नयाँ नेपाली व्यावसायीहरुको प्रयासलाई शुभकामना दिएका थिए । उद्घाटन कार्यक्रममा भान्छाघर नेपाली रेष्टुरेन्टका सञ्चालक विकाश अधिकारीले नेपाली व्यवसायीहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका थिए ।

          गायक प्रकाश पौडेलले पनि नेपाली व्यवसायीहरुको उपस्थितिले नेपालीहरुको इज्जत बढिरहेको बताए । कान्तिपुर ट्राभलका सञ्चालक सन्दिप खड्का र सनराइज बैकका प्रतिनिधि संजित सिंहले पनि रेष्टुरेन्टको सफलताको शुभकामना दिएका थिए । उदघाटन कार्यक्रमलाई सफल बनाइदिएकोमा सञ्चालक सुक परियारले उपस्थित सबैलाई धन्यवाद दिँदै ग्राहकको चाहना अनुसारको स्वाद पस्किने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्