Logo

एनआरएन युएईले बुद्धजयन्ती भव्यताका साथ मनायो

दस्तावेज संवाददाता,वैशाख २९, २०७४,आवुधाबी,गैरआवासीय नेपाली संघ युएईले २५६१ औं बुद्धजयन्ती आवुधाबी एक कार्यक्रम गरी मनाएको छ । रक गायक रविन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एनआरएन एनसीसी युएईका अधिकांश पदाधिकारीहरुले बुद्धको तस्वीरमा माल्यार्पण गरी बुद्धको महिमा गाउँदै बुद्धजयन्ती मनाएको एनआरएनले जनाएको छ ।

 विश्व शान्तिका अग्रदूत गौतम बुद्धको सन्देशहरु अझै पनि समयसापेक्ष भएको वक्ताहरुले जोड दिएका थिए । मे १२ तारिख आवुधाबीको भान्साघर रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले बुद्ध सबैका साझा भएका कारण सबै संघसंस्थाले आ-आफ्नै पाराले बुद्धजयन्ती मनाउन सक्ने बताएका थिए । उनले बुद्धको शान्ति, सहिष्णुता र भातृत्वको भावनालाई समेट्दै परदेशमा सबै नेपालीहरु एकताबद्ध भएर अगागि बढ्नुपर्ने बताए । कार्यक्रममा एसियाका तारा गौतम बुद्धको शान्ति, अहिंसा र त्यागको मार्गमा जीवनलाई डोहोर्याए मात्र बुद्धजयन्ती मनाउनुको सार्थकता झल्कने कुरामा जोड दिइएको थियो ।

               एनआरएन  राक क्षेत्रीय कमिटीले पनि रास अल खेमा क्षेत्रमा विभिन्न नेपाली संघसंस्थाहरुको सहकार्यमा बुद्धजयन्ती मनाएको क्षेत्रीय अध्यक्ष राजेन्द्र रास्योराले बताएका छन् ।  यसैबीच एनआरएन युएईले एनसीसी सदस्य भोजराज फुँयाल (शंकर) लाई बिदाई कार्यक्रम गरेको छ । लामो समय युएईका रोजगारीका क्रममा रहेका प्रष्टवक्ता, सामाजिक व्यक्तित्व फुँयाल पुनः युएई नफर्कने गरी नेपाल जाँदै छन् । नेपाली दुतावासमा आयोजित बिदाई कार्यक्रममा फुयाँलले युएईमा रहँदा निर्वाह गरेको भूमिकाको सबैले प्रशंसा  गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्