Logo

बेलायतको संसदीय निर्वाचनमा टोरीको पकड क्षेत्रबाट उभ्याइए नेपाली मुलका कैनी

वैशाख २४, २०७४,लेवर पार्टीबाट डार्टफोर्ड काउन्सिलर नेपाली मुलका डा. बच्चु कैलाश कैनी बेलायतको संसदीय निर्वाचनका लागि उम्मेदवार छानिएका छन् । यसअघि छानिएकी डेजी पेजले शुक्रबार पारिवारिक कारण देखाउँदै चुनाव नलड्ने भएपछि कैनीलाई संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर जुरेको हो ।

शनिबार डार्टफोर्ड लेवर कमिटी अध्यक्ष र नेशनल एक्जुकेटिभ कमिटीले उनी उम्मेदवारका लागि छनोट भएको लिखित जानकारी दिएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टी (टोरी) को पकड रहेको क्षेत्रमा उम्मेदवार उभ्याइएका कैनीलाई जितका लागि भने चुनौति छ । सन् २०१५ को आम निर्वाचनमा कन्जरभेटिभका उम्मेदवार ग्यारेथ जोन्सनले २५ हजार ६७० मत ल्याएर जितेका थिए भने उनका प्रतिद्दवन्दी लेवर उम्मेदवार साइमन थोम्सनले जम्मा १३ हजार ३२५ मत ल्याएका थिए । त्यस क्षेत्रमा सन् २०१० यता टोरीकै पकड छ ।

                   आगामी ८ जुनमा हुने बेलायतको संसदीय निर्वाचनका लागि यही ११ मेमा उम्मेदवार मनोनयन कार्यक्रम छ । त्यसपछि औपचारिक प्रचार प्रसार र घरदैलो अभियानमा लाग्ने कैनीले बताए ।‘हार जित बेग्लै छ तर बेलायतको दोश्रो ठूलो पार्टीबाट उम्मेदवार छानिनु मेरा लागि महान उपलव्धि हो’, कैनीले कान्तिपुरसंग भने, ‘बेलायतको संसदमा प्रवेश गरेर बेलायत र नेपालका लागि गर्व गर्न लायक काम गर्ने दृढता लिएको छु ।’करिब ७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र ग्रेटर लन्डनसँग जोडिएको डार्ट फोर्डको जनसंख्या करिब एक लाख छ । त्यस मध्ये करिब २०० जना मात्र नेपाली उक्त काउन्सिलमा बस्ने अनुमान छ ।

                 कैनीले निर्वाचनका लागि स्थानीय र राष्ट्रिय गरि मुख्य दुई किसिमका एजेन्डा बनाएको बताए । पार्टीको ब्रेक्जिट नीतिलाई सफल बनाउने, स्वास्थ्य र शिक्षामा लगानी बढाइ सेवा सुधार गर्ने, बेरोजगारी दर घटाउने, अर्थतन्त्र मजबुत बनाउने आदि उनका राष्ट्रिय एजेण्डा छन् । त्यस्तै स्थानीय मार्ग सुधार गरि जाम हटाउने, बढी सवारी साधनका कारण हुने धुंवा प्रदुषण घटाउने, स्थानीय टाउन सेन्टर सुधार गरि आकर्षक बनाउने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, अस्पताल सेवा र अन्य स्वास्थ्य सेवामा सुधार गर्ने, सरकारले शिक्षामा बजेट कटौती गर्दा स्थानीय स्कुलमा पर्ने असर न्यून गर्ने आदि स्थानीय एजेन्डा कैनीको छ ।

सन् २०१५ को स्थानीय निर्वाचनमा चार वर्षका लागि काउन्सिलर निर्वाचित कैनी लेबर पार्टीको सन् २०१४ मा म्यानचेस्टरमा सम्पन्नवार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि थिए । केही समय पार्टीको स्थानीय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम गरेको उनले बताए । तनहुँ कमलाबारीमा जन्मिएका उनी हाल क्विन एलिजावेथ अस्पताल लन्डनमा वरिष्ठ ब्यवस्थापकका रुपमा कार्यरत छन् । उनको पारिवारिक पृष्ठभूमि राजनीतिक छ ।

प्रतिक्रिया दिनुहोस्