Logo

न्यूयोर्कमा आगामी मे २१ तारिख ‘नेपाल डे परेड २०१७’ आयोजना हुने

      

ज्योतिकुमार श्रेष्ठ, न्यूयोर्क , यही आउँदो मे २१ तारिख आईतवारका दिन न्यूयोर्कको म्यानहाट्टनमा दोश्रो पटक ‘नेपाल डे परेड  ‘ आयोजना हुने भएको छ । नेपालको पहिचान गराउने र नेपालको पर्यटन तथा व्यापारमा प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको ‘नेपाल  डे परेड  ‘ गतवर्ष मे २२ मा पहिलो पटक आयोजना गरिएको थियो । नेपालको गणतन्त्र दिवस र बुद्ध जयन्तीको अवसर पारेर आयोजना हुन लागेको यो परेडमा हालसम्म ३९ वटा विभिन्न संघ, संगठनहरु आयोजक संस्थाको रुपमा सहभागी हुने निश्चित भएको र आयोजक संस्थाहरु अझै बढ्ने कुरा गत शुक्रवार आयोजित पत्रकार भेटघाटमा जानकारी गराईएको थियो । न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासको सहयोग रहेको यो परेडमा न्यूयोर्क सिटीका मेयर बिल द ब्लाजियो प्रमुख अतिथीको रुपमा उपस्थित हुने भएको छ ।                

मे २१ ता. आईतवार मध्यान्ह १२ बजे शुरु हुने सो परेड नेपाल र नेपालीको परिचय झल्किने पोशाक, ब्यानर, प्लेकार्ड, धार्मिक, सांस्कृतिक एवं पर्यटकिय झाँकी , र नाचगान प्रदर्शन गर्दै न्यूयोर्क, म्यानहाट्टन स्थित ३८ स्ट्रीट र मेडिसन एभेन्यु बाट २७ स्ट्रीट सम्म पुगेर समापन हुनेछ । यस पटकको ‘नेपाल डे परेड  ‘गत वर्षको भन्दा अझ बढी आकर्षक र व्यवस्थित हुने कुरा गत वर्ष परेडका कन्भेनर रहनु भएका लुईसाङ वाईबा तामाङले बताउनु भयो । अघिल्लो परेडमा आयोजक समितिमा रहेको नेपाली राजनैतिक दलहरुका भातृसंगठन नेपाली जनसम्पर्क समिति अमेरिका र प्रवासी नेपाली मंच अमेरिका यसपटक आयोजक समितिमा रहेका छैनन् । यसबारेमा यस वर्षको लागि परेडका कन्भेनर मंगलदास श्रेष्ठले भन्नुभयो ,“प्रवासमा नेपाली राजनैतिक दलका भातृसंगठनहरुका कारण विखण्डित बन्दै गईरहेको नेपाली समुदायलाई स्वच्छ र एकिकृत ढंगले अघि बढाउनु पर्ने आवश्यक भएकोले राजनैतिक संगठनहरुलाई आयोजकको रुपमा नराखिएको हो, तर उहाँहरुलाई सम्मानित रुपले परेडमा सहभागी गराईनेछ । र समग्र नेपालको हितमा गरिएको यो कार्यक्रममा सबैको उल्लेख्य उपस्थिती रहने कुरामा हामी विश्वस्त छौ ।” कन्भेनर श्रेष्ठले यो परेडमा न्यूयोर्क भन्दा बाहिरका राज्य र शहरबाट नेपाली समुदाय सहभागी रहने र विदेशीहरुको समेत सहभागिता गराउने तर्फ प्रयत्न भैरहेको बताउनु भयो । यतिखेर न्यूयोर्क लगायत अमेरिका भरका नेपाली समुदायहरु यो परेड कार्यक्रम उत्सुकता र हौसलाका साथ व्यग्र प्रतिक्षा गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्