Logo

ऐतिहासिक सिन्दूरे जात्रा मनाइँदै

नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्राको विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदै छ ।

जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा भएको छ ।

दुई दिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान गराएपछि भगवान्स्वरुप रहेका धामीधमिनी अहिले नुवाकोटको धरमपानी पुगेका छन्। गएको मध्यरात देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरेका धामीधमिनीसहित देवीघाटको जालपादेवी मन्दिरमा लगिएको भैरवी देवीको मुकुटलगायतको भगवान् बिहान ४ बजे धरमपानीमा पुर्‍याइएको हो ।

अहिले धरमपानीमा आराम गरिरहेका धामीधमिनी र रथको पूजाआजासहित अपराह्न भैरवीदेवी मन्दिरमा फर्किएर सिन्दूर खेलेपछि ऐतिहासिक सिन्दूरे जात्राको विशेष रौनक छाउन सुरु हुने धार्मिक एवम् वैदिक विधि रहेको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए।

मङ्गलबार मध्यरात देवीघाट पुग्नुभएका धामीले करिब २४ घन्टाको बसाइमा विभिन्न जिउँदो पशु/चौपायाको भोग खाएर नयाँ वर्षको गोप्य भविष्यवाणी गरेका छन्। उनले गरेको भविष्यवाणी हुलाकमार्फत राष्ट्रपतिसमक्ष पठाइएको छ ।

द्वारे महेन्द्रकुमार शाहीका अनुसार भगवान् भैरवीदेवी मन्दिरको प्रतीकात्मक रुपमा धामीधमिनीले विभिन्न गुठी राख्ने तथा दोहोरो कुरा गर्ने प्रचलन पहिलेदेखि नै सुरु भएको हो र यसलाई निरन्तरता दिइएको छ ।

सिन्दूरे जात्राको मुख्य आकर्षण धामीले भोग खाएको हेर्न, सिन्दूर खेल्न धामीधमिनी, भैरवीदेवी र जालपादेवी मन्दिरको दर्शन गर्न नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लाका हजाराँै भक्तजन यहाँ आएका छन् ।

यो वर्षको भैरवी वर्षबन्ध सोमबारदेखि सुरु भएर आज विशेष रुपमा मनाइँदै छ । रासस

– See more at: http://setopati.com/samaj/67128/#sthash.KdVXlJoZ.dpuf

प्रतिक्रिया दिनुहोस्