Logo

आफ्नै श्रममा नमुना बस्ती

वैशाख १, २०७४- जिल्लाको विकट गाउँका विस्थापित भूकम्पपीडितले १६ महिना लगातार खटेर ५५ परिवारका लागि नमुना बस्ती बनाएका छन् । केही सामाजिक संघसंस्थाले उपलब्ध गराएका निर्माण सामग्री लिएर उनीहरू आफैंले २८ घर बनाएका हुन् । प्रतिपरिवार ४/४ कोठा पुग्ने गरी ती घर बनाइएका हुन् । भुवालेपानीका २९ र तल्लो आले गाउँका २६ परिवारका लागि बनाइएका यी घरमा ३ सय १० जना बस्न थालेका छन् । उत्तरी भेग लापाको कपुरगाउँ र नेबियर गाउँका ७५ मध्ये ६० घर भूकम्पबाट ध्वस्त भएपछि उनीहरू विस्थापित भएर यहाँ आएका थिए । चारैतिर पहिरो आएर बस्न नसक्ने भएपछि उनीहरू सदरमुकाम नजिकै पाल र स्याउलाको गोठमा बस्न बाध्य थिए ।

नमुना बस्तीका योजनाकार दिनेश तामाङका अनुसार विस्थापित घर फर्कन नसक्ने भएपछि क्यानडास्थित चाइल्ड हेभेन इन्टरनेसनल नेपालले ३८ रोपनी घडेरी किन्न २९ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकमबाट विस्थपित शिविर राखेकै बाँझो जमिन किनेर भूकम्प प्रतिरोधक घर बनाउन थालिएको थियो । बस्तीमा होमस्टे, हस्तकला उद्योग, कुखुरा र पशुपालन, बेमौसमी तरकारी खेतीलगयात कार्यक्रम सञ्चालन गर्ने योजना छ । बस्ती विकास पनि त्यसैअनुसार गरिएको छ ।

बस्तीमा एउटा गुम्बा पनि बनाइएको छ । यहाँ बसोबास गर्नेले बौद्ध धर्मका पञ्चशीलका सिद्धान्त पालना गर्नुपर्ने नियम बनाइएको छ । उनीहरूले आ–आफ्नो नाममा रहेका घर बेच्न पाउने छैनन् । प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । प्रतिघर निर्माणका लागि करिब १४ लाख खर्च भएको छ । निर्माणमा स्थानीय डकर्मी, सिकर्मी र खाडी मुलुकमा काम सिकेर फेर्केका युवा जुटेका थिए । घर बनाउन विभिन्न संघसंस्थाले निर्माण सामग्री उपलब्ध गराएका थिए । हरेक घर ४ आना ३ पैसा जमिनमा बनाइएको छ । बस्ती बसाउन १६ महिना लागेको थियो ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्