Logo

विश्व दृष्टि दिवस नेपालमा पनि मनाईँदै

स्तावेज संवाददाता, आश्विन २६ गते बिहिवार, २०७४,काठमाडौं – अक्टोवरको दोस्रो बिहिबार विश्वभर ‘विश्व दृष्टि दिवस’ मनाइँदै छ । यो दिवस आँखासंग सम्बन्धित अस्पतालदेखि संघसंस्थाले नेपालमा पनि मनाउँदै छन् ।

नेपालमा पुरुषको तुलनामा महिलामा बढी अन्धोपनको समस्या देखिएको पाइएको छ । विश्व दृष्टि दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा एक लाख २० हजार व्यक्तिमा अन्धोपनको समस्या छ। तिमध्ये ५३ प्रतिशत महिलामा अन्धोपनको समस्या छ।

पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी हुनुको प्रमुख कारण समयमै उपचारको पहुँचमा नआउनु रहेको तिलगंगामा कार्यरत डा. रभा थापाले जानकारी दिइन् । उनका अनुसार महिलाहरुले आँखामा समस्या देखिए पनि खुलेर नभन्ने, उपचारमा जानका लागि अरुको सहायता लिनुपर्ने, आर्थिक अवस्था कमजोर हुनु लगायतका कारण रहेको छ ।

‘अझै पनि महिलाहरु आर्थिक रुपमा सक्षम बन्न नसक्दा उपचारको लागि पुरुषकै भर पर्ने गर्छन्’ उनले भनिन्, ‘विशेषगरि ग्रामीण क्षेत्रका महिलाहरुले रोग लुकाउँदा र समयमै उपचारको लागि नआउदा पनि अन्धोपनको समस्या महिलामा बढी देखिएको हो ।’

 नेपालमा ५० वर्ष माथिका दुई दशमलव ५ प्रतिशतमा अन्धोपनको समस्या छ । उनले पछिल्ला वर्षमा मधुमेहका कारण हुने अन्धोपनको समस्या समेत बढ्दै गएका कारण ४० वर्ष भन्दा माथिका मानिसहरुले वर्षमा एक पटक अनिवार्य रुपमा आँखाको परिक्षण गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । चेतना अभावका कारण पनि समयमा नै उपचारमा आउनेको संख्या नबढेको हो । जसको कारण उपचार गर्न सकिने अन्धोपनको समस्यालाई समयमा नै उपचार नहुँदा धेरैले ज्योती गुमाएर बसिरहेका छन्,’ 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । हटाउन सकिने अन्धोपन थप नबढोस् भन्ने उद्धेश्यका साथ विश्वभर दृष्टि दिवस मनाउने गरिन्छ । तिलगंगाले दिवसका अवसरमा काठमाडौं तथा १५ जिल्लामा रहेका सामुदायिक आँखा केन्द्रमा  आएका १८ वर्ष भन्दा कम उमेरका तथा ६० वर्ष भन्दा माथिका आँखाका बिरामीलाई निःशुल्क दर्ता गर्ने कार्यक्रम राखेको छ । यसका साथै चेतनामुलक कार्यक्रम र सामग्री वितरण गर्ने पनि तिलगंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्