Logo

सेयर बजार :धितोपत्र लगानीका प्रकारहरु

डिवेञ्चर 

तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि। कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

वारेन्ट 

कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण शेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकारनै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण शेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण शेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण शेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।

प्रकाशित मिति, २०७७ साल भाद्र १८ गते, बिहिवार

प्रतिक्रिया दिनुहोस्