Logo

कविता – रक्तपिपाशु

                                – दीपशिखा शर्मा

हो …………..! होश सम्हाल्दा उ एक्लै थियो ।

बिरानो संसारबाट अन्जान, बेखवर !

बाबु बितिसकेका थिए

आमा पराया पुरुषलाई अँगालेर,

सुँईकुच्चा ठोकिसकेकी थिइन् ।

उ नितान्त एक्लो,

बाबु आमा नभएको टुहुरो केटो

उसको हेरचाह गर्न खटिएका थिए,

वृद्ध हजुरआमा र हजुरबुबा !

जो डाँडामाथिका जुन झैँ भइसकेका थिए ।

न बालापन ,न कुनै खुसी

अकालमै बुढ्यौलीले छोएजस्तो !

निरस फुस्रो निरीह एवं बेसाहरा जीवन,

वास्तवमा उसको लागि घर घरजस्तो थिएन ।

स्कुल स्कुलजस्तो थिएन ।

बिना बाबुको टुहुरो केटो

न स्कुल ड्रेस ,न कापी कलम ,न झोला ,न खाजा

मैलिएका लुगा,न खुट्टामा जुत्ता !

तुना बाँधेर अड्याएको थोत्रो चप्पल ।

उसको लागि स्कुल सिर्फ एक बाध्यता थियो ।

हजुरबा हजुरआमाको आँखा कान छल्ने एउटा बाटो मात्रै ।

न आत्मबल , न कुनै उत्सुकता

न पढाइमा लगनशीलता !

पढ्न भनेपछि जिउबाट खलखली पसिना छुट्थ्यो ।

शिर उँचो पारेर हेर्नसक्ने तागत समेत थिएन

त्यसैले त जहिले शिर निहुर्याएर,

पछिल्लो बेन्चमा झोक्रिएर बस्थ्यो ।

उसको बारेमा न त शिक्षकले कुनै चासो लिन्थे

न त साथीहरू नै उसको नजिक पर्थे ।

फोहर सर्ने डरले सबै उ सँग टाढा बस्थे ।

पढ्नु गुन्नु केही थिएन

रित्तो झोला लिएर घर फर्किन्थ्यो ।

कठै ! भगवान् पनि कति निष्ठुरी ?

साँझ बिहानको खाना बल्लतल्ल नसिव हुन्थ्यो ।

उसको जीवन अत्यन्त कष्टकर बन्दै गयो ।

समय बद्लिंदै गयो

सबैबाट हेपिएको टुहुरो केटो

बिस्तार बिस्तार हुर्कँदै बढ्दै गयो ।

कनिकुथि एसएलसी पास गर्‍यो ।

त्यसपछि कामको सिलसिलामा काठमाण्डौं छिर्यो ।

त्यहाँ नाम मात्रको कलेज भर्ना गर्‍यो ।

अनि कामको खोजीमा यत्रतत्र भौँतारिन थाल्यो ।

उसको मनमा बालकालदेखि नै ,

अनौठो बदलाको भाव उब्जिएको थियो ।

किनकि उ समाजबाट घृणित थियो ,

छरछिमेकबाट बहिष्कृत थियो ,

आफन्तजनबाट हेपिएको थियो ।

दुनियाँको अगाडि उसलाई केही गरेर देखाउनु थियो ।

मेहनत नै नगरी अथाह धन दौलत कमाउनु थियो ।

उसको अगाडि शहरी चमकदमक देखापर्न थाल्यो ।

हिरो हिरोइनको नक्कली रंगीन दुनियाँ ,

बिलासी जीवन तथा शान शौकतबाट

उ यति प्रभावित भयो कि,

त्यसैले उ पनि एक कलाकार बन्ने निधो गर्‍यो ।

एउटा कमेडियन कलाकार !

जसको काम नक्कली हाँसो हाँसेर,

दर्शकलाई मनोरञ्जन दिनहुन्थ्यो ।

बिस्तार बिस्तार उसले टेलिसिरियल लगायत म्युजिक भिडियोमा

छोटो मोटो रोल गर्दे पेट पाल्ने काम गर्न थाल्यो ।

अब उ टुहुरो ‘सेते’ थिएन

लक्का जवान ‘सेते डन’ बनिसकेको थियो ।

बिस्तार बिस्तार उसले ,

तरुनी केटीहरूलाई आफ्नो वशमा पार्न थाल्यो ।

काठमाण्डौं की नेवारनी पट्टयायो ।

उसैसँग बिहे गर्‍यो ,सन्तान जन्मायो ।

तैपनि उसको मन भरिएन ।

उ अमिर बन्न चाहन्थ्यो ।

उसको लागि श्रीमतीको पवित्र सम्बन्ध भन्दा,

धन दौलत प्यारो थियो

जसको लागि उसले युवतीहरू फँसाउने,

धित नमरुन्जेल प्रयोग गर्दै छोड्दै गर्न थाल्यो ।

नेवारनी , बाहुनी , क्षेत्रीनी ,गुरुङनी उसका अर्धाङ्गिनीहरु बन्दै गए ।

उसको ठगी धन्दामा सघाउँदै गए ।

युवतीहरूसँग सम्बन्ध गाँस्नुको एक मात्र मकसद थियो पैसा !

जसका लागि उ मर्न र मार्न समेत पछि पर्दैनथ्यो ।

उसका असंख्य महात्वाकांक्षाहरु आकाशको बादल झैँ

यत्रतत्र मडारिइरहेका थिए ।

पैसाको प्यासले उसलाई यति सताएको थियो कि ,

उ छिट्टै करोडपति बन्न चाहन्थ्यो ।

जसको कारण उ फिल्मी दुनियाँमा अगाडि बढ्दै गयो ।

केही मूर्खहरूलाई मुर्गा बनाई हातमा लियो ।

लगानी तिनीहरूलाई गर्न लगाउने र,

आफू मोजमस्तिमा रम्न थाल्यो

जसको फलस्वरूप उसको फिल्मैपिच्छे,

नयाँ नयाँ अनुहारका श्रीमतीहरू थपिँदै गए ।

उसको खराब आचरणको कारण,

उसले बनाएको फिल्महरू क्रमशः फ्लप हुँदै गए ।

फिल्मी टिमको अगाडि,

उ नितान्त एक्लो र निरीह बन्न पुग्यो ।

अन्ततः गाउँको सोझो टुहुरो केटो,

एकाएक बद्लिएर रक्तपिपाशु ‘सेते’ बन्न पुग्यो ।

मातृभूमिमा पाइला राख्न कठिन हुँदै गएपछि ,

घर परिवार सबैलाई त्यागी प्रवास हान्नियो र भूमिगत भयो ।

तरपनि उ भित्रको प्यास मरिसकेको थिएन,पैसाको प्यास !

प्रवासमा रहेर उसले थप अध्ययन गर्‍यो ।

सर्टिफिकेट हातपार्‍यो ।

ग्रिन कार्डको लोभमा विदेशी युवतीसँग बिहे गर्‍यो।

सन्तान जन्मायो अनि फेरि उसलाई पनि अलपत्र पारी नेपाल फर्कियो ।

अफसोस ! उसको दिमागमा कामै नगरी,

पैसा कमाउने जुक्ति मात्रै फुर्दथ्यो ।

त्यसैले प्रवासमा पनि उ धेरैदिन टिक्न सकेन  

जसको फलस्वरूप सामाजिक सञ्जालमा,

विभिन्न देशमा मजदुरी गरिरहेका,

नयाँ नयाँ अनुहारका तरुनीहरू जोड्दै गयो ।

उनीहरूलाई नक्कली प्रेम जालमा फँसायो,

अनि मोटो रकम असुल्न थाल्यो ।

फिल्म बनाउने बाहानामा,

मोटो रकम र ईज्यत अस्मिता समेत लुट्थ्यो ।

अनि उखु चुसेर मिल्काएको छोक्रा झैँ मिल्काउँथ्यो ।

उसले यही धन्दामा,

असंख्य युवतीहरूलाई शिकार बनायो ।

उनीहरूको आत्मसम्मान र भावनालाई,

जंगली झारपात झैँ कुल्च्यो ।

हो ! त्यही रक्तपिपाशु सेते,

आज फिल्मको वरिष्ठ निर्देशक भएको छ ।

फिल्म बनाउने नौटंकी गर्दै

आफ्नो हुँडारकोजस्तो पेटभर्न तल्लीन छ ।

दुनियाँको घर बिगार्दै ,घर न घाटको बनाउँदै

सोझासाझा निमुखाहरूको रगत पसिनाको कमाई खाँदै

पैसाको खेल खेल्दै ,मोज मस्तीमा रम्दै ,

सोझासाझा युवतीहरू फँसाउनमा तल्लीन छ !

सोझासाझा युवतीहरू फँसाउनमा तल्लीन छ !!

  प्रकाशित मिति, २०७७ साल भाद्र २४ गते बुधबार 

    karobaraja0[email protected]

प्रतिक्रिया दिनुहोस्