Logo

मृगतृष्णा – दीपशिखा शर्मा

                                                                                     दस्तावेज डट कमले आजदेखि साहित्यकार तथा पत्रकार दीपशिखा शर्माको उपन्यास ‘मृगतृष्णा ‘ धारावाहिक रुपमा छाप्ने बिचार गरेको छ । आशा छ पाठकहरुले मन पराउनुहुनेछ ।

                                               – सम्पादक 

कक्षा दशमा पढ्दैदेखि बिराजको जीवनको एकमात्र लक्ष्य भनेको नै अमेरिका पुग्नु थियो । जसको मुख्यकारण थिए पल्लाघरे प्रोफेसर काका । उनि बिगत २५ बर्ष अगाडिदेखि नै पी.एच.डी. गर्ने सिलसिलामा अमेरिका छिरेका थिए । उनि २,३ बर्ष बिराएर नेपाल आउँथे,अनि जग्गाजमिन र घर घडेरी जोडेर फर्किन्थे । प्रोफेसर काकाले अमेरिकामा ग्रीनकार्डको लागि अमेरिकी नागरिक Syandi सँग विहे गरेर सेटल भएका थिए । अहिले उनि अमेरिकाको नागरिक भैसकेका थिए । नेपालमा उनको पहिलेको श्रीमतीबाट जन्मेका २ भाई छोरा र एक छोरी थिए । अमेरिकाबाट आउँदा उनको साथमा अमेरिकी नागरिक Syandi हुन्थिन् । उनकी एउटी छोरी थिइन् । उनको नाम Rosy थियो । प्रोफेसर काकाले छट्टी मनाउन नेपाल आउँदा Syandi र Rosy लाई सँगै लिएर आउँथे । बाबु नेपाली भएकोले Rosyलाई नेपाली भाषाको धेरथोर ज्ञान थियो । Rosy लाई देखेर बिराजको मन भित्रभित्रै अनौठो मायाँ पलाउथ्यो । कलिलो उमेर भएको कारण बिराजले केहि भन्ने हिम्मत गर्न सकेको थिएन । उनिहरु सँगै हाँस्थे,खेल्थे अनि रमाउँथे । बिराजको उमेर सुहाउँदी,गोरो रंग,निलो आँखा,खैरो कपाल,उच्चकद,हिस्सी परेको अनुहार,छुँदैमा मयल सर्लाजस्तो सफेद ब्यक्तित्वको बिराज दीवाना नै भैसकेको थियो । प्रोफेसर काकाको लोभलाग्दो जीवन,उनिहरुको खानपान,लवाई खवाई,रवाफी शैली देखेर बिराजको बालसुलभ मनमा यति गहिरो छाप पर्यो कि भविष्यमा अमेरिका छिरेर प्रोफेसर काकाझैं गोरीसँग बिहे गर्ने,ग्रीनकार्ड लिने अनि आफ्ना दुःख पाएका बाबु आमाको सपना साकार पार्ने रहरहरु बुनेर हरदम हरपल दिनहरु गनेर बस्न थाल्यो । सपनाको शहर अमेरिकामा पुग्न उ निकै आतुर थियो । उसले आफ्नो पढाइमा मन लगाउन सकेन । बिकट गाउँको सरकारी स्कूलमा पढेको बिराजले अमेरिका रुपि जुनुनको कारण परिक्षामा राम्रोगर्न पनि सकेन । उसका बाबु आमा बिराजको भविष्यप्रति चिन्तित थिए । उसको दाई पढाइमा अब्बल थियो । प्रत्येक बर्ष प्रथम भएर पुरस्कार लिएर आउँथ्यो । तर भाईभने अमेरिकाको भुतले दिनपरदिन बिग्रँदै गइरहेको थियो ।
                                     परिवारको कान्छो सन्तानको यस्तो दुर्दशा भएको देखेर बाबु आमाले काठमाण्डौंमा फूपूकहाँ लगेर बिराजलाई पढाउने निधो गरे । त्यसबेलाको नाम चलेको स्कूलमा उसका बाबुले भर्ना गरिदिए । बिराजलाई के खोज्छस् काना आँखो सरी भयो । २,३ पटक फेल भएर जसोतसो उसले एस.एल.सी भने पास गर्यो एस.एल.सी. पास भएपछि बिराज काठमाण्डौं फूपूकोमा बस्न थाल्यो । अब उ घर परिवारबाट पूर्ण रुपमा स्वतन्त्र थियो । कराउने मान्छे कोहि थिएन । उन्मुक्त पन्छी झैं साथीहरुसँग मिलेर अमेरिका छिर्ने बाटोको तलास गर्नथाल्यो । उसकी फूपू निकै सम्पन्न थिइन् । उनको एकमात्र छोरो सरकारी अफीसमा अफिसर थियो । फूपाज्यको निधन भईसकेको थियो । फूपू बिराजलाई छोरा झैं मायाँ गर्दथिन् । अब उसको खानपान,रहनसहन बिस्तारै बदलिंदै गयो ,काठमाण्डौंका नव धनाढ्यका छोराछोरीको संगतले बिराजपनि धनाढ्य छोराकोजस्तै अभिनय गर्ने भइसकेको थियो । पश्चिमी शैलीको सिको गरी औपचारिक कुराकानीमा उसले अंग्रेजी मिसाएर बोल्न थाल्यो । आफू सरहका साथीहरु I LET,TOEFL गरेर बिदेश पसेको देख्दा बिराजमा पनि त्यो भावना नआएको होइन । तर उसको प्रयास सफल हुन सकेन । बिद्यार्थी भिसामा अमेरिका छिर्ने उसको प्रयास असफल भएपछि उसले काठमाण्डौंका दलालहरुसँग सम्पर्क अगाडि बढायो । म्यानपावरका दलालहरुसँग साँठगाँठ गर्नथाल्यो । दलालको भनाई अनुसार अमेरिकाको भिसा प्रोसेसको लागि अग्रिम रु.दशलाख डिपोजिट गर्नुपर्दथ्यो । यो भिजिट भिसा थियो । भिसा लागेपछि थप दशलाख भरपाई गर्नुपर्दथ्यो । अमेरिकाको कार्यक्रममा भागलिने बाहानामा दलालहरुले सोझा साझा नेपालीहरुलाई प्रलोभनमा पारी अमेरिकाको रंगीन सपना देखाएर पैसा असुल्थे । बालककालदेखि अमेरिकाको सपना पालेको बिराजको लागि जसरी भएपनि अमेरिका छिर्नु थियो ।अब भिसा प्रोसेसको लागि उसले गाउँमा रहेका बाबु आमालाई टेलिफोन गरेर पैसा मगाउन थाल्यो । “बुबा म अमेरिकाको भिसा प्रोसेस गर्दैछु मेरो बैंक एकाउन्टमा दशलाख पैसा तुरुन्त डिपोजिट गर्नुपर्यो ”यति भन्नासाथ बिराजका बाबु झस्के । किनकी खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएका बिराजका बाबुको अगाडि यो निकै ठूलो रकम थियो । उसका बाबु आमा त्यति सम्पन्न थिएनन् । मध्यमबर्गिय परिवारमा बिराजको जन्मभएको थियो । परिवारको मुख्य पेशा भनेकै खेतिपाति थियो । खाएर उब्रेको अन्नपात र बाख्रापाठा बेचेर मुश्किलले छोराछोरी पढाउँदै आएका थिए । बुढा भएका बाबु आमा खेतमा बर्षभरि घोटिएर आर्जन गरेको अन्नपात,बाख्रापाठा छोराछोरीको पढाईको रकमको जोहो गर्दथे । हातमा परेको रकम एक पैसापनि खर्च नगरी बिराजलाई शहरमा पठाउँथे । बिराज एकोहोरो टेलिफोनमा बोल्दै थियो । बाबु किंकर्तब्यबिमुढ भएर मोबाईलमा बिराजको कुरा सुन्दै थिए । उनि दोधारमा परे किनकी उनले बिराजलाई आजसम्म निरास पारेका थिएनन् । खाई नखाई सकीनसकी छोराको सपना पुरागर्दै आएका थिए । यो उनको महानता थियो । बिराजको कुराले उसको बाबुको दिमागमा हलचल ल्याईसकेको थियो । अहिल्यै सक्दिन भनेर छोरालाई दुःखी बनाउनु भन्दा केहि दिनको मोहलत मागेर समस्याको समाधान गर्ने बिचार गर्न थाले,“बाबु रात छिप्पिइसक्यो अहिले सुत,के गर्ने के नगर्ने भोलि बिहान सल्लाह गरौंला ।”
           उताबाट बिराज चिच्याउँदै थियो, “बुबा मलाई यहाँबाट जसोतसो अमेरिका छिराउने बाटो गर्नु,म कमाएर हजरुको सबै ऋण तिर्नेछु”
बिराजको बाबुले बिराजलाई सम्झाउँदै थिए, “बाबु चिन्ता नलिई ,अहिले फोन राखिदे,सकेको गरिहाल्छु नि?
बिराजले फोन राखिदियो । बिराजको कुराले उसको बाबुको मानसपटलमा आँधिहुरी आइसकेको थियो । उनि चिट्चिट् पसिना काढ्दै सोफामा अडेस लाग्नपुगे । उनको दिमाग स्थिर थिएन । बिराजको भविष्यको लागि अनेक कुराहरु खेल्न थाले । दशलाख पैसाको जोहो कसरी गर्ने ? त्यति ठूलो रकम यो गाउँमा उनलाई सापटीको रुपमा कसैले दिने सम्भावना थिएन । गाउँको सबै जग्गा जमिन बेचेर पनि दशलाख पैसा निकाल्न मुश्किल थियो । के गर्ने ? के नगर्ने ?उनि बिस्तरामा छटपटाउँदै थिए । छोराछोरीको सुखद भविष्यको चाहना जो कोहि बाबु आमालाई हुन्छ । आ– आफ्नो हैसियतले सक्ने सक्ने,नसक्ने अलग कुरा हो । घरी भित्तामा राखेको घडीतिर आँखा लगाउँथे,घरी बिराजको आमातिर हेर्दथे । बिराजको आमा भित्तापट्टि फर्किएर गहिरो निद्रामा सुतिरहेकी थिइन् । उनलाई शहरबाट आएको छोराको फोनबारे केहि थाहा थिएन । मस्त निदाइरेहकी बिराजको आमालाई उनले उठाउन चाहेनन् । रातभर उनलाई निद्रा परेन । छटपटाहटमा सिँगो रात बिताए ।
                    रातभरको अनिदोले बिराजको बाबुका आँखा काँच्चै थिए । हेर्दाहेर्दै उज्यालो भयो । अनि काँधमा तौलिया बोकेर नुहाउनको लागि धारातर्फ हिंडे । बिराजकी आमा उठेर घर सफासुग्घर गर्न लागिन् । गाउँमा बुढाबुढी मात्रथिए । जेठो छोरा स्वराजपनि काठमाण्डौं मै थियो । पढाईमा मेहनती भएको कारण लोकसेवा आयोगबाट स्वास्थ्य मन्त्रालयमा सरकारी कोटामा नाम निकालेर जागीर खान थालेको थियो । तर दाज्यु भाईमा त्यति मेलमिलाप थिएन । बिराजका बाबुआमा सानैदेखि बिराजलाई मायाँ गर्दथे । किनकी उ पढाइमा कमजोर भएको कारण हमेशा फेल हुन्थ्यो । त्यसैले बाबु आमा चिन्तीत थिए । स्वराजलाई भने उनिहरुले हेर्नैपर्ने थिएन । भाईलाई मायाँगर्ने मलाई नगर्ने भन्ने उसलाई परेको थियो । बाबुआमाको कान्छो छोराप्रतिको चेपारे ब्यवाहार देखेर बिराजको दाज्यु स्वराजले बाबुआमालाई निकै सम्झाउँथ्यो । भाई आवारा केटाहरुको संगतले निकै बिग्रीसकेको जीकिर गर्दथ्यो,उसले जे भन्यो त्यो नगर्नुस् झनै बिग्रन्छ भनेर रोेक्ने कोशिस गर्दथ्यो । तर उसका बाबुआमा भने सानो भाईको रिस गरिस् भनेर उल्टो उसैलाई हपार्थे ।

 क्रमश:

प्रतिक्रिया दिनुहोस्