Logo

शहीदका सपना र आजको अवस्था

सानालाई ऐन ठुलालाई चैन खारेज भएन। गणतन्त्रको संविधान बन्यो जुन संविधानले मृत हुँदै गएको न्यायलाई जीवित पार्न सकेन। बलात्कार ,भ्रष्टाचार ,ठगी ,अपराध गर्ने गिरोहहरू झन् मौलाउँदै गए तिनको अन्त्य हुन सकेन। जनता प्रधान शासन व्यवस्था नेता प्रधान बन्यो। राष्ट्रिय स्वार्थ निजी र परिवारमुखी बन्न पुग्यो । दरबारबाट खोसेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र महलतिर लुक्यो।जनताको आशा र सहिदका बलिदानीहरुलाई निराशामा परिणत गर्दै ‘कू’ गरियो। शिक्षामा व्यापार बढिरहयो। स्वास्थ्यमा व्यापार बढिरहयो। नयाँ नयाँ विदेशी सम्झौताहरूको बिगबिगीको खतराले अटल सगरमाथामा भूकम्प आउन थाल्यो । बुद्धको देशले शान्तिको खोजी गर्न विवश भैरहनुपर्यो। जनताको ढाडमा दाल दलेर न अघाएको नयाँ व्यवस्थाले सत्तरी लाख युवाको अरबौँको रेमिटेन्स निजीभोगबिलासको लागि उपयोग गर्दा पनि तृप्त हुन सकेन। नयाँ व्यवस्था शक्तिशाली मान्छेहरूको पेवा बन्न पुग्यो। राजनीति पेशा बन्न पुग्यो।जनतालाई भ्रमित बनाउँदै आफ्नो विरासत सजाउनेहरूको हालीमुहालीले जनताका सपना र शहीदका सपनाहरू बलात्कृत हुँदै गए।

                                  – लक्ष्मण चौलागाईं विद्रोही

लाग्थ्यो,हामी सुदिनको सँघारमा आउदैछौं। अब जनताले मुक्ति पाउनेछन्। सुशासन छाउनेछ। जनताका सुखका दिन आउनेछन् , लोकतान्त्रिक गणतन्त्र र यसको विधानले जनताका घर आँगनमा  प्रवेश पाउनेछ । ठुलालाई चैन सानालाई ऐन खारेज हुनेछ। समतामूलक नेपालको रूपमा हाम्रो नवीन राज्यव्यवस्था स्थापित हुनेछ। धनी र गरिबका दुई भिन्न शिक्षा मूलतः खारेज भई व्यवहारिक शिक्षा पद्धति नि: शुल्क जनताका छोराछोरीले पाउनेछन् ।औषधोपचारको अभावमा कुनै दिनहीनहरूले आफूलाई गरिब भएको महशुस गर्न पर्ने छैन । अल्पविकसित देशले विकसित हुन पाउनेछ । देशका कुनाकन्दराले उज्यालो पाउनेछ। कृषिप्रधानको गरिमा झन् उच्च- हुनेछ। हाम्रा मलिला जमिनमा उत्पादनहरू बढ्नेछन् । ती उत्पादनहरूले आयातित बजारलाई ध्वस्त गर्नेछ र हामीले उत्पादन गरेका अन्न,अनाजहरू विदेशी सुपर मार्केटहरूमा निर्यात हुनेछन् । हामी बेरोजगार र परनिर्भर बन्नुपर्ने छैन।

७७ जिल्लाका जनताले आफ्नै मुलुकमा उत्पादन गरेका अन्न अनाजहरू संसारका विकसित मुलुकहरूमा निर्यात गरी डलर,युरो,पाउन्ड गन्न पाउनेछन् । देशमा भ्रष्टाचारको बिगबिगी बढ्ने छैन। न्यायले पुनर्जीवन पाउनेछ। स्वर्गजस्तो देश नेपालको आत्मनिर्भर बस्ती ‘आहा’ हुनेछ। बुद्धको गरिमाले विश्व प्रसिद्ध सगरमाथाको देश घुम्न आउनेहरू बढ्नेछन् । पर्यटनमा नै हाम्रा ७० लाख युवायुवतीहरू मात्र नभै देशभरका युवायुवतीहरूले रोजगार पाउनेछन् । देश समृद्ध जनता सुखी हुनेछन् ।अब हामीले खान नपाएर मर्नुपर्ने छैन । जनता प्रधान र सत्ता सहायक व्यवस्था आउनेछ। सार्वभौमता सम्पन्न देश नेपालको शक्तिशाली गरिमाका बहादुरीहरू युग युग बाँच्नेछन् । हिजोका बलिदानहरू आज ब्रम्हाकमल फूल बनेर फुलिरहनेछन् ।

हाम्रा बत्ती मुनिका अन्धकार जिल्लाहरू उज्याला हुनेछन् । उज्यालो पहाडले चारैतिर घेरिएको सुन्दर देशको सुन्दरता झनै सुन्दर हुनेछ। वर्ग वर्ग बिचको विभेद अन्त्य हुनेछ। सर्वहाराका सपना तुनिएको संविधान बन्नेछ। जनताले हिजोको राजतन्त्र भन्दा पनि सदियौं टिक्ने लोकतन्त्र पाउनेछन् र त्यो लोकतान्त्रिक शासन व्यवस्थालाई रक्षा गर्न सारा जनता जुट्ने छन् । महान् शहीदहरूका आत्माले शान्ति पाउनेछ। घाइतेहरूले मल्हम पाउनेछन् । बेपत्ताका परिवारले आफ्नो सन्तान बेपत्ता भएको अनुभूति गर्ने छैनन् । व्यवस्था बदलिँदा हाम्रा व्यवस्थाहरू बदलिएर मुलुक कायापलट हुनेछ।
यस्तै सपनाहरू थिए हिजोका !

तर आज,
सानालाई ऐन ठुलालाई चैन खारेज भएन। गणतन्त्रको संविधान बन्यो जुन संविधानले मृत हुँदै गएको न्यायलाई जीवित पार्न सकेन। बलात्कार ,भ्रष्टाचार ,ठगी ,अपराध गर्ने गिरोहहरू झन् मौलाउँदै गए तिनको अन्त्य हुन सकेन। जनता प्रधान शासन व्यवस्था नेता प्रधान बन्यो। राष्ट्रिय स्वार्थ निजी र परिवारमुखी बन्न पुग्यो । दरबारबाट खोसेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र महलतिर लुक्यो।जनताको आशा र सहिदका बलिदानीहरुलाई निराशामा परिणत गर्दै ‘कू’ गरियो। शिक्षामा व्यापार बढिरहयो। स्वास्थ्यमा व्यापार बढिरहयो। नयाँ नयाँ विदेशी सम्झौताहरूको बिगबिगीको खतराले अटल सगरमाथामा भूकम्प आउन थाल्यो । बुद्धको देशले शान्तिको खोजी गर्न विवश भैरहनुपर्यो। जनताको ढाडमा दाल दलेर नअघाएको नयाँ व्यवस्थाले सत्तरी लाख युवाको अरबौँको रेमिटेन्स निजी भोगबिलासको लागि उपयोग गर्दा पनि तृप्त हुन सकेन। नयाँ व्यवस्था शक्तिशाली मान्छेहरूको पेवा बन्न पुग्यो। राजनीति पेशा बन्न पुग्यो।जनतालाई भ्रमित बनाउँदै आफ्नो विरासत सजाउनेहरूको हालीमुहालीले जनताका सपना र शहीदका सपनाहरू बलात्कृत हुँदै गए।

यसैले आज दक्षिण एशियाको सुन्दर देश नेपालले आफ्नो सुन्दरताको सदुपयोग गर्न पाएन। युवाहरूको जीवन धान्ने विकल्प परनिर्भर बन्दै गयो। समृद्ध नेपाल सुखी नेपाली एकादेशको दन्त्य कथा बन्न विवश भयो। आज कुनाकन्दरामा उज्यालो पुग्न सकेको छैन। झुपडीमा शहीदको आमाको आँखाबाट आँसुको बलिन्द्रधारा झर्न रोकिएको छैन। शहीद र बेपत्ताका बाबुआमा नवीन इतिहास रच्ने वीरहरूका जननी भनेर सम्मान पाइरहेका छैनन् । मात्र २५ रुपैयाँको रातो र सेतो ‘ॐ माने पद्मे हुँम् ‘ प्रिन्ट गरिएको खादा बेलाबखत निर्वाचन ताका शहीद र बेपत्ताका परिवारलाई स्टेजमा राखेर ओढाइदिने भन्दा बाहेक शहीदहरुका बाबुको भोटो बदलिएको छैन , शहीदकी आमाको चोली फेरिएको छैन।

व्यवस्थाका भोटाहरू पनि थुप्रै थुप्रै बदलिए तर अवस्थाका फोटाहरू बदलिएनन्। झन् झन् जनताका दुर्दिनहरू बढ्न थाले ।
के यही थियो त हिजोका सपनाहरू ? के यस्तै हो त लोकतान्त्रिक विधिको शासन ? यिनै मर्मका वजह ढलेका थिए त हिजो वीर ,सहिद र योद्धाहरू ? प्रश्नले उत्तर खोज्दा आफ्नै मुटु चिमोट्छ। महान शहीदहरु कमरेड इच्छुक , बालक , सोम , सत्कार , अविरल , सावित्री , आस्था , निर्मला , चेतना , च्याङ्वा , चतुरमान , डम्बर लगायत हजारौं शहीदहरुका हिजोका बलिभेदीका सपनाहरु आज बेखबर साथै मृत पारिएका विडम्बनाकै वजह लोकतान्त्रिक गणतन्त्र कमजोर र शासक सेवाभोगी बनेको सत्यलाई कसरी नकार्नु र ?

प्रकाशित मिति : २०७७ साल असार २७ गते शनिवार

Comment Here!

प्रतिक्रिया दिनुहोस्