Logo

नेपालीको शान ढाका टोपी – सन्दर्भ, टोपी दिवस

वाङ्गो र लिंडे तर्क जत्तिपनि गर्न पाइन्छ तर नेपाल ,नेपाली स्वाभिमान र नेपाली राष्ट्रियताको प्रतीक नेपाली टोपी हो होइन भन्ने खुट्याउनु परे इतिहासको विभिन्न कालखण्डमा नेपालीबाट नेपाली भाषीमा सीमित हुन पुगेका दार्जिलिङ्ग ,आसाम, सिक्किम ,बर्मा र विश्वको कुनै कुनामा बस्ने त्यहाँका नागरिक हुनपुगेका नेपाली भाषीसँग सोधपुछ गर्दा हुन्छ।

लाउँदा मात्रपनि नेपालीजाति भनेर परिचय दिलाउने टोपी नेपाल र नेपाली भावना समेटिएको शिरपोश हो र नेपाली जातिको स्वाभिमान हिमाल झैँ उच्च र अटल छ भन्ने भावनाको परिचायक बन्न पुगेको टोपीले नेपाल झुक्न ,निहुरिन नजानेको स्वतन्त्र अभिबाज्य मुलुकको प्रतिविम्वपनि दिएको छ । नेपाल र नेपाली आफ्नो इतिहाँसको कुनैपनि कालखण्डमा साम्राज्यवादीहरुको पन्जामा कहिल्यै नपरेको प्रतीकका रूपमा भादगाउँले र ढाका टोपी नामले चिनिइ नेपाली शिरमा ठडिने गरेको छ ।

शिरको शोभा भएर नेपालीहरूलाई जाडो र गर्मीबाट जोगाउन प्रयोग गरिने टोपी नेपालीको समग्र मौलिकताको ध्योतक हो । स्वदेश र विदेशमा बस्ने प्रत्येक नेपालीहरू यो विश्वको जुन सुकै कुनामा बस्ने भएपनि त्यो नेपाली संस्कृतिको अभिन्न अंगको रूपमा रहन पुगेको हो । बिर्खे , भादगाउँले , पाल्पाली, माक: तुने ,दमाई , घोप्टे आदि विभिन्न नामले चिनिने टोपीहरु काठमान्डौ उपत्यकामा नेवार भाषी समाजको अस्तित्व देखिएपछि झाङ्गिएर गएको हो ।

राजा महाराजाले शिर पोश / श्री पेंच र आम नेपालीहरूले नेपाल अधिराज्यभरि छरिएर परापूर्वकालदेखि लाउँदै आएका छन् । यसबाहेक नेपालीहरू छरिएर जहाँसुकै रहन पुगेको भएपनि मूल पुस्ताले दिनहुँ ,दोस्रो पुस्ता पर्वमा र नयाँ पुस्ता रहर गरी लाउने गर्दछ। प्रारम्भिक चरण देखिनै भादगाउँमा उत्पादन गर्न थालिएको घरबुना कालोटोपी सुरुसुरुमा लोक्ताबाट तयार पार्ने गरिन्थ्यो भने अचेल

आधुनिकताले छोएपछि सुतीका विभिन्न जातका कपडा मखमल, ढाका, पस्मिना, आदि प्रयोग गरी बनाइने गरिएको देखिन्छ । नेपाली समाजमा प्रारम्भिककालमा बिर्खे टोपी बढी प्रचलित भएको जानकारी पाइन्छ भने यो भादगाउँले टोपीले मल्लकाल देखिनै राज्यको संरक्षण प्राप्त गर्न सकेको हुँदा लोकब्यवहारमा व्यापकता पाउन सकेको देखिन्छ।

प्राचिनकालमा नेपालमा सरकारी सम्मानित व्यक्ति र उच्च पदस्थहरु पगडिको प्रयोग गर्थे , पछि ठुला सरकारी कर्मचारीहरुले आफ्नो ओहोदा अनुसार बिर्खेटोपी समेत प्रयोग गर्न थाले , अनि सुगौली सन्धि भएर नेपाल खुम्चिएपछि पश्चिमा समाजमा भादगाउंले र ढाका टोपी गोर्खाली जातिको पहिरनको रूपमा विख्यात हुन पुग्यो भने शिरमा टोपी र कम्मरमा खुकुरी सिउरिनु गोर्खालीको मौलिक परिचय को रूपमा स्थापित हुन् पुग्यो। आजको दिनमा खास अवस्थामा सैनिक पेशामा जागिर खानेहरुले यसलाई आफ्नो अनिवार्य पोशाकको रूपमा मान्यता दिएको देखिन्छ ।

हाम्रा पुर्खाले आफ्नो पौरखले अर्जेको स्वाभिमानलाई सगरमाथाझैंं अटल बनाउन र गोर्खाली अनुशासन, वीरता र धीरताको प्रतीकको रूपमा टोपीको महत्व स्थापित गरेर लागे तर समय,उद्द्येश्य,ठाउँ र चलन अनुसार नेपालमा प्रयोग गरिने टोपीहरू विभिन्न नामले चिह्निन थाल्यो । त्यसकारण शिरको पहिरन टोपीको उद्द्यश्य ठाउँ अनुसार फरक फरक हुन पुग्यो ।

हिजो अस्तिसम्म नेपालीले प्रयोग गर्ने टोपीको उद्द्येश्य ,आकार , बनावट ठाउँपिच्छे र जातिपिच्छे फरक फरक भेटिएपनि नेपाली वीरता ,शौर्य ,धैर्य र श्रमको प्रतीकको रूपमा स्थापित हुन पुगेको कारण त्यो टोपीको स्वरूप र शैली जाति, क्षेत्र र परम्पराको आधारमा फरक फरक रहेको मानिएपनि जिउँदो वा मरेको मानिसलाई सम्मान गर्दा शिरबाट झिक्ने ,भान्सा छिर्ने वा खानेबेलामा पट्याएर राख्ने , आशौच बार्दा निकाल्ने र मल्हामी जाँदा शिरबाट हटाउने गरिन्थ्यो भने झगडा पर्दा कसैको शिरको टोपी थुत्नुलाई उक्त थुतिने व्यक्तिको बेइज्जती गरिएको सरह हेरिने चलन थियो।

नेपालका शाहवंशीय राजाहरूले के गरे के गरेनन त्यो कुरा आउने पिँढीले मूल्याङ्कन गर्दै जाला तर भादगाउँले टोपी लागाउने चलन तिनकै अग्रज पुस्ता बुढामाहाराज पृथ्वीको भक्तपुर विजयपश्चात चल्तीमा आएको थियो भन्नेकुरा कुनै पनि स्वाभिमानी नेपालीहरूले बिर्सिने छैन। उपत्यकाबाट मल्ल राज वंश विस्थापित गरेपछि बुढामहाराजले आफूलाई समायोजन गर्न मल्ल राजाहरुको लवाइ खवाई र संस्कृतिपनि स्वीकार गरेर देखाएका थिए ।

त्यसैगरी पश्चिम राज्य पाल्पा नेपालमा एकीकृत हुन पुगेपछि शाह वंंशीय राजाहरूले मात्र होइन समग्र नेपाल र नेपाली जातिले पाल्पाली ढाकाको टोपी लगाउने चलन चलेको थियो । शाह वंशले नेपालको राष्ट्रिय अखण्डता महत्वपूर्ण बनाउन जुन ठाउँमा एकीकरण गर्दै गयो त्यहाँको जनताहरुको संस्कृति र संस्कार संरक्षण गर्ने नीति अख्तियार गर्दै जाँदा शाहकालीन राजाहरूले अंगालेको नीति र संस्कृति नेपाली मौलिक संस्कृतिको द्द्योतक हुन पुग्यो ।

गणतन्त्र अघि सम्म नेपाली पोशाक, दौरा सुरुवाल र ढाका टोपीले यो विश्वमा नेपाल र नेपाली भावनाको प्रतिनिधित्व गर्दथ्यो तर नेपाली संस्कृति, भाषा, धर्म र जातजाति माथि सुनियोजित प्रहार गर्न गणतन्त्रले थालनी गरेपछि नेपाल नेपालीको पहिचान बनेका सम्पूर्ण कुराहरू भताभुङ्ग पार्ने नीति अंगालिदा राष्ट्रिय पोशाक र टोपीको महिमा धाराशायी हुन पुग्यो ।

ढाका र बिर्खे टोपीको इतिहास 

इतिहास कोट्याउँदा तत्कालीन नेपालको सेन वंश बङ्गालबाट नेपाल छिरेको थियो । त्यतिखेर नेपालमा खश साम्राज्य थियो । आजको बाङ्ला देशको राजधानीको नाउँ ढाकाबाट सेन राजाहरु नेपाल भित्रिएर राज्य स्थापना गरेपछि उनीहरूले बोकेर ल्याएको संस्कृति ढाकाको चलन पाल्पामा स्थापित भयो र नेपालभरी फैलिन पुग्यो।नेपालमा रहेको तत्कालीन खस राजवंशको पतन हुन पुगेपछि पाल्पा राज्यमा मणि मुकुन्द सेन स्थापित हुन् पुगे जसले नेपालमा सेन वंशको जग हालेका थिए ।फुर्को बिर्खेटोपी टर्कीबाट १५ औँ शताब्दीमा राजा रत्न मल्लको समयमा नेपालमा मुसलमानहरु काश्मीरबाट झिकाईएपछि काठमाडौँमा भित्रिएका मुसलमानाहरु त्यै तुर्की टोपी लाउने गरेका र पछि टर्कीको अग्लो टोपी होचिएर फुर्के को ठाउँमा बिर्खे राखी तनहुँ राम्घाका भानु र काठ्माण्डुका मोतीराम सम्मको शिरको शोभा हुन पुगेको थियो ।

              -प्रवीण अधिकारी

प्रकाशित मिति, २०७४ साल, पौष १७ गते सोमवार

प्रतिक्रिया दिनुहोस्