Logo

बाजे

                                                               दुर्गाबहादुर शाह ‘बाबा ‘

म प्रमाणपत्र तह अध्ययनको  लागि वालिङ्  बहुमुखी क्याम्पस, स्याङ्जामा पहिलो ब्याचको विद्यार्थीको रुपमा भर्ना भएको थिएँ वि.सं २०३७ मा । पढाइलाई मात्रै ध्यान नदिएर छुट्टीको समयमा कुनै न कुनै नयाँ ठाउँमा घुम्न जाने योजना हामी साथीहरुका बीच वनाईरहन्थ्यौं । यसैक्रममा एकदिन शनिबार माघको महिना पहारिलो घाम ताप्दै हामी केही साथीहरु भुम्रे वजारको उत्तरतर्फ आँधीखोला तरेर पारीपट्टिको डाँडाँमा घुम्न गयौं । त्यो दिन घुम्दै जाँदा एकजना मगर थरको घरमा पुग्यौं । उनको घरमा भर्खरका कुकुरका सेतो र कालो रङका  दुईवटा छाउराहरु रहेछन् । ती छाउराहरु पुच्छर हल्लाउदै मसँग पो निक्कै रमाउँदै खेल्न थाले । ती दुई मध्ये एउटा सेतो रङ्को छाउरो मलाई साह्रै मन पर्यो । मसँग गएका साथीलाई भनें,मलाई यो सेतो छाउरो साह्रै मन पर्यो लौन मिलाई देऊ । तर अर्कैलाई वचन दिइसकेकाले कुकुर मालिकनीले ति छाउराहरु मलाई दिन मानिनन् । मलाई एउटा कुकुर साथी चाहिएको थियो किन भने प्रमाणपत्र तहको पढाई सकिएकाले म घरमै केही काम गर्न चाहन्थेँ । यसैले पनि मेरो चाहनालाई बुझेर होला मसँग गएका मेरा मित्र कृष्ण श्रेष्ठ,अनि श्रेष्ठ, टोपे माईलाले अनेक जुक्ति निकालेर सेतो रङको छाउरो मलाई दिलाइछाडे ।

                    केही दिन मेरो डेरामा राखेपछि त्यो सेतो छाउरालाई मेरो घर ठूलाडिही ल्याएँ । सेतो रंगको भएकोले सबैले सेते भनेर बोलाउन थाले । तर मलाई सेते नभनी ‘बाजे’ नामले संबोधन गर्न मन लाग्यो । यसको कारण मेरो आफ्नै बाजे (जीजुबुबा) खड्कबहादुर शाह म जन्मनु पूर्व नै स्वर्गवास भैसक्नु भएकाले उहाँको सम्झनामा यो नाम राख्ने अठोट गरेको थिएँ ।  तर ब्यबहारमा यो सम्बोधनले निक्कै अप्ठ्यारो पो पार्यो । मेरो बाजे खड्कबहादुर शाह परलोक भएपनि मलाई ज्यादै माया गर्ने र केही व्यवहारिक ज्ञान सिकाउनुहुने मेरो जीजुबुबाको कान्छो भाइ अर्थात मेरो कान्छा जीजुबुबा हाल ९४ बर्षको समाजसेवी/राजनीतिज्ञ छिमबहादुर शाह जीवितै भएकाले कुकुरको नाम ‘बाजे’ नामाकरण हुँदा केही असमाञ्जस्य स्थिति पैदा भने भयो । केही नारद स्वभावका व्यक्तिले कुकुरको नाम पनि ‘बाजे ‘राखिदिएर बाबु दुर्गाले अपमान गरे भनेर कान्छा जीजुबुबालाई कुरा लगाइदिए  । तर हाम्रो विचार असल भएकाले नाति बाजेबिच कुनै किसिमको असमझदारी भएन । उहाँलाई म मेरो आफ्नै जीजुबुबा मान्दथें र मान्दै पनि आईरहेको छु । उहाँको माया, सद्भाव र आशिर्वाद अहिले पनि मेरा प्रति उत्तिकै  छ ।

          हामीले कुकुर बाजेलाई वोलाउँदा बाटोमा घाँसको डोको वोकेर हिड्ने देखि लिएर भद्रभलाद्मी, सन्तमहन्त र सवै सुन्ने जतिले टक्क अडिएर किन बोलाउनु भयो भनेर हेर्दथे, पछि आफैँले कुरा बुझे पछि, ए कुकुरलाई पो रहेछ  भन्दै हाँस्दै आफ्नो बाटो लाग्दथे । यी घटनाहरुले भने सबैलाई हाँसो उठाउँथ्यो । बाजे भनेर सम्बोधन नगरेसम्म कुकुर ‘बाजे’ पनि आउँदैनथ्यो ।

               जव म प्रमाणपत्र तहको पढाई सकेर विदामा घर बस्नुप¥यो तव मैले कृषि क्षेत्रलाई निकै महत्व दिएर काम गर्न थालेँ । मेरो व्यक्तिगत भन्दा पनि समाजमा कृषिप्रति सकारात्मक सोच जागोस् भन्ने थियो । जे खेती गरे पनि हुँदैन,पढेलेखेको र ठुलाठालुले खेतीको काम गर्यो भने सानो भइन्छ भन्ने धारणा जनमानसमा भएको मैले पाएँ । त्यसैले अब म यस क्षेत्रमा पनि उदाहरणीय बन्नुपर्छ  भन्ने लाग्यो । मैले पहिले नै चारपाते क्लवको सदस्य भएर कृषि सम्बन्धी तालीम लिई काम समेत गरिसकेकाले मलाई काम गर्न सजिलो भएको थियो । तरकारीखेती, वाख्रापालन, धान, गहुँ र सुन्तला खेतीमा विशेष ध्यान दिन थालें । पानीको सुविधा नभएको ठाउँमा आधा घण्टाको बाटोबाट गाग्रोमा पानी वोकेरै भएपनि तरकारी खेती गरेँ मैले । राम्रो चरन भएकाले बाख्रापालन पनि सफल भयो । धान खेतीका लागि सिंचाइ, मलको राम्रो व्यबस्था गरेकाले उत्पादनमा निक्कै बृद्घि भयो । गहुँ खेतीमा राम्रो गरेकाले कृषि कार्यालयवाट पुरस्कार पनि प्राप्त गरें । घर अगाडि सुन्तलाको सुन्दर वगैचा थियो । आँगनीको डिलवाट आफ्ना बगैँचामा पाकेर लटरम्मै भएका सुन्तलाका दाना टिपेर खाँदाको आनन्द नै अर्कै हुन्थ्यो । रातको समयमा मन्द गतिमा चलिरहेको हावाको लहरसँगै पारीवनमा गोलसिमल चरीको आवाज आइरहेको हुन्थ्यो र सो मधुर आवाज सुन्दै निदाउँदा मलाई साह्रै आनन्द लाग्दथ्यो । त्यसमाथि मलाई यी तमाम काम सुसम्पन्न गर्नका लागि  हर क्षण इमानदारीतापूर्वक साथ दिइरहन्थ्यो मेरो प्रिय कुकुर ‘बाजे’ ले । असार महिनाको एकदिनको कुरा हो ।  करीव रातको ११ बजे मेरो ओच्छ्यानको नजिकै आएर ‘बाजे’ एकोहोरो भुक्न थाल्यो ।  यसो यताउति नियाली हेरें केही देखिन । यसो निदाउँन खोज्छु झन् झन् मेरो सिरानिमै आएर भुक्यो सुत्नै दिएन । म उठेर हेरेँ केही देख्दिन बाजेले अति नै गरे पछि मेरो बुबाले समेत आएर हेर्नुभयो तर केही देख्नु भएन । त्यतिकै भुकेको होला भनेर म सुतेको मात्र थिएँ बाजे उसरी नै भुक्न थाल्यो ।  अनि मलाई शंका लाग्यो र उठेर मेरो ओच्छ्यानको सबैतिर हेर्न थालेँ । ओहो  मेरो सिरानीमा त एउटा ठूलो सर्प पो गुडुल्किएर बसेको रहेछ ।

            मलाई अहिले त्यो दिन सम्झदा शरीर जिरिङ्ग भएर आउँछ । त्यो रात बाजेले मलाई मृत्युबाट जोगाएको थियो । ‘बाजे’ मेरो साथी मात्र नभई मेरा लागि भगवान भएर आएको रहेछ जस्तो लाग्यो र मनमा ऊँ प्रति अझ बढी मायाको पहाड चुलियो । मेरा सबै भावनाहरु बुझ्दथ्यो । म पनि उसका सबै भावना र मर्महरु बुझ्ने कोशिस गर्दथें ।  म जागिरको दौरानमा घरवाट निस्कने बेलामा कहिल्यै पनि निराश नदेखिएको बाजे साह्रै माया लाग्दो र निराश देखिन थाल्यो । मलाई पनि उसको धेरै नै चिन्ता लाग्यो । उसको मायाभन्दा पनि मेरा केहि अठोट  पुरा गर्नु थियो । म बाजेलाई त्यतिकै छोडेर जागिरको खोजी.तिर लागेँ ।

             म केही समय पछि  घर फर्कें त्योबेला बाजेको हाड र छाला मात्र बाँकी थियो । मलाई देख्नेबित्तिकै बाजे कुदेर आयो र मेरो काखमा बस्दै उसले बररर आँसु पो झार्यो । मैले पनि बुबाले,”लौराले हान्दा गाईवस्तुले ऐया भन्दैन, पिडाको अनुभूति मात्रै गर्छ ” भनेको कुरा सम्झिएँ । बाजेले हाम्रा पुराना दिनहरुको याद गराएको थियो त्यसदिन । यही नै ऊसँगको अन्तिम भेट थियो ।  दुर्गाले जस्तै पढेर पनि खेतीपाति गर्ने हो भने त किन पढ्नु पर्यो भनेर एक जना गाँउका मान्छेले आफ्ना छोरालाई भनेको मेरो कानले सुन्यो  मेरो मन छोयो, भएन अब जागिरे पनि भएरै देखाउछु लाग्यो ।

        त्यसपछिका दिनमा म जागिरमा लागें । यही कारणले बाजे र मेरा ती रमाईला क्षणहरुलाई थाति राखेर वाध्यतावश बाहिरिनु परेको थियो म । मलाई यति धेरै गुण लगाएर ‘बाजे’ यो धर्तीबाट सदाका लागि विदा पनि भएको छ । धेरै पहिले देखि नै बाजेको सम्झनामा केही लेख्छु भन्ने सोचेको थिएँ । उ विदा भएर गए तापनि उसले मलाई केही पाठ भने अवश्य दिएर, सिकाएर गएको छ । इमानदारिता, सहनशीलता, माया, सद्भाव र अभावमा पनि  रमाउन जान्ने कला दिएर गएको छ । आज उसको साक्षी रुपमा म यस धर्तीमा उभिएको छु । मृत्यु पछि पनि अर्को कुनै संसार छ भने म उसँग पुनः भेट्ने आशा पनि राखिरहेको छु । महात्मा गान्धीले आफ्नो आत्माकथामा भनेका छन् “मानिस किन बढी वोल्छ, मलाई त कम बोलेरै बढी फाइदा भएको छ ।” मेलै यहाँ चर्चा गरेको ‘बाजे’ त मसँग झन् कहिल्यै पनि बोलेन, केवल व्यवहारबाटै मेरो मन जित्यो । मानिस मानिसका बिच पनि यस्तै व्यवहार भैदिएको भए यो संसार कत्ति शान्त र सौरम्य हुने थियो होला । ज्याँ ज्याक रुसोले आफ्नो आत्मवृत्तान्तमा भनेका छन् “मलाई ठूला मान्छेसँगको परिचयले जीवनमा केही फाइदा पुगेन ।” मेरा लागि पनि ठूला भनिने व्यक्तिहरुवाटभन्दा असल विचार भएका मनहरुवाट धेरै कुराको ज्ञान हासिल भएको छ । उनीहरुबाट मैले जिउने कला सिकेको छु, जीवन के हो बुझेको   छु ।

         सरकारी संस्थानमा जागिरका लागि दर्खास्त दिदा आफूले चिनेका ठूला ब्यक्तिहरुको नाम लेख्नु पर्थ्यो । मैले केही ठूला भनिएकाहरुका नाम लेखिरहेँ तर कहिल्यै सफल भइन । मलाई लाग्यो, संस्थानमा अव दर्खास्त दिदा ठूला मान्छेको नाम होइन की मेरा घर नजीकका कृषिक्षेत्रमा सर्वाेत्कृष्ट भएका कृषकको नाम किन नलेखूँ । नेपाल राष्ट्र बैंकको जागिरका लागि भरेको फर्ममा मैले कृषक शिवप्रसाद शर्माको नाम राखिदिएँ । मेरा लागि ठूला मान्छे भनेका उनै कृषक शिवप्रसाद शर्मा बने र म सो जागिर पाउँन सफल पनि भएँ । मेरो दुई हरफ कविता संग्रहमा समावेश गरिएको एउटा शिर्षक छ  “भो म त कृषक बन्छु” । म जहिले पनि कृषकमा नै स्वाभिमान, परिश्रमी र जीवन्तपन   देख्दछु । मेरो जागिरे जीवनको अवकाशपश्चात पनि म कृषि पेशामै फर्कने विचारमा छु । त्यो समयमा ‘बाजे’ जस्तै साथीको खोजी पनि हुनेछ मबाट ।

             जीवनलाई सरस र सजिलो बनाउनका लागि पहिले त आफैले वातावरण मिलाउन पर्दोरहेछ । भनिन्छ, दुखको पहिलो कारण भनेको आफू नै हो । कैयौँ कुराहरु यस्ता छन् कि जस्लाई प्राप्त गर्न पैसा तिरीरहनु पर्दैन । जीवनका दौरानमा केही यस्ता अनुभूतिहरु हुन्छन् जस्लाई बिर्सन खोजे पनि बिर्सन सकिँदैन बरु झन मानसपटलमा चिरस्थायी ‘बाजे’ झै भएर बास जमाईरहेको हुन्छ । हामी जस्ता साहित्य अनुरागीलाई यस्ता कुराहरुले छुन्छ अनि मात्र कलम चल्छ ।

              अहिले तस्वीरमा मसँग भएको काले कुकुरको मालिक अर्कै हुनुहुन्छ तर हरेक क्षणमा यो मेरो घरमा आएर मलाई मात्रै होईन हाम्रा सवै परिवारलाई यस्तो आत्मीयता दिएर जान्छ कि जुनकुरा म यहाँ बर्णन गर्नै सक्दिन । यो कालेकुकुरको मालिक दुई बर्ष पहिला हाम्रो घरमा भाडामा बस्नु भएको  थियो । त्यसबेला यससँग पनि हाम्रो सामिप्यता रह्यो । अहिले उहाँहरु घर सरेर गईसक्नुभएको छ । तर पनि काले हामी कहाँ आइरहन्छ बारम्बार । दुखको कुरा के भयो भने यो कालेलाई न हामीले हाम्रो भनेर यहाँ राख्न सकेका छौं न उसले नै यो मेरो मालीक हो भनेर बस्न सकेको छ । त्यहाँ मिठो चोखो खान पाउँदा पाउँदै, टाढा बसाई सरेर पनि साङ्लाको घेरा तोडेर,त्यो किन हाम्रो घरमा आइरहन्छ होला ? मलाई के लाग्छ भने जे चिजलाई पनि मनले बाँधेको मात्र दिगो हुदो रैछ लाग्यो । यो काले यसरी मेरो घरमा आइरहँदा झन धेरै सम्झिन पुग्छु र भन्न मन लाग्छ कतै मेरो मनमा कहिल्यै नमेटिने छाप बनेर बसेको अर्को रुप  यो काले ‘बाजे’ त होइन ?

 

प्रतिक्रिया दिनुहोस्