Logo

कोभिड -१९ र ब्यबहारिक शिक्षा

शिक्षा जीवनपर्यन्त चलिरहने प्रक्रिया हो। समय र परिस्थिति अनुरूप शिक्षा लिने र दिने प्रक्रिया फरक फरक हुन्छ। मानव सभ्यताको उत्पत्ति र विकास सँग सँगै ज्ञान र सिपलाई स्थानान्तरण गर्ने विधि र तौर तरिका फरक फरक ढंगबाट विकसित भएको पाइन्छ । शिक्षाको विकास व्यवहारिक शिक्षाको माध्यमबाट अगाडी बढेको पाइन्छ ।आदिम युग अर्थात् जंगली युगमा जीवन जिउनको लागि आफ्ना अग्रज बाबु आमा बाट छोरा छोरीमा स्थानान्तरण हुने ज्ञान सिप शिक्षा थियो । खानाको लागि शिकार गर्न जानु ,धारिलो हतियार बनाउनु ,रुख चढ्न जान्नु , खान हुने खान नहुने कन्दमूल चिन्नु , ओखतीमुलो चिन्नु आदि कुराहरू व्यवहारिक जीवन उपयोगी शिक्षाको रूपमा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई हस्तान्तरण गरेको पाइन्छ।

मानिसले प्रकृतिले दिएका उपहारको बारेमा खोजी गर्न थाल्यो । ज्ञानको खोजी गर्ने व्यक्ति गुरु कहलिए । त्यसपछि गुरु चेलाको सम्बन्ध बाट ज्ञान स्थानान्तरण गर्ने र सिप सिकाउने प्रचलन आयो , जसलाई हामी गुरुकुल शिक्षा भन्दछौ । जुन शिक्षाले जीवन जिउने कला, युद्धकला , सिक्ने, जीवन र जगतलाइ बुझ्ने , प्राकृतिक उपहारको खोजी गर्ने आदि कुरामा निपुण हुनको लागि गुरु बाट चेलाले ज्ञान र सिप आर्जन गर्ने गर्दथे । चार दिवार भित्र थुनेर औपचारिक शिक्षा प्रदान गर्ने प्रचलन आए पछि खोज अनुसन्धानबाट जीवन र जगतलाइ बुझ्ने र प्रकृतिलाई बुझ्ने भन्दा पनि अरूले गरेको खोज अनुसन्धानका तथ्यहरूलाई बासी पुराणको रूपमा रट्ने अर्थात् याद गर्ने र परीक्षामा धेरै अङ्क ल्याउने होडबाजीले गर्दा हाम्रो जस्तो अविकसित मुलुकहरूमा व्यवहारिक सिप मूलक शिक्षा ओझेलमा पर्दै गयो । जसले गर्दा अनुत्पादक शिक्षा मौलाउँदै गयो ।

जसको परिणाम स्वरूप दुई तिन ओटा डिग्रीका सर्टिफिकेटलाई झोलामा थन्क्याएर खाडी मुलुक र विकसित मुलुकहरूमा जीविकोपार्जनको लागि पलायन हुनु पर्ने परिस्थितिको सिर्जना भयो । घर परिवार र समाजले समेत बासी पुराण याद गरेर प्राप्त गरेको अङ्क र सर्टिफिकेटलाई उपलब्धि मानिन थाल्यो ,जसको परिणाम स्वरूप मानिसले आफ्नो उत्पादन मुलक काम बिर्सियो , खोज अनुसन्धान बिर्सियो , संस्कार र रीतिरिवाज बिर्सियो ,घरको काम , खेत बारीको काम ,करेसाबारीको काम ,लगायत जीवन उपयोगी सीपहरू सबै बिर्सियो । आज विश्वभरि फैलिएको अदृश्य शक्ति कोभिड (१९ ले बिर्सिएका सबै कुराहरूलाई सम्झाई दिएको छ । शक्ति र धनबाट सम्पन्न मुलुकहरू जसले प्रकृतिलाई दोहन गरी मानव सभ्यतालाई नै सङ्कटग्रस्त बनाएका थिए ,तिनीहरूलाई सबक सिकाएको छ ।जीवनको पर्बाह नगरी मेसिन जस्तै बनेको मानवलाई आराम गर्न सिकाएको छ ।

जीवन जिउनको लागि नभै नहुने अन्न बाली उत्पादन गर्न छाडेर आणविक बम हतियार बनाउने ,औध्योगिक क्रान्तिको नाममा वातावरणलाई प्रदूषण गर्नेहरूलाई खाध्यान्न के हो र प्राकृतिक शक्ति के हो भन्ने कुरा बुझाइदिएको छ आफ्नो देश र परिवार बिर्सनेहरुका लागि देश र परिवारको महत्व बुझाइ दिएको छ । कृषि पेशालाइ सम्मानित बनाएको छ प्राकृतिक वातावरणलाई सन्तुलन गरिदिएको छ । तसर्थ कोरोनाले मानिसलाई नयाँ तरिकाले सोच्न बाध्य बनाएको छ । मानिसको अहं दम्भ र घमन्डलाई तोडिदिएको छ । यो अदृश्य प्राकृतिक शक्ति मानव सभ्यताको संरक्षणको लागि आएको छ भन्दा अतिशयोक्ति नहोला।

आज कोभिड १९ का कारण चार दिवार भित्र दिइने औपचारिक शिक्षालाई नकाम बनाइदिएको छ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया भएकोले समय परिस्थिति अनुसार शिक्षा लिने र दिने प्रक्रियामा पनि परिवर्तन गर्न जरुरी छ । नेपाल सरकारले पनि यो विषम परिस्थितिमा वैकल्पिक विधिको प्रयोग गरेर शिक्षण गर्ने कुरालाई सुधारिरहेको छ । कोबिडका कारण शिक्षालाई जीवन उपयोगी र व्यवहारिक बनाउने अवसर पनि प्राप्त भएको छ।अब हामीले बालबालिकालाई दिइने शिक्षा कोरा किताबी ज्ञान नभएर उसको जीवन जिउने सिप र सिप आर्जन गर्ने कलालाई मूल्याङ्कन सँग जोडिनुपर्दछ ।अब सोधिएको उत्तरमा अंक दिने नभएर उसको व्यबाहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्नुपर्दछ खाना खानुभन्दा अगाडी साबुन पानीले हात धुनुपर्छ भनेर लेखिएको उत्तरमा अंक दिने र मूल्याङ्कन गर्ने होइन साबुन पानीले हात धोएको छ कि छैन भनी मूल्याङ्कन गर्नुपर्दछ रमाइलोको लागि कथा पढ्न सिकाउने मात्र होइन कथाले दिन खोजेको सन्देशलाई व्यबाहारमा उतारेको छ कि छैन भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ ।

कोभिड (१९ को कारणले शैक्षिक सत्रको करिब पाँच महिना खेरा गइराखेको छ। विध्यार्थीहरुलाई विध्यालयमा भौतिक रूपमा उपस्थित गराएर शिक्षण गराउने र पेपर पेन्सिल टेस्ट बाट मूल्याङ्कन गर्ने अवस्था छैन यस्तो अवस्थामा शिक्षालाई विध्यार्थीहरुका दैनिक जीवन सँग उपयोगी हुने सिकाई लाई यस वर्षको शिक्षणको मूल्य आधार बनाउनु पर्दछ ।आधुनिक विधि र प्रविधिको पहुँच सबै विध्यार्थी सँग छैन र त्यो राता रात हुने कुरा पनि होइन ज्ञान र सिप स्थानान्तरण गर्ने सबै विकल्पहरूलाई खुल्ला राख्दै विध्यार्थीहरुको व्यबाहारमा परिवर्तन ल्याउने उत्तम विधि परियोजना कार्य नै हो सबै विषय बस्तुलाई समेटेर सबै विषय बस्तुलाई समेटेर परियोजना कार्य दिने उक्त परियोजना कार्य गर्नको लागि घर परिवार र शिक्षकले मार्ग निर्देश तथा सहजीकरण गर्ने उक्त परियोजना कार्य बाट विध्यार्थीको व्यवहारमा आएको परिवर्तन लाई मूल्याङ्कन गर्ने ।

आजको शिक्षाले हाम्रा बालबालिकाहरू परनिर्भर भइरहेका छन् परनिर्भरताबाट आत्म निर्भर गराउने खालको व्यवहारिक शिक्षा आजको आवश्यकता हो कोभिड (१९ ले हाम्रो शिक्षा प्रणालीलाई त्यस तर्फ अग्रसर गराईरहेको छ । तर हामी पुरानो शैलीको शिक्षा दिन र लिन नपाउँदा छटपटाई रहेका छौ शैक्षिक सत्रको बाँकी रहेको अवधिलाई पूर्ण रूपमा सदुपयोग गर्दै वैकल्पिक विधिको माध्यमबाट हाम्रा बालबालिकालाई ब्यबहारिक र जीवन उपयोगी सिप सिकाउनु आवश्यक छ उदाहरणको लागि गणित विषयको शिक्षणलाई सेतो पाटी र मार्करमा सीमित गर्दा गणित विषयलाई विध्यार्थीले बोझको रूपमा लिएका हुन्छन्, यसलाई व्यवहारिक जीवनसँग जोड्न सक्नु पर्दछ ।हामीले प्रयोग गर्ने बस्तुहरू ज्यामितीय आकारका हुन यिनीहरूको आकार , प्रकार , नाप ,तौल ,क्षेत्रफल, आयतन आदिको बारेमा परियोजना कार्य दिने , विध्यार्थीले दैनिक रूपमा बजार गएर खरिद गरिने बस्तुको मूल्यमा हुने छुट नाफा नोक्सान आदिको बारेमा परियोजना कार्य दिन सकिन्छ आफ्नो घर परिवारको आम्दानी ऋण धन ब्याजको बारेमा परियोजना कार्य दिएर गणितका विषय बस्तुहरूलाई व्यवहारिक ढंगबाट सिकाउन सकिन्छ यसरीनै सबै विषयको विषय बस्तुलाई समेटेर परियोजना कार्यको माध्यमबाट व्यवहारिक र जीवन उपयोगी शिक्षाको जगलाइ बलियो बनाउन सकिन्छ जसको परिणाम स्वरूप सिप मूलक जनशक्ति उत्पादन भई परनिर्भरता हट्ने छ भने अर्कोतर्फ खेर जान लागिरहेको शैक्षिक सत्रलाई उपयोग गरी विध्यार्थीको भविष्यलाई अगाडी बढाउन सकिन्छ ।

प्रकाशित मिति, २०७७ साल असोज ६ गते, मंगलवार

लेखक, ऋषिराम सापकोटा, श्री ज्ञानोदय नमुना मा वि खजुरा बाँकेका प्रधानाध्यापक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्