कविता – मायाको सुन्दर स्वाद
-सरिता पराजुली
लामो अन्तरालपछि
जिन्दगीको आधा बाटोमा
एक्कासि तिमी मेरो सामु
चहकिलो नक्षत्र बनेर उदायौ
मौन रह्यौ
आँखै आँखाले धेरै सोध्यौ मसँग
मेरो हात समातेर
मलाई एकोहोरो हेरिरह्यौ
मैले भने सालिकले झैँ
एकोहोरो तिमीलाई हेरिरहेँ
मनभरी
सुकिला बादलहरू उडिरहे
सुवासका बतासहरू चलिरहे
डाँडाबाट फुत्त ओर्लेको पूर्णेको जून
अँगालोभरि ओर्लेझैँ
काउकुति लाग्ने तातो भेटेँ तिम्रो मन्द मुस्कानमा
तिम्रो मायाको बर्षामा
सिँचित हुन थालेँ म
तिमीले गरेको गोडमेलले फूल्न थालेँ म भित्रैदेखि
फक्रन थालेँ म मुटु र मनदेखि
तिम्रो मायामा कुन जादु छ कुन्नि ?
तिम्रो प्रेमिलरस भेटेपछि
लहलहाउन थालेका छन् मेरो जीवनका बगैँचाहरू
म तिम्रो पवित्र सरिता
म तिम्रो क्षण क्षणको उचाइ
आऊ बग मेरो बेगमा जीवनको अन्तिम भित्तोसम्म
वा चढ निस्फिक्री जीवनको सर्वोच्च आनन्द लिँदै
म रंग भर्न चाहन्छु तिम्रो प्रेमिल प्यासलाई
तिमी छौ र रंगीन छ यो सारा संसार
म तिम्रो मुटुसम्म पसेर
भिज्न चाहन्छु संसारकै बेग्लै प्रेम रसमा
तिमीलाई भेटेपछि
संसारनै रंगीन लागेको छ मलाई
तिम्रो मायाको स्वादले
मात लाग्छ मलाई
र पाइरहेछु मीठो ,मीठो र सबै मीठो
जीवनको आधा बाटोमा तिमीलाई भेटेपछि
मेरो जीवनमा फक्रियो
मायाको अमीट रंग
आखिर तिमीबाटै पाएँ मैले
जीवनको असाध्यै सुन्दर स्वाद
(बालकोट ,भक्तपुर)
प्रकाशित मिति- २०७७ साल भाद्र २९ गते,सोमवार