Logo

बन्दाबन्दीपछि घरमै थुपार्न थालियो पैसा

बजारमा नोटको माग ह्वात्तै बढ्यो

कारोबार आज ,२०७७ साल साउन २३ गते, शुक्रबार काठमाण्डौं – बन्दाबन्दीपछि बजारमा नोटको माग ह्वात्तै बढेको छ। कोरोनाभाइरस संक्रमणको महामारीले निम्त्याएको संकट बढ्दै जाँदा सर्वसाधारणले आफैंसँग बढी नोट ‘होल्ड’ गरेर राख्ने प्रवृत्तिले नोटको माग बढाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार, २१ साउन सम्ममा बजारमा रु. ५ खर्ब ९० अर्बका नोट चलनचल्तीमा छन्। माग बढेपछि राष्ट्र बैंकले पछिल्ला २० दिनमा मात्रै बजारमा करिब १० अर्बको नोट चलनचल्तीमा थपेको छ। अहिले ठूलो दरका नोटको माग बढी छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बैंकबाट निकालेको रकम फेरि बैंकमैं फिर्ता नभइरहेको बताए। उनले भने, “सर्वसाधारणमा के पर्ला, के पर्ला भन्ने शंका बढेकाले नोट आफैंसँग राख्ने प्रवृत्ति देखायो।”

बन्दाबन्दी शुरु हुनुभन्दा अघि, १ चैतमा रु. ५ खर्ब २८ अर्बका नोट चलनचल्तीमा थिए। बन्दाबन्दीपछि आर्थिक क्रियाकलाप ठप्प सरह भए पनि नोटको माग झन् बढ्दै गयो। त्यसयताका साढे चार महिनामा करिब ६० अर्बभन्दा बढी नोट चलनचल्तीमा ल्याइसकिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालका अनुसार, हरेक वर्ष करिब रु. ६० अर्बजतिको नोट चलनचल्तीमा बढ्ने विगतको प्रवृत्ति छ। तर, गत आर्थिक वर्षमा भने पहिलेको प्रवृत्तिका तुलनामा थप रु. १५ अर्ब हाराहारीमा बढी नोट बजारमा गएको छ। स्वास्थ्य असुरक्षाको आशंका बढ्दै जाँदा सर्वसाधारणले आवश्यकभन्दा बढी नोट घरमैं राख्न थालेको अनुमान गरिएको छ।

बजारमा नोटको माग लगातार बढिरहेपछि राष्ट्र बैंकले गत जेठमा जलाउने निर्णय गरेको पूराना नोटलाई फेरि चलनचल्तीमा ल्याउने निर्णय गरेको थियो। बजारमा नोटको अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले त्यस्तो निर्णय गरेको थियो। छपाइ प्रकृयामा रहेका नोट आउन ढिलाई हुनसक्ने सम्भावना तथा बजारमा ठूला दरको नोटको माग बढेको देखिएपनि राष्ट्र बैंकले जलाउने निर्णय फिर्ता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्