Logo

हाम्रा हरेक बस्ती विश्व पर्यटनको लागि इमेजिनरी ड्रीमल्याण्ड हुन्

“हामीले चाहेको देशको व्यवस्था यस्तो अवस्थाको हैन। जहाँ जनता मालिक र सत्तामा बस्ने व्यक्ती जनताको सेवक हुनुपर्छ अनि मात्र लोकतन्त्रको नवीन राज्यको सुन्दर अनुभूति जनताले गर्न पाउनेछन् । देश बनाउने खाले दल बन्यो भने ७० लाख युवाले विदेशमा श्रम बेच्नुपर्दैन। विदेशमा श्रम बेचिरहेका हाम्रा युवायुवतीले विदेशमा मासिक जति कमाउँछन् त्यसको ५ गुणा बढी श्रमको मूल्य आफ्नै देशमा पाउँछन् । बृध्द्दाश्रममा बस्ने ती असहाय बा आमाहरूकै खातामा १५/२० लाख ब्यालेन्स हुन्छ। युवाहरू जति कोही खेतीपातीमा कोही व्यापारमा ,कोही पर्यटनमा बाहिर देखि विदेशी श्रमिक ल्याउनुपर्ने हुन्छ। मानिसहरू हरक्षेत्रमा मेशिनझैँ चलिरहेका हुन्छन् । त्यो अवस्थामा हाम्रो देशको सत्ता भोलुन्टर सत्ता हुन्छ । राजनीतिमा लाग्नेहरू कम मात्रामा हुन्छन् । देशको माया गर्ने लोभ लालच नभएका मान्छे प्रधानमन्त्री बन्छन् । हाम्रा दाजुभाइ दिदीबहिनी त्यति बेला संसार घुम्ने पर्यटक बनिसकेका हुन्छन् । श्रमदानमुखी सत्तामा भ्रष्टाचारका सपना दिवा सपना बन्छन् । हामी  त्यो दिनको पर्खाइमा छौँ जुन दिन त्यस्तो नयाँ बिहान आउँछ त्यसपछि आफ्नै मृत्युपनि मीठो हुन्छ । मृत्यु एकैखाले हुँदैनन् ,कति मृत्यु त कर्तव्य पूरा गर्दा नगर्दै अल्पायुमा नै मर्छन्। कति मृत्यु चिन्तै चिन्तामा भएका हुन्छन् ।”

                        -लक्ष्मण चौलागाईं विद्रोही

व्यवस्था बदल्दैमा कुनै तप्का पुरै दुश्मनजस्तो, कुनै तप्का एउटै परिवारको सदस्यजस्तो, कुनै तप्का प्रतिपक्षजस्तो ,गणतन्त्र भनिएको व्यवस्था अरे ,जातिको नाममा कोटा ,जातीयतालाई प्रश्रय दिने खाले जातीयताका संघीय राज्य । हामी सबै मानव जाती हौँ भन्ने सन्देश दिन नसकेको लोकतान्त्रिक गणतन्त्रको संविधान नै लोकतान्त्रिक नदेखिएको विडम्बना बारे जिम्मेवार निर्णायक तप्कासम्मको ध्यानाकर्षण होस्  । आज हामी थुप्रै कठिनाइ र चुनौती सहन बहन गर्दै एक्काइसौँ शताब्दीमा आइपुग्दापनि त्यही झुप्रोको पीडा र त्यही झुपडीको चिन्ताभन्दा माथि उठेर एक्काइसौँ शताब्दीको युगसापेक्ष बन्न सकेका छैनौँ। संसार एक्काइसौँ शताब्दीको विज्ञानको युगबाट साँघुरिँदा हाम्रा जीवनशैलीहरू १६ औँ शताब्दीबाट माथि उक्लिन सकेका छैनन् । हामीले पढ्ने शिक्षा सर्टिफिकेट किन्ने माध्यम मात्रै बन्न विवश भएको अवस्था छ । हामीले आफ्नो हातमा जुन घडी बाँध्छौँ तर बिग्रँदा बनाउन जान्दैनौँ , हामीले हाम्रो घडीको ब्याट्री फेर्न हामीले लिएको मास्टर्स डिग्रीको सर्टिफिकेटले काम गर्दैन। हामीबस्ने झुप्रो चैत्रमा पाटि भन्ज्याङ्बाट घरै उडाउला जसरी आउने आँधीले उडाइदिएको मेरो खर र छ्वालीको धुरी टाल्न मेरो वर्तमान मास्टर्सको सर्टिफिकेटले सक्दैन ।

बदलिएको व्यवस्थाका बुर्जुवा बन्न विवश विडम्बना –

अनि हामी आज बदलिएको व्यवस्थाको बुर्जुवा बनिन विवश भएका छौँ। गफ जतिपनि जान्दछौँ, गफले हामी अन्तरिक्षमा परिक्रमा गर्छौँ तर कामले हामी हाम्रै संसारमा बेखबर छौँ। आदर्शका कुरापनि सयौँ वर्ष गर्नसक्छौँ तर व्यवहारत: हामी मजदुर,सर्वहारा जहाँ श्रम गर्न गएपनि हेपिन्छौँ/ ठगिन्छौँ ….जब भारतमा नोकरी गर्न भनेर जान्छ नेपाली गाउँको एउटा झुपडीको मास्टर्स डिग्री गरेको शिक्षित युवा भारतमा गएर वाचमैनको काम गर्न विवश मजदुर र बोलाउने क्रममा पनि बहादुर भनेर बोलाइन विवश छ। मलेसिया जान्छ अर्को बेचलर डिग्री गरेको अर्को युवा उ उता आकाश छुने गगनचुम्बी भवनमा ज्यानलाई खतरामा मोलेर रंग लगाउन विवश छ । अनि अर्को एसएलसी पास गरेको युवा साउदीमा झुटा आरोपमा रेटिन मिति कुरेर बस्न विवश तारिकको हाम्रो विडम्बना र ब्लड मनीका खबरले लोकतन्त्र खै कहाँ र कसको लागि कुन शिक्षा लिएर आएको छ ? भन्ने प्रश्न उठाउने गर्दछ।

सवाल –

शिक्षा/स्वास्थ्य र रोजगार अहिलेको मुलुकमा जनताको पहिलो माग हो। जहाँ जनताले राज्यलाई महँगो कर तिरिसकेपछि उपचार खर्च विदेशमा लानुपर्ने खाले बिमारीदेखि स्थानीय उपस्वास्थ्य चौकीमा गरिने उपचार सम्मका केसलाई नि:शुल्क उपचार सेवा दिने दायित्व जिम्मेवार सरकारको हुनुपर्छ । यसलाई व्यापारीकरण गरिनुभएन। शिक्षा गुणस्तरीय हुनुपर्‍यो। देशका सबै विद्यालयहरूमा एकै खाले तर नयाँ प्रविधिको शिक्षाको सुरुवात गरिनुपर्‍यो। जो नि: शुल्क हुनुपर्‍यो। अनि व्यावसायिक किसिमको हुनुपर्‍यो।

नेपाल कृषिप्रधान देश भएकोले नयाँ नयाँ प्रविधिका खेती गर्न सिकाउने कृषि विषय नेपालको माटो र अवस्थिति अनुरूपको बनाइनुपर्‍यो। हिमाल ,पहाड र तराईका तीन वटै माटो सुहाउँदो व्यावहारिक कृषि पद्दतीको प्रारम्भ गर्नको लागि युग सापेक्ष कृषि शिक्षा मुलुकको पहिलो आवश्यकता हो। कृषिमा स्नातक गरिसक्दा उक्त विद्यार्थीले उत्पादन गरेका खाध्यान्न ,फलफूल ,सब्जीहरू अन्तर्राष्ट्रिय सुपर मार्केट तिर पैठारी हुने भएकोले एउटा एक्स्पोर्ट एयरपोर्ट बनाउने दिन सहजै आउँछ । अनि अन्य प्राविधिक ,प्राकृतिक र पर्यटन शिक्षालाई सर्वत्र लागू गर्ने हो भने कुनै पनि मास्टर्स र पिएचडीहरूले साउदीको तातो ५५ डिग्रीमा रगतको बाफ पसिना बहाउँदै राज्यलाई त्यो रगत पसिनाको कर तिर्न विवश हुनुपर्ने थिएन । यसैले नि:शुल्क र व्यावसायिक शिक्षा व्यवस्था बदलिएको देशको अवस्था बदल्न लागू गरिनुपर्‍यो।

रोजगार –

हाम्रो देश नेपाल भौगोलिक हिसाबले भूपरिवेष्टित मुलुक भएकोले हामी विकासमा अत्यन्तै पछि परेका छौँ। अब्बल अब्बल इन्जिनियरहरू लगाएर मुलुकका सबै पहाडहरूबाट सुरुङ /सडक मार्ग र रेल मार्ग खोल्ने हो भने नेपाल संसारभरिका पर्यटकको लागि आकर्षणको केन्द्र बन्न पुग्ने थियो । नमुना कृषिप्रधान देश नेपालमा अमेरिकी ,युरोपेलीहरू श्रमदान गर्न आउने थिए । हामीले उत्पादन गरेको अनाजहरूको उत्पादन कसरी गर्ने भनेर तालिम लिन,अध्ययन गर्न विदेशीहरू आउने क्रम तीव्र हुने थियो।  पहिला सडक विस्तार गरिनुपर्‍यो। त्यसको लागि कुनै चाइनिज र जापानीज ठेकेदार हैन आफ्नै ७० लाख युवाहरूलाई परिचालन गर्ने हो भने मासिक १ लाख रुपैयाँ हाम्रा युवाले आफ्नै देशको विकास गर्दै कमाउनेछन्। पुल पुलेसा,स्कुल,क्याम्पस ,अस्पताल बनाउन हाम्रै सत्तरी लाख युवा परिचालन गर्ने हो भने छोटो अवधिमा देशको रूपरेखा बदलिन पाउने थियो। अनि बदलिएको व्यवस्थाले अवस्था बदलिदिएको भान हुन थाल्ने थियो।

हाम्रा हरेक बस्ती विश्व पर्यटनको लागि इमेजिनरी ड्रीमल्याण्ड हुन्। तर खै देशले खोजेको सवाल जनताकोमा पुगेको ? खै अब्बल पर्यटनका मन्त्री ? यो बेला भनेको क्वारेन्टाइनबाट देश कसरी बनाउने बनाउने भन्ने चिन्तनमा हुनुपर्ने समय जो अब गुज्रँदै छ ,पर्यटनको जिम्मेवारी लिने सरकारले नेपालका प्रत्येक बस्तीका सम्भावनाहरू के के छन् भनेर सोधेको सुन्नुभएको छ हजुरहरू कसैले? सायद छैन यतिबेला मुलुकमा मेलम्चीको पानी र गौतमबुद्ध विमानस्थलका समाचारहरू अलिअलि औपचारिकतामा आएतापनी त्यो बदलिएको व्यवस्थाको दुइटा विकास मात्र अवस्था परिवर्तनको पर्याय हैन । व्यवस्थाको मर्म अनुरूप गर्नुपर्ने काम पानी र एयरपोर्टको मात्र हैन जनताका अवस्थाका पनि हुन् भन्ने सवाल जिम्मेवार पदमा ग्रहण गरेको सरकारी जिम्मेवारीले गर्नुपर्थ्यो। तर यहाँ मुलुकका जनताको स्वास्थ्यको ठेक्का लिएको स्वास्थ्य मन्त्री नै नेपालीहरूको अवस्थाबारे कति रोगी छन् ,कसको के समस्या छ ?भनेर डेटा लिन जनप्रतिनिधि खटाएको कुनै समाचार सुनेको छैन । बरु ओठे जवाफ देशवासीलाई दिँदै गरेका न्युज भने केही दिनअघि पढिएको थियो।

हामीले चाहेको देशको व्यवस्था यस्तो अवस्थाको हैन। जहाँ जनता मालिक र सत्तामा बस्ने व्यक्ती जनताको सेवक हुनुपर्छ अनिमात्र लोकतन्त्रको नवीन राज्यको सुन्दर अनुभूति जनताले गर्न पाउनेछन् । देश बनाउने खाले दल बन्यो भने ७० लाख युवाले विदेशमा श्रम बेच्नुपर्दैन। विदेशमा श्रम बेचिरहेका हाम्रा युवायुवतीले विदेशमा मासिक जति कमाउँछन् त्यसको ५ गुणा बढी श्रमको मूल्य आफ्नै देशमा पाउँछन् । बृध्द्दाश्रममा बस्ने ती असहाय बा आमाहरूकै खातामा १५/२० लाख ब्यालेन्स हुन्छ। युवाहरू जति कोही खेतीपातीमा कोही व्यापारमा ,कोही पर्यटनमा बाहिर देखि विदेशी श्रमिक ल्याउनुपर्ने हुन्छ। मानिसहरू हरक्षेत्रमा मेशिनझैँ चलिरहेका हुन्छन् । त्यो अवस्थामा हाम्रो देशको सत्ता भोलुन्टर सत्ता हुन्छ । राजनीतिमा लाग्नेहरू कम मात्रामा हुन्छन् । देशको माया गर्ने लोभ लालच नभएका मान्छे प्रधानमन्त्री बन्छन् । हाम्रा दाजुभाइ दिदीबहिनी त्यति बेला संसार घुम्ने पर्यटक बनिसकेका हुन्छन् । श्रमदानमुखी सत्तामा भ्रष्टाचारका सपना दिवा सपना बन्छन् । हामी  त्यो दिनको पर्खाइमा छौँ जुन दिन त्यस्तो नयाँ बिहान आउँछ त्यसपछि आफ्नै मृत्युपनि मीठो हुन्छ । मृत्यु एकैखाले हुँदैनन् ,कति मृत्यु त कर्तव्य पूरा गर्दा नगर्दै अल्पायुमा नै मर्छन्। कति मृत्यु चिन्तै चिन्तामा भएका हुन्छन् । ढुक्कले बिना चिन्ता मर्न पाउने मानिसहरू भाग्यमानी हुन् । तर शहीदहरू पनि चिन्ताले नै मरे र जनताहरू पनि चिन्तामा नै रहिरहे। चिन्तनको सुरुवात अबको खोज’श्रमदानमा सरकार/ समृद्धिको प्रारम्भ आफैँ हुन्छ । लोभ ,पाप,मोह ,विलासिता सबैको अवसान हुन्छ त्यसपछि ।अनि भनौँ सत्य युग जस्तै सुशासन । जनताको स्वराज्य स्थापित भएन तर नेता र दलको मात्रै बडा दसैँ बन्छ भने व्यवस्था कुनै दलको झन्डा बोक्नुभन्दा राष्ट्रिय झन्डा बोकेर गोली पिउनु उचित हुन्छ।

प्रकाशित मिति : २०७७ साल साउन १७ गते शनिवार

प्रतिक्रिया दिनुहोस्