Logo

‘चर्किएको गुलाब’

‘आजदेखि हाम्रो यात्रा समाप्त भयो, अर्को कुरा मलाई तिमीले लालीमा कहिल्यै नभन्नू ल ! लाऊ, तिमीलाई यो मेरो अन्तिम पटकको सम्झना चिनो, राख सम्हालेर मैले बिर्सने कोशिस गरे पनि खबरदार तिमीले चाहिँ कहिल्यै कहिल्यै नबिसर्नू ल …!

भट्भटाउँदै उसले फेरि भन्न थाली –‘मात्र तिमीले जरुर सम्झने छैन एउटा सम्झना चिनो फूल मात्र हो भनेर तर जरुर यो लालिमाको तरफबाट तिम्रो निम्ति लज्जावती झार मात्रै होइन, सदासदाको निम्ति गुलाबको फूल बन्ने छ तर अपशोच कहिल्यै तिमीले नमान्नु गुलाफ फूल कहिल्यै चर्कने छैन । तर सोची राख्नु समाजले त्यो फूललाई ‘चर्किएको गुलाब भनी सदासदाको निम्ति लाग्छना लगाउन सक्नेछन् । तिमी सम्य हुनु, आफूले आफैँलाई सम्हाल्ने कोशिस गर्नु, कदापि मेरो दश औंला जोडी बिन्ती प्रतिशोध गर्दै बदला लिने प्रयत्न चाहिँ तिमीले भुलेर पनि नगर्नु मेरो मदन… ।

उसले भनिरही मैले सुनि रहेँ, मात्र सुनि रहेँ । उसलाई अब लालीमा भन्ने मेरो अधिकार छैन भनेर उसले बारम्बार मलाई ध्वाँस दिइरहन्थी तर म भने प्रत्येक वाक्यवाक्य बोल्दै गर्दा शब्दहरू तौलँदै गर्दा ‘लालीमा, लालीमा’ अगाडि पछाडि, दायाँतरफ, बायाँतरफ चौतर्फी झल्झल्ती देखेरहन्छु, सुनिरहन्छु, चुमिरन्छु ।

म परे धर्मसंकटमा तर पनि धर्मको चर्चा गर्न छोडेको छैन मैले । सम्झे बाले लगाएको जनै पालको टुप्पी र लगाएकै कन्दनी ! मलाई यसअघि पनि जब लालिमासँग भेट भएको थियो बाले बेस्सरी झपारेको सम्झना ताजै छ । हिन्दु संस्कारका पाखण्डी पक्षपाती मेरा बुबा हजुरबुवा जति पनि उदार कहिल्यै बन्न सकेनन् । मान्छेहरू पुस्तान्तरणका कुराहरू बारम्बार गर्ने गर्दछन् ।

सोचाइ र भोगाइले नै मानिसलाई परिपक्व गराउँछ भन्ने मेरो हजुरबुबाको मुखारविन्दबाट निस्किएको अमृतवाणी नै मेरो जिन्दगीको असल बुटी ठान्दै गर्दा थाहा छैन कि कुन बुटी निल्दा जव्नि बन्दछ कि चपाउँदा जीवन नै खरानी बन्दोरहेछ भन्ने कुरा ।

तालिमालाई लालीमा भन्ने अधिकार टुटिसकेपछि मैले उसैले सुम्पिदिएको गुलाफका फूल नासोको रूपमा समाएर राखेको छु । फूल गुलाबको हो तर चर्किएको छ, थर्किएको छ र पनि बाध्य छु म त्यसलाई आत्मसाथ गर्न र ‘फूल’को संज्ञामा म अझै रमाउँदै आनन्दित भएको छु । बाले घरमा पाञ्चायन देवताको पूजा गर्दै गर्दा थाली माझिदिने र फूल अक्षताको जोहो गर्ने जिम्मा ममै हुन्थ्यो । सानैेखि धर्मकर्ममा रुचि त थियो तर फूल् टिपेर बारम्बार ल्याउनुपर्दाको दुःख र सुखको अनुभूतिग्रस्त यो मन गुलाबको फूल देख्दा पनि सहजै पुलकित हुन सकेन ।

फूल अहिले मेरै भागमा परेको छ । कसैले नासो स्वरूप मलाई सुम्पिदिएको छ । म भन्छु – मलाई भिसुनपाती र पारिजातको फूल औधी मन पर्छ तर तालिमाले मलाई औधी मन पर्ने फूल भन्दै गुलाबको फूल सदासदाको निम्ति हातमा थमाएर गएकी छे–‘पाले पुण्य मारे पाप हजुरकै जिम्मामा…’ भन्दै ।

थर्थर काँप्दै मैले फुलाई लालिमासँग लिँदै गर्दा चौतर्फी मण्डव सजिएको मैले महसुस गरेको छु । मेरै अगाडिबाट गुलाबको फूलबारीबाट फूललाई टपक्क टिप्दै सिउँदोमा सिउरिन खोज्दा मालीले छोडेको डाँको र उसको आँखाबाट भक्कालिँदै बहेको बलिन्द्रा आँसुको सागर अझै सुकेको छैन । तर पनि सबैले बाजागाजा बजिरहँदाको बखत गुलाबको फूललाई लक्षित गर्दै मन्द मुस्कार छरिरहेको थिए, अपशोच मेरो मन भने भित्री कुनाबाट भतभत पोल्दै ‘नचुँड्नु है कोपिला नटिप्नु पाप लाग्दछ’ भन्दै बालबयका कविता मुखाग्र गर्दै मनमनै सुनाइरहेकै थिएँ । जीवन बाँच्नेहरुका लागि मात्र होइन, रहेछ टिपेर सिउँदोमा सिउँरीसक्दा पनि गुलाबको जिन्दगी आफ्नै वशमा कदापि हुँदोरहेछ । सबै बाँच्ने सँगै मर्ने कसम खाँदै वाचा बन्धनका डोबहरू खन्दै उनिएको त्यो माला विवाह मण्डवमा सिँगारिएर राखिएको त्यो फूललाई के थाहा छिट्टै यसैगरी यस्तो टन्टलापुरघामबाट सुक्नुपर्छ, छुट्नुपर्छ भनेर … ।

समय मभन्दा धेरै बलवान रहेछ मेरो भागमा गुलाबको फूलै रहेछ तर भिसुनपाती र पारिजातलाई रोज्न खोज्न मेरो दिवास्वप्ना मात्रै रहेछ । हजूरबाबाले भन्ने गर्थे, नाति सपना देख्नु सपना सपना नलेख्नू, बोले टर्छ हाने झन्छ । जति देखिएको छ, त्यति नै कसैको भागमा लेखिएको हुन्न बाउ, बरु जीवनमा चरेश खाएस्, हरेश भन्ने कुरा चाहिँ कहिल्यै नखाए ।’

मेरो हजुरबुबाले भिसुनपाती र पारिजातको फुल मलाई मनपर्छ भन्ने कुरा म सानोछँदादेखि नै बडो उत्सुकताको साथ हेरिरहनुहुन्थ्यो । त्यस बखत भन्ने गर्नुहुन्थ्यो – बाबु बारीको कान्लामा बाँझो नराख्नु भिसुनपाती र पारिजातको फूल रोप्न सकेको खण्डमा हाम्रो कुलायन देवता पनि निकै खुशी हुने थिए, त्यसैको फूल र पात टिप्दै दैनिन्दिय पूजा गर्न कत्ति मज्जा आउँछ बाबु ! हजुरबुबाले भन्दै गर्दा मैले मात्र सुनिरहेको थिएँ, तर अहिले हजुरबुबा मेरो अन्तस्करणभित्र हुनुहुन्छ, तर भौतिक संसारमा उहाँको अवसान भइसकेको छ, म सुनिरहन्छु देख्न सक्दिनँ म अनुभव गरिरहन्छु, हजुरबुबासँग दोहोरो कुरा गर्न सक्दिनँ, अचेल मैले भिसुनपाती र पारिजातलाई वास्ता गर्न छोडेको छु, अचेल समय मेरो प्रतिकूलमा छ गुलाफको फूल मन पराउनु मेरो रहर हैन, हजुरबुबा बाध्यता छ, समयको नियति र जीवनको भोगाई हजुरले भनेजस्तै अपरम्पार हुँदो रहेछ, हजूरबुबा ! निन्द्राबाट चिच्याउँदै हजुरबुबा !

मेरो हजुरबुबा ! भन्दै गर्दा बाले चाल पाएछन्, हैन त मदन किन मध्यरातमा फतफताइरहन्छ, सञ्चो छैन कि तेरो मनमा क्या हो भनेर गजबको जवाफ दिन भ्याइहाले । बाले बोलिनसक्दै आमाले पनि आँ कस्तो मान्छे हजुर छोरालाई त्यसरी प्याच्च भन्नुभन्दा ‘डाइनी बोक्सी लागेको हो कि ? छिटो उठ्नोस् बूढा पुन्टे धामीलाई बोलाउन कि तिमी जाऊँ कि म हिँडे खोइ खोइ चर्टलाइट कता पुगेछ…..’ आमा हैन मलाई केही भएको छैन । बढ्ता चिन्ता लिनु पर्दैन मेरो खोइ मैले यहाँ गुलाबको फूल सजाएर राखेको थिएँ, कता झरेछ कुन्नि बत्ती बाल्नुस् न आमा ! लाइन गएको अवस्था छोरा । चर्टमा व्याट्री पनि सकेको रहेछ, सुतसुत भोलि बिहानै उठेर म खोजिदिउँला निद्रा त्यसरी नबिग्रा बाबु !…… म फेरि कोल्टे फेर्दै फूललाई समाउँदै निदाउने कोसिस गरेँ, तर रातभरि निद्रै लागेन ।

(मदनकृष्ण सिलवालद्दारा लिखित प्रकाशोन्मुख उपन्यास ‘चर्किएको गुलाब’उपन्यास लिइएको केही अंश )

प्रकाशित मिति, २०७४ साल चैत्र २४ गते शनिबार 

प्रतिक्रिया दिनुहोस्