Logo

नारी शक्तिको परिचय र परिभाषा

काशमा बिलाउने तारा मात्र होइनन नारी, पूर्णिमामा उदाउने जून पनि हुन्, ओइली जाने फूल मात्र होईनन् नारी, दया, माया, साहस र सहनशीलताका मूल पनि हुन्  । सृष्टि चक्रको अपार महत्व नबुझ्नेलाई धर्ती केवल माटो मात्र हुन्छ, तर बुझ्नेलाई उही धर्ती एक पुजनीय आमा हुन्छ। त्यसै गरी नबुझ्नेलाई नारी मात्र यहाँ एक सामान्य महिला हुन्, तर बुझ्नेलाई उही नारी जीवनको अनमोल खजाना हुन्, नारी पुजनीय आमा हुन्, नारी ईश्वरको अनुपम सृजना हुन्, नारी जीवन दिने करिस्मा हुन् ।

जहाँ नारीको सम्मान हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ, जहाँ नारीको बास हुन्छ त्यही नै सुन्दर संसार हुन्छ । सरस्वतीकी रूप हुन् नारी, लक्ष्मी कि स्वरूप हुन्, अन्याय र अत्याचार विरुद्ध दुर्गा(काली की रूप हुन् । त्याग र तपस्याकी मूर्ती नारी दया र माया की खानी हुन्, सृष्टिको सृजनामा नारी रूपकी रानी हुन् । फूलबारी लाई सजाई राख्ने फूलकि उनी माली हुन्, धूपमा छाया दिने शीतल उनी एक छहारी हुन्। जीवन लाई रंगाई राख्ने नारी सप्तरंगी इन्द्रेणी हुन्, घर आँगनलाई चम्काई राख्ने नारी पूर्णिमाकी चाँदनी हुन् ।

नारी एक छोरी, दिदी र बैनी नन्द भाउजू र आमा हुन्, नारी सबकी आशा हुन्, नारी सबकी भरोसा हुन् । जीवन पथको यात्रामा नारी हुन् संघर्षको परिभाषा, नारी हुन् सबकी जिज्ञासा, नारी हुन् सबकी अभिलाषा। नारी इतिहासका निर्माणका हुन्, नारी समाजका साधक हुन् १ सृजनाको मूल बनी सिंचिन्छिन् । नारी सृष्टिमा,अनेक छन् रूप नारीका विभिन्न दृष्टिमा, नारीको महिमा हरेक युगमा केलाएर हेर्दा इतिहासको पानामा, भेटिन्छ ।

असैह्य पिडा सहेर धर्तीमा नारी शिशु जन्माउछिन्, हर परिवेशसँग जुधेर  हुर्काउछिन् । अरूकै खुसीमा रमाई नारी भुल्छिंन् आफू आफैमा, रसिलो अरूलाई बनेर नारी सुक्छिंन् आफू आफैमा । जन्मन्छ पुरुष नारी बाट, नारी हुन् पुरुषकी प्रकृति, जन्माउछिन् नारीले नारीलाई दिन्छिन् आफ्नै आकृति । नारी हुन् घरकी लक्ष्मी नारी हुन् सुख र सम्ब्रिद्दि, कला संस्कृति जोगाई राख्ने नारी हुन् जीवनको जागृति। नारीको रगत बाट सृजना हुन्छ मान्छेको जीवन यो जगतमा, अनेक रुप छन् नारीका सृष्टिको बेला बखतमा।हरेक नाता निभाउछिन नारीले जीवनको रंगमंचमा, मुख्य छ नारीको भूमिका चारैतिर हरेक सम्बन्धमा ।

इतिहास साक्षी छ नारी पटक पटक सताईएकी  छिन्, हरेक युगमा यहाँ नारीले यहाँ अग्नि परिक्षा दिएकी छिन्। युगौंदेखि वर्तमानसम्म, जन्मदेखि मृत्युसम्म, घर देखि समाजसम्म, समाजदेखि, संसारसम्म सधैँ अन्याय र अत्याचारमा परेकी नारी, न्याय माग्छिन् यहाँ आफ्नै हरू सँग । नारी जसले हामीलाई नौ महिना कोखमा राखेर यो संसारमा ल्याइन्, जसले अनेकौँ दुख, पीडा खपेर हामीलाई सुन्दर संसार देखाईन्, जसले आफ्नाका खुसीलाई आफ्नो सबथोक गुमाइन्, जसले हाम्रो पालन पोषण संरक्षणमा आफ्नो सबथोक गुमाइन् । आफ्ना त्याग र संघर्षको बदलामा न उनले कुनै बलिदान मागेकी छिन् न कुनै क्रान्ति मागेकी छिन्, न उनले रगतको बदलामा रगत मागेकी छिन्, उनले त केवल थोरै दया, माया, आदर र सम्मान, आफ्नो हक र अधिकार मागेकी छिन् ।  बनिदेउ सारथी उनको तिमी उनले तिम्रो साथ मागेकी छिन्, देऊ मद्दत उनलाई उनले तिम्रो आधार मागेकी छिन् । 

अँध्यारोमा  नारी हराई दिन्छीन्  अरूलाई उज्यालो दिन पग्लिन्छिन् मैन बत्ती झैँ ,जल्छिंन् दियोभै कहिलेकाँही आफ्नो रुपरंग मेटाई नारी दिन्छिन् जन्म सन्तानलाई, आफ्नो सबथोक लुटाई नारी जिउँछिन् उनी, आफ्नाका लागी खाएर हुरी, झरी र घाम पर्खिन्छिंन् उनी खुसीको याम, आफ्नो अस्तित्व मेटाई नारी अपनाउँछिन् उनी अरूको नाम।

हर चुनौतीसँग लडेर नारी बनाउँछिन् आफ्नो सुन्दर संसार, हर संघर्षमा डटेर नारी बसाउँछिन् आफ्नो सानो घरबार । जिउँछिन् नारी हरपल सजाई आँखामा सपना हजार, मुस्कुराउँछिन् हर परिवेशमा मान्दिनन् जीवनमा कैले हार । नारीका कति ईच्छ्या आकांक्षा बन्द छन् आफ्नै मन भित्र, कति व्यथा वेदना बेहिसाब छन् बन्द घर भित्र। कति सुन्दर सपनाहरू अधुरा छन् बन्द नयन भित्र, कति विशाल भावना हरू कुण्ठिएका बन्द जीवन भित्र । जीवन यात्राको दौरानमा, जीवनको हर परिवेशमा, हर कहीँ बाट सताईन्छिंन नारी बाँच्छिन् सधैँ डरै डरमा । दबेका छन् नारीका आवाजहरू हाम्रो पुरुषबादी समाजमा, फसेका छन् कैयौं नारी अझै पनि अत्याचारको चक्रव्युहमा  । 

यति महान नारीको छैन कदर हाम्रो समाजमा, शोषित र अपहेलित छिन् नारी अझै पनि हाम्रो समाजमा । माया र प्रेरणाकी खानी नारी प्यासीका प्यासमा सीमित छिन्, संसार लाई सृजनात्मक बनाउने नारी शून्यतामा हराउन बाध्य छिन्, देशका खम्बा नारी नारी घर धन्दामा सीमित छिन् ,देश लाई हाक्न सक्ने नारी उदासीका उपासनामा उल्झिएकी छिन् । राष्ट्रका अस्मिता नारी कोही विदेशी बजारमा लिलाम हुन्छन्, लक्ष्मीकी रूप मानिने नारी यहाँ अनेक आरोपमा लाञ्छित छिन्, सृष्टिमा रोशनी थप्ने नारी कैले गर्भमै पनि मारिन्छिंन्, भविष्यका निर्माताद्दारा नारी कहिले कोपिलामै चुँडिन्छिन्, समाजका मूल साधक नारी कहिले समाजबाट बाहिरिन्छिंन् ।

इतिहास साक्षी छ हरेक युगमा नारी, हेपिएकी छिन्, पटक पटक नारी लुटिएकि छिन्, कुटिएकी छिन्, दविएकी छिन् । हर कोहीबाट सताईएर डरैडरमा खुम्चिएकी छिन् नारी, अनेक आरोपमा पिसिएर आफूमै मुल्यहीन हुन्छिन् नारी। तैपनि सृष्टिलाई बचाउन चुपचाप चोट सहन्छिंन् नारी, जन्म देखि मृत्युसम्म चुनौतीसँग लड़छिंन् नारी, आफ्नो अस्तित्व बचाउन सधैँ संघर्षमा जुध्छिन् नारी । महाभारतको युगमा ईज्यत जुवाको दाउमा लगाएकी द्रौपदी पनि एक नारी नै थीइन्। सतित्वको अग्नि परिक्षामा आफ्नै पतिलाई दिने सीता पनि एक नारी नै थिइन्।

अब कुन्ति द्रौपदी र सतीको युग समाप्त भईसक्यो, अब परिवर्तनको युग आईसक्यो जहाँ नारी इतिहासका जिजिबीषा होइनन्, उनीहरू त इतिहास निर्माणका हुन्, अबका नारी शून्यतामा बाच्ने रजनी होइनन्, अन्धकार हटाउने रोशनी हुन्, अबका नारी कमजोर, लाचार र पराधीन होइनन् उनीहरू त समाजका मूल साधक हुन् । अबका नारी पुरुषका कट पुतली मात्र होइनन्, देशका शान्ति मैत्री, प्रगति र उन्नतिका तीव्र लहर हुन् । अबका नारी राष्ट्रका शान र सौरभ हुन्, देशका गरिमा र गौरव हुन् । अबका नारी विकासका सुन्दर मोती हुन्, ज्ञानका दीपक ज्योति हुन् ।

सधैँ नारीलाई मात्र निहुर्याउने हाम्रो पुरानो परम्परा जरैबाट फाल्न जरुरी छ, परम्पराका नाममा दिनहुँ हुने महिला माथिको हिंसाको अन्त्य हुन जरुरी छ । नारी माथिको असमानता, विभिन्नता, अन्याय र अत्याचार विरुद्ध हर कोहीले आवाज उठाउन जरुरी छ । नारी हरू यहाँ सजिने पात्र मात्र नबनी निर्णायक तहमा कार्यमा अघि बढ्न जरुरी छ । एक नारीले अर्को नारीको इज्जत, सम्मान र सराहना गर्नु जरुरी छ । जसरी थोपा थोपा मिलेर सागर बन्छ त्यसैगरी हामी सबै नारी एकजुट भई, एक अर्काको बाधक होइन साधक बनेर, हर चुनौती लाई स्विकारी एकसाथ अघि बढेमा, नारी विरुद्ध हुने सम्पूर्ण मतभेद र बिभेदको अनि अन्याय र अत्याचारको अन्त्य अवश्य हुनेछ, तब मात्र समतामुलक समाजको निर्माण हुनेछ, अनि मात्र राष्ट्र सफल र समृद्ध बन्नेछ ।

       जानकी पन्त “जून”

     हाल, लन्डन, बेलायत

प्रकाशित मिति ,२०७४ साल फाल्गुण २४ गते, बिहिवार

प्रतिक्रिया दिनुहोस्