ध्रुव लम्साल

छिल्लो पटक रौतहटको सन्तपुरमा बाढी पीडितका लागि नमुना बस्ती निर्माण  गरेका सीताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्धारित तिथिभन्दा एक दिनअगाडि नै बस्ती हस्तान्तरण गरे । बस्ती निर्माण सुरु गर्दा २३ माघमा बस्तीको चाबी बस्तीवालालाई सुम्पने घोषणा गरेका धुर्मुस/सुन्तलीले एक दिनअघि २२ माघमै भव्य कार्यक्रम गरेर बस्ती हस्तान्तरण गरे । घोषित लक्ष्यभन्दा एक दिनअगाडि नै निर्माणको सबै काम सम्पन्न गरी बस्ती हस्तान्तरण गर्नु सरकारका लागि एक खालको व्यंग्य थियो । बुझ्नेले कसरी बुझे कुन्नि ?

सरकारी स्तरबाट भएका ९५ प्रतिशत काम समयमै सम्पन्न भएको तथ्यांक पाउन गाह्रो छ । हाम्रो समाजले कहिल्यै समयमा काम नगर्नेलाई ‘किन समयमा नगरेको’ भनेर प्रश्न पनि गर्दैन ? समय घर्काएर काम गर्ने प्रवृत्ति आम बनिरहेको बेला धुर्मुसको ‘एक दिनअघि’ खास महत्व र चासोको विषय पनि बनेको देखिएन । पक्की घरमा बस्ने योजना त परको कुरा थियो । सपनासमेत नदेखेका सन्तपुरमा हरेक वर्षको बाढीबाट पीडित ४५ परिवारका लागि उनले पक्की घर बनाएका थिए । त्यसअघि महोत्तरीका मुसहर, सिन्धुपाल्चोक गिरान्चौरका भूकम्पपीडित र काभ्रे कामीडाँडाका भूकम्पपीडितका लागि नमुनाबस्ती बनाइसकेका छन् । उनको महत्वाकांक्षी योजना छँदै छ ‘नमुना नेपाल’ निर्माण ।

अहिलेसम्म धुर्मुस/सुन्तली फाउन्डेसनले सहयोगीको साथमा बनाएको कुनै पनि बस्तीले कसैलाई पिरोलेको छैन, बरु राहत नै दिएको छ । गतिलो ओत मात्रै हैन, सुन्दर भविष्यको सम्भावनासमेत देखाइदिएको छ । निम्सरा मान्छेका लागि सुन्दर एवं पक्की घर आफैंमा एउटा सपना हो । मात्रै एउटा सुन्दर घरका लागि आजीवन संघर्ष गर्ने जमात निकै ठूलो छ, यो मुलुकमा । अहिले धुर्मुस–सुन्तलीले जसका लागि घर बनाइदिए पुस्तौनी संघर्षबाट घर बनाउने सपना देखेका थिएनन् उनीहरूले ।

टेलिभिजनको पर्दामा हास्य कलाकारको भूमिका निर्वाह गरेर पेट मिचिमिची दर्शक हँसाएका यी कलाकारले १२ वैशाख २०७२ मा विनाशकारी भूकम्प आएपछि रियलमा केही ‘भूइँमान्छे’हरूलाई गदगद हाँस्ने वातावरण तय गरेका थिए । जबजब धुर्मुस/सुन्तली पीडितहरूको मनमा मलम लगाउन खटिन्छन्, तबतब एकथरी मान्छे भित्रभित्रै मुर्मुरिन्छन् । धुर्मुस/सुन्तलीको सत्कर्मले बेचैन हुनेहरूको संख्या क्रमशः बढ्दो छ सहरमा ।

धुर्मुस/सुन्तलीको गतिमा समाज सेवामा भिड्न सक्ने दोस्रो पात्र भेटिएका छैनन् अहिलेसम्म । यस अर्थमा आमकलाकर्मीका लागि नमुना हुन् यी हास्य जोडी । धेरै कलाकर्मीले भन्न पाउँछन् ‘हामीले समाजका लागि केही गर्न नसके पनि हाम्रा सहकर्मी धुर्मुस–सुन्तलीले समाजका लागि केही गरेका छन् ।’ दुःखको कुरा धेरै कलाकार धुर्मुस–सुन्तलीको नाम लिँदा आफ्नो मन अमिलो बनाउँछन् । चिया पसलहरूमा कतिपय कलाकर्मीले हाकाहाकी भन्न थालेका छन् ‘धुर्मुस–सुन्तलीको नौटंकी बढी भयो ।’

धुर्मुस/सुन्तलीले भूइँमान्छेका लागि घर बस्ती बनाएकोमा भन्दा पनि आफूभन्दा हिट भएकोमा तनाव लिनेहरूको संख्या क्रमशः बढ्दो छ । ‘लोग्ने अध्यक्ष स्वास्नी कोषाध्यक्ष ?’ आफ्नै फिल्म हलमा लाग्दा राम्ररी आम्दानी र खर्च जोड्न नजान्नेहरू ‘धुर्मुस सुन्तली फाउन्डेसन’का विषयमा प्रश्न गर्न थालेका छन् ।

नेपाली फिल्म उध्योगको आकार जत्रो छ, हाम्रा कलाकर्मीको सोच पनि त्योभन्दा ठूलो हुन सकेको छैन । कोही कलाकार बिरामी भएर अस्पतालमा सुतेको बेला बिरामीको छेउमा उभिएर ५/१० रुपैयाँको चेक हस्तान्तरण गरेको पोज दिएर फोटो खिच्ने र फेसबुकमा हाल्ने संस्कारमा हुर्किएकाहरूको जमातमा ५ करोड बढी लागतको बस्ती आफैंमा अनौठो घटना हो । कतिपय व्यक्ति यस्ता पनि छन् । फिल्मको बारेमा पटक्कै जानकारी नभएकालाई ‘मेरो फिल्ममा लगानी गर्नुभयो भने यति कमाइन्छ पत्रिकामा फोटो पनि छापिन्छ’ भनेर फकाउने गर्छन् । ती विचराहरू अहिले पनि मनमनै हिसाब गर्दै छन् । ‘यदि धुर्मुस/सुन्तली नभएको भए ती मान्छे मेरा सम्पर्कमा आउँथे र मेरो ब्यानरमा लगानी गरेर फिल्म बनाउँथे ।’ त्यसकारण साँघुरो सोच हुनेहरूले धुर्मुस/सुन्तली फाउन्डेसनका बारेमा प्रश्न गर्नु त्यति अनौठो होइन ।

फिल्म क्षेत्र मात्रै हैन । नेपाली समाजले पछिल्लो समय जस्तोसुकै भ्रष्टाचारलाई पनि सहज रूपमा स्वीकार गरेको देखिन्छ । कसैले जघन्य अपराधै किन नगरोस्, आर्थिक रूपमा सम्पन्न भएपछि ऊ समाजकै लब्ध प्रतिष्ठित कहलिन्छ । ठूला पार्टीले सजिलै पत्याउँछन् र पार्टीमा हुल्छन् । नजिकको विध्यालयले संरक्षकको दर्जा दिन्छ । चिया दोकानमा बिहानभरि गफ छाँटनेहरूले अभिवादन गर्छन् । ‘कसरी छोटो समयमै यति धेरै कमाइस् ?’ भनेर प्रश्न गर्ने प्रवृत्ति स्थापना हुन सकेकै छैन । उसलाई मोटामोटी बुझ्नेहरू उसलाई ‘आइकन’ सम्झन्छन् र भन्छन् ‘मान्छे हुनु त यस्तो पो ।’

तसर्थ, अब धुर्मुस/सुन्तलीले मुलुक बनाउने अभियानलाई क्रमशः थाँती राख्नु उपयुक्त हुन्छ । किनकि, भ्रष्टाचार गरेर कमाएको पैसाले मन्दिर बनाउनेहरू बढेपछि सच्चा समाजसेवीका चरित्रका विषयमा प्रश्नका घेरा लाग्छन् । अहिले धुर्मुस/सुन्तलीका सन्दर्भमा पनि भएको त्यही हो । राज्यको नियामक निकाय पुनर्निर्माण प्राधिकरणलाई झन्डै झन्डै चुनौती दिने हिसाबले अघि बढेका धुर्मुस–सुन्तलीलाई कुनै पनि बेला ठूलै अभियोग लाग्यो भने आश्चर्य मान्नुपर्दैन ।

यो यही देश हो, जहाँ बलात्कार पीडित युवतीको अस्पतालमा राम्ररी होस आएको हुँदैन, बलात्कारमा संलग्नहरूलाई न्यायाधीश आदेश दिन्छन् ‘बलात्कारमा संलग्न भएको प्रमाण देखिएन तत्काल रिहा गर ।’ ‘सत्य सेवा सुरक्षणम्’ को मन्त्र जमेर बसेको प्रहरीको के कुरा सामूहिक बलात्कारमा परेकी युवतीको निवेदन लिनु अगाडि बलात्कारमा संलग्न तन्नेरीका परिवारलाई फोन गरेर भन्छ ‘हजुरको छोरासहितले बलात्कार गरेकी युवती उजुरी लिएर आइन्, छिटो आइदिनु पर्यो कुरा मिलाउन ।’ राज्यबाटै पीडित भएका उदाहरणहरू यहाँ बग्रेल्ती छन् ।

भ्रष्टाचार गरेर कमाएको पैसाले मन्दिर बनाउनेहरू बढेपछि सच्चा समाजसेवीका चरित्रका विषयमा प्रश्नका घेरा लाग्छन् । अहिले धुर्मुस–सुन्तलीका सन्दर्भमा पनि भएको त्यही हो । राज्यको नियामक निकाय पुनर्निर्माण प्राधिकरणलाई झन्डै झन्डै चुनौती दिने हिसाबले अघि बढेका धुर्मुस/सुन्तलीलाई कुनै पनि बेला ठूलै अभियोग लाग्यो भने आश्चर्य मान्नुपर्दैन।

तसर्थ, धुुर्मुस–सुन्तलीले पनि केहीबेर सामाजिक कामबाट विश्राम लिएर फिल्म बनाउने धन्दामा लाग्दा नै राम्रो हुन्छ । यसै पनि अहिले नेपाली फिल्मको बजार बढेको छ । बजारले अहिले राम्रो फिल्म माग्दैन, केवल रमाइलो भए पुग्छ । फिल्मलाई रमाइलो बनाउनका लागि धुर्मुस–सुन्तलीलाई थप खेताला जरुरी पनि छैन । काँटमा पर्दाबाट प्रसारण भइसकेको ‘मेरी बास्सै’ का केही जोडदार संवाद संकलन गर्ने हो भने दुई चारवटा फिल्मको प्लट तयार भइहाल्छ । रमाइलो फिल्मको बजार उच्च भएकाले धुर्मुस/सुन्तली भाग्यमानी पात्र ठहरिनेछन् ।

फिल्म बनाउने घोषणा सार्वजनिक हुने बित्तिकै निर्माणमा सहकार्य गर्न चाहनेहरूको तत्काल ताँती लाग्नेछन् । धुर्मुस/सुन्तलीले कसका लागि किन बस्ती बसाए प्रश्न गरिरहनु जरुरी छैन । अहिलेसम्म जहाँजहाँ बस्ती निर्माण गरे, त्यहाँ कसले कति सहयोग गरे । उनीहरूले दाताहरूको सूची सार्वजनिक गर्दै गएका छन् । आफ्नो जिम्मेवारी पूरा नगरे पनि हुने तर अरूको बारेमा निकै धेरै चासो राख्ने प्रवृत्ति भएको समाजमा धुर्मुसले किन घर बनाए ? घर बनाए बापत कति पैसा कमाए भनेर प्रश्न गर्नु अस्वाभाविक लाग्दैन ।

अनैतिक कर्म गरेर उकालो लागेकाहरूले पछाडि फर्केर हेर्यो भने भूइँमा बसेका प्रत्येक मान्छेका बारेमा अनुमान गर्छ ‘यी पनि मजस्तै अनैतिक काम गर्नका लागि बाटो खोजिरहेका छन् ।’ उसलाई यो पनि थाहा हुन्न कि हरेक समाजमा नैतिक, अनैतिक, भ्रष्ट, सज्जन, विद्दान , मूर्ख सबै सोच भएका मान्छेहरू हुन्छन् । समाज त्यही हो, अनि भूगोल पनि त्यही । कहिले त्यही ठाउँमा सज्जन मानसिकता भएकाहरूको बोलवाला हुन्छ र समाजमा सज्जनले बोलेका गरेका र देखेका कुरा सर्व स्वीकार्य हुन्छ । समयअनुसार त्यही समाजमा भ्रष्टहरूको पकडमा पनि पर्छ । अनि सज्जनहरू छायाँमा पर्छन् । उनीहरूको आवाज सुनुवाइ हुन्न तर संस्कार हीनहरू अगुवा बनेर देखा पर्छन् ।

         साभार, राजधानी दैनिक 

प्रकाशित मितिइ २०७४ साल फाल्गुण ९ गते बुधबार