Logo

नेपालको सिमाना मिच्ने मोदिलाई पत्र

मोदी भैया !

बर्षौंदेखि तिम्रा नेपालमाथि गाडिएका दुस्मन आँखाहरू यस्पाली त झन् फुर्फुराएर हाम्रो ५० बिगाहा जमीनमाथी नै बजारिएछन् । तिमीलाई हामी नेपालीहरू गरिब छौँ भन्नेमात्र ज्ञान रहेछ, हामीभित्रको देशप्रेमको राग त तिमीले बुझेकै रहेनछौ। हाम्रा देशका दुईचार मतलबी, गँवार र छाडा नेताहरू तिम्रो सामु दिल्ली दरबारमा राष्ट्रिय अस्तित्वलाई दाउमा राखेर नाङ्गै नाचे भन्दैमा हामी तीन करोड नेपालीको आफ्नो पहिचान र इज्जत नै छैन भनेर भ्रमका लड्डु चपाउँदै हामीलाई हेप्न नखोज,दशगजामा टेकेर गोर्खाली खुकुरीको सामूहिक झटारो तिम्रो घाँटीतिर हान्नु नपरोस्!

तिमी आकारमा हामी भन्दा २२  गुना ठुला छौ, विकास र प्रविधिमा अगाडि छौ, हामीभन्दा पढेलेखेका छौ भन्दैमा हामीमाथि अन्याय र अत्याचार गर्न तिमीलाई एक इन्च छुट छैन। कहिले बुद्ध मेरा हुन् भन्छौ, कहिले सिमानामा तिम्रा सरकारी कुत्ताहरु छोडेर नेपालीलाई टोक्छौ त कहिले नाकाबन्दी लगाएर दादागिरी देखाउँछौ। छिमेकी मुलुकलाई यसरी बिना कसुर हप्कीदप्की गर्न , दबाउन र तर्साउन कुनैपनि देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिलाई सुहाँउछ र भैया ?

हाम्रा नेपाली दाजुभाईहरुले तिम्रो देशमा गएर भाँडा माझे, बाटो बढारे , लेबर काम गरे भनेर हामीलाई हेप्या हो ? हाम्रा नेपालीहरूले तिम्रा देशमा जस्तोसुकै काम गरेपनि ईमान्दार भएर, पसिना बगाएर पैसा कमाएका छन्। तिमीलाई थाहा छ कि छैन, तिम्रा देशका लगभग २५ हजार भारतीय झारपातेहरु नेपालमा कोही माग्ने भएर सडकमा लम्पसार छन्, कोही चोरी गरेर खान्छन् त कोही आपराधिक क्रियाकलापमा संलग्न भएर नेपालीको देब्रे हातको धुलाई भेटिरहेछन्, तिमीले नाकका पोरा फुलाएर , जुल्फी हल्लाएर मै हुँ भन्दै मेरा भारत महान भनेर थुतुनो उचाल्नै पर्दैन, हामीलाई तिम्रो राष्ट्रवादी आन्द्राभुँडीको लम्बाइ , चौड़ाई र उचाइको सब नापजाँच राम्रोसँग थाहा छ !

कहिले हो एकचोटि यसो पनि भन्यौ रे,”नेपालको सैन्यशक्ति कमजोर छ, यसलाई त म चुट्कीको भरमा युद्ध लडेरै भएपनि भारतमा गाभ्न सक्छु।”  तिम्रो मोटोबुद्दि, त्यसो भनिरहँदा तिमीले नेपाली राष्ट्रसेवकको त्याग ,बलिदान र साहसको इतिहासलाई स्वाट्टै भुलेछौ। एउटा कुरा याद राख ,नेपालीहरू बरु मर्छौँ तर दुस्मनका अगाडि झुक्ने तत्व हाम्रो रगतमै छैन । विगतका युद्धका डोबहरू एकपटक पल्टाएर पनि हेर, हाम्रो बीरताले विश्व हल्लाएको छ।न हामी कहिल्यै कसैका गुलाम बन्यौँ , न कसैको लोभले तानियौँ न त कसैको उपनिवेश भित्र हाम्फालेर दासी जीवन नै बाँच्यौँ ।

त्यसैले तिमी जाबो धोती लुँडेले हेप्न खोज्दैमा हाम्रो रौं पनि हल्लिदैन बुझ्यौ ? अर्को कुरो,७ नोभेम्बर १९४७ मा ब्रिटेन,नेपाल र भारतबिच भएको त्रिपक्षीय सम्झौता तिमी टोप्रेलाई याद छ कि नाई? छैन भने यता सुन, सम्झौताको आठौँ बुँदामा लेखिएको छ कि ‘नेपाल आफैँ संकटमा परेको बेला या त युद्धमा होमिएको बेला ब्रिटिस तथा भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकहरूलाई नेपालले फिर्ता बोलाउन पाउने अधिकार नेपाललाई छ!’ त्यसैले हाम्रा देशका ७० हजारभन्दा बढी नौजवानहरू आफ्नो सेनामा राखेर तिमीले नेपालसँग जोरी खोज्नै मिल्दैन।

आज तिनै हाम्रा गोर्खा दाजुभाइले तिम्रा दुश्मनका छातीतिर बन्दुक तेर्स्याएर जम्बु काश्मिर तथा पाकिस्तानी बोर्डरमा पहरा दिएका छन् र तिमी दिल्ली दरबारमा आरामसाथ बिरालो घुरेजसरी घुर्दै आरामको निन्द्रा निदाईरहेछौ! तसर्थ हामी बिरुद्द तिमीले थोरैपनि ग़द्दारी गर्‍यौ भने हाम्रै गोर्खा राईफल्सका दाजुभाइले तिम्रो छातीमा गोली ठोक्छन्, तिम्रो नुन खाए भन्दैमा नेपालमाथि जाईलाग्ने तिमी जस्ता गिरोह प्रति नुनको सोझो उनीहरूले गर्दैनन् ।

मेरो यो भनाई भारत र नेपालबिच कुनै युद्ध निम्त्याउने उत्तेजना र आवेगको उक्साहट होइन , यथार्थताको धरातलमा तिमीलाई एकछिन पछारिदनको लागि बोल्नै परेकोले यो भन्दैछु ताकि तिम्रा लोभी आँखाहरू उघारिउन् र तिन्ले इतिहास पढुन् ! हेर भैया, सबै कुरामा सम्झौता गरिन्छ तर राष्ट्र राष्ट्रियता माथि धावा बोल्ने जो सुकै होस् त्यस कुरामा कदापि सम्झौता गरिन्न। तिम्रा ज्यादती विरुद्ध हामी सबै नेपालीहरू एकजुट भएर भारतीय बिस्तारबादलाई मुर्दाबाद भन्दै बोल्न , लेख्न र आवश्यक परे लड्न पनि पछि हट्ने छैनौ! हाम्रो जमिन तुरन्त ईमान्दारीपूर्वक हामीलाई फिर्ता देऊ नत्र तिम्रा चाउरी पर्न लाग्या गालामै गोर्खाली बुटको डाम बसाईदिनु नपरोस्……!

   #जय नेपाल ??

  ज्वाला संग्रौला

प्रकाशित मिति ,२०७४ साल माघ ५ गते, शुक्रवार

प्रतिक्रिया दिनुहोस्