मानसिक समस्यामा परिवारको भूमिका
-डा.विजय ज्ञवाली
मानसिक स्वास्थ्य र परिवारको सम्बन्ध पटक पटक चर्चा भएको विषय हो । मानसिक रोगको प्रमुख उपचार भनेको माया प्रेम र आत्मियता नै हो ।बिरामीको निको हुने प्रकियालाइ पारिवारिक सहयोगले ठुलो प्रभाव पार्ने गर्छ । यस्तो अवस्थामा परिवारको कुनै सदस्य कुनै प्रकारको मानसिक रोगबाट पीडित भएको अवस्था छ भने त्यो अवस्थामा परिवारले कस्तो भूमिका खेल्नसक्छ । यो विषय अत्यन्त महत्वपूर्ण हुन्छ । सिजोफेर्निया, बाइपोलर डिसअर्डर, मेनिया जस्ता गम्भीर मानसिक समस्याको बखत परिवारको सदस्य वा अरू कोहीले कस्तो व्यवहार गर्ने परिवारभित्र कसरी सन्तुलन व्यवहार गर्ने , कति जिम्मेवारी दिने भन्ने विषय एउटा गम्भीर बहसको विषय हो ।
यस सम्बन्धमा म मेरो एउटा अनुभव राख्न चाहन्छु । केही समय पहिले मलाई एकजना नवजात शिशुको आमाले सम्पर्क गरेकी थिइन् । भर्खर अस्पतालबाट बच्चा सहित घर आएकी उनको प्रमुख समस्या भनेको उनको घरमा रहेकी दिदीको समस्या थियो । दिदी सिजोफेर्निया नामक मानसिक रोग बाट पीडित थिइन् र उपचारको क्रममा थिइन्। उनीबाट आफ्नो बच्चालाई कुनै हानी हुन्छ कि भन्ने सम्बधमा उनले मलाई सम्पर्क गरेकी थिइन् । सिजोफेर्नियाको उपचारमा रहेकी दिदीसँग आफ्नो बच्चालाई छोडेर कतै जानु कत्तिको सुरक्षित हुन्छ भन्ने उनले जानकारी मागेकी थिइन् ।
यसै गरी अर्को एक घटनामा एक महिलाले बाइपोलर डिसअर्डरबाट पीडित आफ्नो केटा साथीसित कस्तो सम्बन्ध राख्ने भन्ने सम्बन्धमा म सित सल्लाह मागेकी थिइन् । उनको चिन्ता त्यो सम्बन्धलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने सम्बन्धमा थियो । यी दुवै घटनामा बिरामीको परिवारलाई बिरामीको रोगको बारेमा ओरियनटेसनको आवश्यकता रहेको देखियो । बिरामीको परिवारलाई रोगको बारेमा प्रयाप्त जानकारी नहुँदा यस्तो प्रकारको अप्ठारो पटक पटक पर्नसक्छ । बिरामी प्रति प्रशस्त माया सद्भाव हुँदा हुँदै पनि यस्ता घटनामा परिवार र बिरामी बिच गहिरो खाडल बन्न सक्छ । तसर्थ यस्ता कुरामा परिवार जन बेलामा सजग हुनुपर्छ । मानसिक बिरामी र परिवार बिचको अप्ठ्यारो पनलाइ कम गर्न परिवार अथवा प्रियजनहरुले निम्न कुरामा ध्यान दिनुपर्छ ।
१. रोगको बारेमा जानकारी राख्नु
परिवारको सदस्य या प्रियजन लाई कस्तो समस्या छ त्यसको बारेमा सबैभन्दा पहिला सही जानकारी आफूले राख्नु पर्छ । समस्या सामान्य किसिमको पनि हुनसक्छ अथवा कतिपय अवस्थामा जटिल पनि हुनसक्छ । त्यसैले आफन्तको रोगको बारेमा जानकारी राख्नु अत्यन्त जरुरी हुन्छ । विशेष गरी समस्याको चरण , लक्षणहरू , औषधीको साइड इफेक्ट , रोगको चरम अवस्था र यसबाट उत्पन्न हुन सक्ने परिस्थिति जस्ता विषय बस्तुमा विज्ञबाट जानकारी हासिल गरी प्रियजनको रोगको बारेमा सबै सूचना संकलन गर्नु पर्छ ।
२. बिरामी प्रतिको अपेक्षा र बिरामीको परिवारसँगको अपेक्षा
परिवारमा प्रत्येक व्यक्तिको आ-आफ्नो भूमिका र जिम्मेवारी रहेको हुन्छ । बिरामी पनि परिवारको महत्वपूर्ण सदस्य भएको हुनाले उसको पनि परिवारमा निश्चित जिम्मेवारी रहन्छ । त्यस्तो अवस्थामा परिवारका अन्य सदस्यले बिरामीबाट कुनै पनि जिम्मेवारीको अपेक्षा कत्तिको राख्ने भन्ने कुरा अत्यन्त महत्वपूर्ण हुन्छ । बिरामीको अवस्थाको बारेमा जानकारी राखेर उसलाई क्षमता अनुसार उसलाई जिम्मेवारीबाट वन्चित गर्नु हुँदैन । बिरामीलाई उसको क्षमता अनुसारको जिम्मेवारी दिँदा उसमा आएको परिवर्तन अवलोकन गरी सहयोग गर्नुपर्छ । रोगको प्रकृति अनुसार बिरामीको एमोशन , मुडमा परिवर्तन आउने हुँदा सकभर प्रत्यक्ष निगरानीमा गरिने जिम्मेवारी दिनुपर्छ । बिरामीको पनि परिवारबाट विभिन्न अपेक्षा हुन्छ । ती अपेक्षाहरूलाई पुरा गरिदिन परिवारका सदस्य तयार रहनु पर्छ । बिरामीको कुरा धर्यपुर्वक सुनेर उसको सम्मान गर्न चुक्नु हुँदैन । असम्भव कुरा छन् भने त्यसको पनि व्याख्या गर्नुपर्छ । घर सल्लाह जस्ता कुरामा बिरामीलाई अलग नराखी उसको अवस्था हेरेर सामेल गर्नुपर्छ ।
३. सहयोग केन्द्रको जानकारी र उपचार प्रक्रियाको पहुँचमा सहयोग
परिवारको सदस्य मानसिक रूपमा अशक्त भएको बखत त्यो रोगसँग सम्बन्धित उपचार केन्द्र, आपतकालीन सहयोगको लागि सम्पर्क केन्द्रको बारेमा परिवारका सबै सदस्यमा राम्रो जानकारी हुनु पर्दछ । मानसिक स्वास्थ्य सित सम्बन्धित समस्या भएको व्यक्तिलाई आफू मानसिक रोगबाट पीडित भएको महसुस नभएको पनि हुनसक्छ । त्यो अवस्थामा बिरामी उपचार प्रक्रियाको पहुँचमा नपुग्न सक्छ । त्यो अवस्थामा परिवारको भूमिका विशेष रहन्छ । परिवारले उपचारको प्रक्रिया र पहुँचसम्म पुर्याउन सहयोग गर्नुपर्छ ।
४) उपचार प्रणालीको बारेमा जानकारी
मानसिक स्वास्थ्य सित सम्बन्धित उपचार प्रणाली विभिन्न किसिमका छन् । आफ्नो परिवारको सदस्यको कस्तो प्रकारको चिकित्सकीय विधिले उपचार हुँदैछ । कस्तो प्रकारको औषधीको सेवन गरेको छ । त्यसको साइड इफेक्ट कस्तो हुन्छ ? कति समय , कति मात्रा ? जस्ता विषयमा जानकारी राख्नुपर्छ । कतिपय औषधी प्रत्यक्ष निगरानीमा खानु पर्छ त्यसको बारेमा पनि जानकारी राख्नु उपयुक्त हुन्छ । उपचारमा संलग्न चिकित्सक मनोबिद सित निरन्तर सम्पर्कमा रही जानकारी लिनुपर्दछ । बिरामीमा कुनैपनि फरकपन अप्ठ्यारोपन देखिएमा उपचारमा संलग्न चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
५ ) सामाजिक मिथ्यासँग लड्न सहयोग
हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्तिप्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ । जनचेतनाको कमी या यसप्रतिको बेवास्ताको कारण यस्तो समस्याको बारेमा विभिन्न मिथ्याहरू रहेको पाइन्छ । मिथ्याका कारण बिरामीले आफ्नो परिवारबाट , समाजबाट , कार्य क्षेत्रमा अप्ठारो परिस्थितिको सामना गर्नुपर्ने भएको हुनसक्छ । त्यो अवस्थामा उसको अवस्था जानकारी राखेको व्यक्तिको ठुलो भूमिका रहन्छ । मानसिक समस्यासित लड्न जति गाह्रो छ त्यतिनै सामाजिक मिथ्यासित लड्न गाह्रो छ । धेरै व्यक्तिहरू मिथ्याका कारण थप पीडित हुने हुँदा त्यस तर्फ परिवारका सदस्य सजग हुनु जरुरी छ । कहिले कहीँ त्यस्ता मिथ्या परिवार भित्र नै पनि रहन सक्छ । तसर्थ परिवारका सबै सदस्यले बिरामीको रोगको छलफल गरी सूचना आदान प्रदान गर्नुपर्छ ।
मानसिक रोगको प्रभाव ठुलो हुन्छ । यसले बिरामीलाई मात्र नभएर परिवारका सदस्यलाई पनि प्रत्यक्ष अप्रत्यक्ष असजिलो बनाउँछ । तर बिरामीको रोगको बारेमा जानकारी राखेर परिवारले बिरामी ठिक हुने प्रक्रियामा ठुलो भूमिका खेल्न सक्छ । यसैगरी यो प्रक्रियाले बिरामीको र परिवारको सम्बन्धलाई सहजीकरण गर्ने काम गर्छ ।