चिसोले गर्दा मुटु रोगी बढे : हर्टअट्याकका कारण कैलालीमा २० दिनमा १० जनाको मृत्यु
दस्तावेज संवादादाता,पौष २१ गते शुक्रवार ,२०७४,धनगढी – कैलाली जिल्लामा चिसो बढेयता मुटु रोगबाट ज्यान गुमाउनेहरुको संख्या बढेको छ । चिसोले रक्तनली खुम्चिने र प्रयाप्त रक्तसञ्चार नहुँदा मुटुरोगीमा हृदयघातको समस्या देखापर्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जुन पछिल्लो समय स्वास्थ्य क्षेत्रमा मुटु रोग प्रमुख चुनौतीका रुपमा देखा परेको उनीहरुको भनाई छ ।
पुस १ गतेदेखि २० गतेसम्म मात्रै कैलालीमा १० जना मुटुरोगका विरामीहरुको ज्यान गएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पछिल्लो २० दिनको अवधिमा सेती अञ्चल असप्तालबाट मात्रै ८ जना मुटुका विरामीको मृत्यू भएको इमरजेन्ज्सी इन्चार्ज कृष्ण बोहराले जानकारी दिए ।
यस अवधिका धेरै मानिसमा पक्षघातको समस्या समेत देखापरेको उनले बताए । चिसो बढे संगै दैनिक १० जनासम्म मुटुरोगीहरु उपचारका लागि अस्पताल पुग्ने गरेका इमरजेन्सी इन्चार्ज बोहराले जानकारी दिए । बोहराका अनुसार मृत्यू हुनेमा युवादेखि वृद्धवृद्धासम्म रहेका छन् । यसै गरी २० दिनको अवधिमा नवजीवन अस्पताल धनगढीमा उपचार गराउन आएका २ जना मुटुरोगीको मृत्यू भएको फिजिसियन डाक्टर कृष्णचन्द अधिकारीले जानकारी दिए । पछिल्लो समय नवजीवनमा पनि मुटुरोग भएका विरामीहरु उपचार गराउन आउने क्रम बढ्न थालेको उनको भनाई छ ।
मुटुका रोगीलाई चिसोयाममा बढी समस्या हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । उच्च रक्तचाप, मधुमेह र शरीरमा बोसोको मात्रा बढी हुनु जस्ता मुटुका बिरामीलाई चिसोयाममा बढी समस्या हुने गरेको पाइएको छ । चिसोमा रक्तनलीहरु खुुम्चिने र त्यसले शरीरमा प्रयाप्त रगत प्रवाह नहुँने हुँदा हृदयघात भई मृत्यूहुने रोगीको संख्या बढेको सेती अञ्चल अस्पतालका इमरजेन्सी इन्चार्ज बोहराले जानकारी दिए ।
मुटु सम्बन्धी समस्या भएका रोगीहरुले चिसोयाममा स्वास्थ्यको विशेष ख्याल गर्नु आवश्यक हुने बोहराले बताए । तर धेरै मुटुरोगीहरु भने स्वास्थ्यको ख्यालनै नगरी आफ्नै काममा व्यवस्त हुने हुँदा रोगीहरुमा बढी समस्या देखापर्ने गरेको उनको भनाइ छ ।
विलासिता जीवन जिउने, अत्याधिक मदिराजन्य पदार्थ सेवन गर्ने, धुम्रपान गर्ने र शारीरिक व्यायम नहुँदा मुटुरोग लाग्ने गरेको नवजीवन अस्पताल धनगढीका फिजिसियन डाक्टर कृष्णचन्द अधिकारीले बताए ।
यसैगरी बढ्दो वायू प्रदुषण र बंसजका आधारमा पनि मुटुरोग लाग्ने गरेको उनको भनाई छ । चिसोमा मुटुरोग भएका मानिसलाई स्वास्थ्यमा समस्या हुँदा तत्काल स्वास्थ्य संस्थामा जानु उपयुक्त हुने उनको सुझाव छ । उनले वृद्धवृद्धामा मुटुरोगको समस्या देखापरे तत्काल उपचार सेवा पाएको खण्डमा बाँच्ने संभावना बढी हुने भए पनि युवामा त्यस्तो संभावना न्यून हुने गर्दछ ।
उनले भने,‘वृद्धा अवस्थामा नशाको आकार बढ्ने हुँदा उपचार गर्न सहज हुने भए पनि युवा अवस्थामा नशाको आकार समेत प्रयाप्त नखुलिसकेको हुने भएका कारण उपचार गर्न केही जटिल हुने गर्दछ ।“ तर नियमित स्वास्थ्य चेकजाँच गराउने, बोसोजन्य खानेकुराको प्रयोग कम गर्ने, धुम्रपान तथा मध्यपान सेवन नगर्ने गरेमा धेरै हदसम्म मुटुरोग लाग्नबाट बच्न सकिने फिजिसियन डाक्टर अधिकारीको भनाई छ । नसर्ने रोग नियन्त्रण स्वास्थ्य विज्ञान क्षेत्रको प्रमुख चुनौची बन्दै गएकोे स्वास्थ्यकर्मीहरु बताउँदै आएका छन् ।