Logo

राज्यको संस्कृतिमाथिको बिभेदपूर्ण नीतिको विरोध गरौँ

                     

                              

                                            – फूरलाक्पा शेर्पा

हाम्रो देश नेपाल बहुभाषिक ,बहुधार्मिक ,बहुसांस्कृतिक मुलुक हो । जहाँ मिश्रित समाज र समुदायहरू लामो समयदेखि बसोबास गर्दै आएका छन् । फरक भूगोल र फरक हावापानीको कारण नेपालका सबै समुदायहरूको मौलिक संस्कृति र रहनसहन भिन्न भिन्नै रहेको छ ।

भिन्न भिन्नै समुदायको भाषा र संस्कृतिको कारण नेपालमा अनेकतामा एकता छ । सबैको फरक भाषा र संस्कृतिले नेपाल रंगीचंगी फुलबारी जस्तो सुन्दर देशको रूपमा चिनिएको छ । समय परिस्थितिसँगै नेपालमा अहिलेसम्म विभिन्न कालखण्डहरूमा धेरै परिवर्तनहरू भइसकेका छन् । जनताको संघर्षले भएका ती परिवर्तनहरूमा सबै जातजातिहरुको महत्वपूर्ण योगदान रहेको छ । तर विडम्बना नै भन्नुपर्छ त्यतिका परिवर्तनहरू भएपनि अझै पनि देश एक जात, एकै भाषा, एकै संस्कृति मान्ने समुदायले नै हालीमुहाली गर्दै आएको देख्दा दुख लाग्छ ।

सीमित जातले लामो समयदेखि राज्य सत्ता चलाउँदै आउनुको साथै उनीहरूले गर्दै आएको एकात्मक शैलीका कारण देशले सोचेजस्तो मुहार फेर्न सकेको छैन । विश्व समुदायमाझ नेपाल प्राकृतिक सुन्दरता र विविध जातजातिको संस्कृतिको कारण परिचित भए पनि सीमित शासक वर्गको साँघुरो सोचको कारण देश अघि बढ्न सकेको छैन । वास्तवमा देशमा अहिलेसम्म सबै भाषा बोल्ने, भिन्न संस्कृति मान्ने सबै समुदायका जनतालाई समान अवसर प्रदान गरी अगाडी बढाउनु पर्नेमा अहिलेसम्म जातमा खस र आर्य, धर्ममा हिन्दु धर्म मान्ने समुदायको जीवनस्तर उकास्ने सोच मात्र बढेको पाइयो ।

मुलुक धर्मनिरपेक्ष राष्ट्रको रूपमा घोषणा भइसके पनि अझै पनि षड्यन्त्रपूर्ण ढंगबाट नेपाल हिन्दु राज्य हुनुपर्छ भन्नेहरू छन् । नेपालका सरकारी कार्यालय, सुरुक्षा निकाय, प्रहरी, सेना र राजनीतिक दलका कार्यलयहरुमा झुण्डाइरहेको हिन्दु भगवानका तस्बिरहरू, जागिर खादा अनिवार्य रूपमा धर्ममा हिन्दु धर्म लेखिनुपर्ने, शपथ खादा गीतालाई छुनु पर्ने, नागरिकता लिँदा ढाका टोपी लगाउनुपर्ने र अनिवार्य खस भाषा बोलिनुपर्ने जस्ता बाध्यात्मक व्यवस्था अझैपनि लागु गरिनु अन्याय कार्य हो ।

 यी बाध्यात्मक सोचहरू नहटेसम्म मुलुकका सबै जातजाति र सबै धर्म सम्प्रदायको भावनामाथि खेलबाड गरेको देखिन्छ । मुलुकमा हिन्दु धर्मलाई महत्व दिनु, संस्कृति शिक्षा र खस आर्य भाषालाई प्राथमिकता दिनले पनि एकात्माक बाध्यकारी व्यवस्था सिर्जना भएको छ । राज्यसत्तामा बस्नेहरुको संकुचित सोचकै कारण हिन्दु र खस आर्य भाषा बोल्नेबाहेक अरू भाषाभाषी समुदाय र धार्मिक समुदाय राजनैतिक, सरकारी सेवा र सञ्चार जगतमा आउन नसकेको देखिन्छ ।

यस किसिमको सोचबाट अझै पनि बाहिर निस्कन सकेन भने अबका दिनमा अन्य समुदायले आफ्नो भाषा, धर्म र संस्कृति बाध्यताले बिर्सनु पर्ने देखिन्छ । यदि नेपालमा रहेका विभिन्न समुदायले बोल्दै आएका भाषाहरू र धर्म संस्कृतिहरू हराउँदै गए नेपालको परिचयमाथि संकट आउने देखिन्छ ।

लामो समयदेखि राज्यसत्ताको एकल जातीय सोचकै कारण नेपालमा हिन्दुहरूको लागि संस्कृति संरक्षणका लागि निर्माण गरिएका संस्कृत अध्ययन केन्द्र, विश्वविद्यालय, मठ मन्दिर र पण्डितहरूको नाममा राज्यकोषबाट करोडौ बजेट निकासा हुँदै आएको छ । तर त्यही अनुसार अन्य भाषाका समुदायहरूको धर्म संरक्षणका लागि अध्ययन केन्द्र त के अन्य भाषाभाषी र धर्मको नामसमेत लिन नचाहनु दुर्भाग्य हो । नेपालमा हिन्दु धर्म र खास आर्यन भाषासँगै बौद्ध, इसाई, मुस्लिम, किराँत धर्मलम्बीहरुको साथै कैयौं मौलिक भाषा बोल्ने जातजातिहरु सदियौदेखि बस्दै आएका छन् ।

उनीहरूको धर्मको आस्थाको केन्द्र स्तुपा, गुम्बा, चर्च, मस्जिद जस्ता धार्मिक स्थलहरूमा राज्यले सहयोग गर्न नसक्नु एकात्मक सोचकै रूपमा लिनुपर्छ । राज्यले यी धार्मिक आस्थाका केन्द्रहरूमा सहयोग गर्नु त परै जाओस् बेलाबेला विभिन्न बहानामा दुःख दिनु अत्यन्तै गलत कार्य हो । यस्तै साँघुरो सोच र गतिविधिको कारण हाम्रो भाषा र धर्म संस्कृतिलाई एकात्मकबादी राज्य सत्ताले हत्या गर्न खोजिएको देखिन्छ ।

यसरी नै हाम्रो पहिचानलाई क्षति गर्दै गए राज्यपक्षले यसको सबै क्षति बेहोर्नुपर्दछ । राज्यको यी गैरन्यायीक विभेदपुर्ण सोच र व्यवहारको कारण विभिन्न जनजातिहरूले नेपालमा र विदेशमा समेत आफ्नो भाषा बोल्न र प्रयोगमा ल्याउन समेत कठिन भइरहेको छ । जुन अन्यतै दुखद पक्ष हो । अबको नयाँ नेपालमा देशवासी सबै नेपाली जनताले मान्ने सबै धर्म र बोलिने सबै भाषालाई समान अधिकार दिँदै राष्ट्रको विकास निर्माणमा सबै नेताहरू र पार्टी अघि बढ्नुपर्छ ।

सबै जाति जनजाति र समुदायको सम्मानजनक सहभागिता र साझा भावनाले मात्र देशको विकास गर्न सकिन्छ भन्ने सोच र चिन्तन अबको जन प्रतिनिधिहरूमा हुनुपर्छ । लामो समय एकात्मक सोचबाट गुज्रेको मुलुकमा अब नयाँ सोचका साथ परिवर्तन आउनु जरुर देखिएको छ ।

प्रकाशित मिति, २०७४ साल, पौष २१ गते, शुक्रवार 

प्रतिक्रिया दिनुहोस्