Logo

मेरो दशैं खै ?

निधारदेखि गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा खल्तीमा राखेर छन्द्राङछन्द्राङ पार्दै, दिनैभरी गन्दै हिड्न पाइन्थो र पो दशैं आएझैं  लाग्थ्यो । मामा घर जाँदा त्रीबेणी,अर्थुन हुँदै उरामबाट वहाकी अनि सेतिबेनी जाँदा जहिले राती हुन्थ्यो, हिंड्न नसकेर बाबाको काँधमा बस्न पाइन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो            

              -बाल कुमार छेत्री

आँधिखोला महापुरको रातो गेरु माटो,लुन्खु मुनि बान्द्रे र अर्घाउदिको सेतो कमेरोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दशैं आएझै लाग्थ्यो । दशैंलाई भन्दै हान्ने बोको गोठमा बाँधिन्थ्यो र पो दशैं आएझै लाग्थ्यो ।

भुसाल काइला र रीजाल कान्छा जीबा(हाल शोभाकान्त रिजाल दाजी बस्दै आउनु भएको ) घरमा दशैंलाई भन्दै साँचेर राखेको काक्रो झिक्रामै पाकेर पहेलै पट्पटी फुट्थ्यो र पो  दशैं आएझैं लाग्थ्यो । थुम्किमा चर्खे पिङ्को लागी मैनखाबो काट्न धुसेनी बन गइन्थो लठ्ठे पिङको डोरी बाट्न -बाबियो उठाउँदै हिडिंन्थो, किक्रीक माथि खर्बारीमा गैइन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।

पिङ खेल्न भन्दै कहिले नेकर्गा, भर्मा गोहपुक,कहिले सरौखोला त कहिले काहुँ अनि हिले पुगिन्थ्यो र पो दशै आए जस्तै लाग्थ्यो।पिङ खेलेर भन्दा पनि सङीहरुलाई पिङमा मचाउदा ज्यान थाकेर बिहान अबेर सम्म सुत्दा पो दशैं आएजस्तै लाग्थ्यो।
दशैंलाई भन्दै टेको लगाएर राखेको केरा पाखिम्बासतिर बोट्मै पहेंलपुर हुन्थो र पो दशैं आएझैं लाग्थ्यो ।

दशैंलाई भन्दै धान, कुट्दा सौरिकोट,भुर्तेलथोक,धरम्पानी,पाट्नेथर हाम्रै गाउँ हटीया अनि हुवास र गेडीखोलातिर ढीकिको भक्राइट्याँइ भक्राइट्याँइको मिठो धुनले गाउँ गुन्जिदा पो दशैं आएझैं लाग्थ्यो । गाउँ घरका पानी कुवाहरु ,सानो पधेरो र गजे पँधेरो अनि हुवासतिर अनि हटीयातिर सरसफाइमा जुटिन्थ्यो र पो दशैं आए झैं लाग्थो ।

मिठो मसिनो कुट्नु-पिन्नुको लागि आमाहरू लाई ढिकी जाँतोमा रातैभरी भ्याइ नभ्याइ हुन्थो र पो दशैं आएझैं लाग्थ्यो  ।
 दशैंमा फलानो आयो रे फलानोले नासो पठाएछ भनेर कुरा गर्न पाईन्थ्यो ,जम्दार भेना, मुखिया अंकलहरू छुट्टी आउँदै छन् रे भन्दा र पो  दशैं आएझैं लाग्थ्यो ।

पोहोरको दशैंमा यती दक्षिणा भाथ्यो अहिले कति हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।
वर्ष कुरेर बल्लबल्ल नयाँ लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थ्यो । अघिपछी दुई चोक्टा मासुसँग कचौरा भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थो र पो दशैं आएझैं लाग्थो ।

लाहुरेहरु हररर अत्तर बसाउँदै भरिया लगाएर वालिङबाट पैउँतिर टेप रेकर्डर घन्काउदै डुम्रे भन्ज्याङ्को ओरालो झर्थे र पो  दशैं आएझैं लाग्थ्यो ।  घरछेउको कटहरको रुखमा पिङ हालिदिनु पर्छ भनेर साँहिली ,कान्छी फुपु र आमा बाबासँग माग राखेर लडिबुडी खेल्दै रुँदै बसिन्थ्यो र पो  दशैं आएझैं  लाग्थ्यो ।

निधारदेखि गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा खल्तीमा राखेर छन्द्राङछन्द्राङ पार्दै, दिनैभरी गन्दै हिड्न पाइन्थो र पो दशैं आएझैं  लाग्थ्यो । मामा घर जाँदा त्रीबेणी,अर्थुन हुँदै उरामबाट वहाकी अनि सेतिबेनी जाँदा जहिले राती हुन्थ्यो, हिंड्न नसकेर बाबाको काँधमा बस्न पाइन्थ्यो र पो दशैं आएझैं लाग्थ्यो ।

टिका लगाउँदै हिंड्दा कोहि कोही मान्यजनले यो त छोरोमान्छे पो हो त, छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरा भएर जन्मेकोमा पछुतो मानिन्थो र पो दशैं आएझैं लाग्थ्यो । ………… तर अहिले त्यो दशैं  खै ? उफ् ……….सम्झिदा पनि बिरक्त लागेर आउँछ । समय र काल खण्डसँगै  सबै कुरा परिवर्तन हुँदै आउने रहेछन् ।

    हाल, काबुल,अफगानिस्थान 

प्रकाशित मिति, २०७४ साल आश्विन ७ गते, शनिबार 

प्रतिक्रिया दिनुहोस्