नेयमरका कसरी पुगे बार्सिलोना ? नेयमरका उतारचढावहरु
दस्तावेज ,श्रावण २१,शनिबार,२०७४ नेयमरको अपेक्षित विश्व स्थानान्तरण शुक्रबार पूरा भएको छ, बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) मा । यसले बार्सिलोनामा बिताएको चारवर्षे उनको यात्रामा पूर्णविराम लागेको छ । बार्सिलोना जर्सीमा उनको खेल जीवनले सामना गरेका उतारचढाव यस्ता छन् ,
सुखद पक्ष
तीन स्टारको चमत्कार
नेयमर, लियोनल मेसी र लुइस स्वारेजले सँगै बिताएको पहिलो सिजन खुबै सफल रह्यो । उनीहरूलाई रोक्ने कोही देखिएनन् । सन् २०१४–१५ को सिजन उनीहरूले तीन उपाधि जिते– ला लिगा, च्याम्पियन्स लिग र कोपा डे रे । त्यस सिजन नेयमर आफैंले राम्रो खेले, पीएसजी र बायर्न म्युनिखविरुद्ध ३–३ गोल गरे । युभेन्ट्सविरुद्धको फाइनलमा पनि उनले गोल गरे । त्यससँगै उनी रहे, मेसी र क्रिस्टियानो रोनाल्डोको बराबरीमा धेरै गोल गर्ने ।
मेसी छैन, समस्या छैन
नेयमरले बार्सिलोना छाड्नुको प्रमुख कारण मानिएको छ, मेसीको छायाँबाट पर जाने । उनी चाहन्छन्, मेसी र रोनाल्डोको दबदबा रहेको बालोन डे’अर जित्ने । मेसीसँगै खेल्दा नेयमरको खेल पनि उत्तिकै स्तरीय देखिन्छ । सन् २०१५ तिर एकपल्ट मेसी घाइते हुँदा नेयमरको खेल अझ स्तरीय देखियो । मेसीबिना ९ खेलमा नेयमर र स्वारेज मिलेर ११ गोल गरे । त्यसै क्रममा त हो, बार्सिलोनाले सान्टियागो बेर्नाबेउमै रियल म्याड्रिडलाई ४–० ले हराएको ।
पीएसजीको जादू
च्याम्पियन्स लिगको इतिहासमै सबैभन्दा ठूलो पुनरागमन मानिन्छ, बार्सिलोनाले पीएसजीविरुद्ध रचेको । पहिलो लेगमा ४–० ले जितेर पनि पीएसजी दोस्रो लेगमा ६–१ ले पराजित रह्यो । त्यो खेल नेयमरको वरिपरि घुमेको थियो । फ्री–किक र पेनाल्टीबाट उनले उत्कृष्ट गोल मात्र गरेनन्, सर्जियो रोबर्टोको निर्णायक गोलका लागि पास पनि उपलब्ध गराए । बार्सिलोनाले अन्तिम ७ मिनेटमा तीन गोल गरेको थियो । अहिले सायद पीएसजीले त्यसैको बदला लिएको छ, नेयमरलाई अनुबन्ध गरेर ।
खराब पक्ष
अदालती झमेला
सन् २०१३ मा नेयमर बार्सिलोना आएका थिए । तर उनको जुन स्थानान्तरण रह्यो, त्यो विवादास्पद रह्यो । त्यसविरुद्ध स्पेनमै दुई अदालती प्रक्रिया चल्यो । बार्सिलोनाले पहिलो मुद्दालाई त पार लगाएको छ । अर्को मुद्दा अहिले पनि चलिरहेको छ । सन् २०१६ मा नेयमर आफैं अदालतमा उपस्थित रहन बाध्य रहे । मुद्दा अगाडि बढ्ने क्रममा नेयमरलाई फेरि अदालतमा उपस्थिति हुनुपर्नेछ, यदि उनको आवश्यकता पर्छ भने ।
पूरा नाम : नेयमर डा सिल्भा सान्तोस जुनियर
जन्ममिति : सन् १९९२ फेब्रुअरी ५ (२५ वर्ष)
श्रोत,कान्तिपुर