Logo

नेपालमा कोई ” माईकालाल ” जन्मिन्छ की जन्मिन्न ?

   – प्रवीण अधिकारी 

नेपाललाई रोगी बनाएर थलाईएको २८ बर्ष भयो । आजसम्म नेपालको रोग चिनेर उपचार गर्न कस्सिने मान्छे नेपालमा कोही जन्मिएको देखिएनन । विभिन्न आयातित वादको खोल ओढेका राजनैतिक दल र तिनका कमारा कमारी बनेर अहिले यो मुलुकमा डलर, युरो, भारु तथा विभिन्न राष्ट्रको हुण्डी खाएर डकार्ने लेखक, कर्मचारी, सुरक्षाकर्मी, अधिकारकर्मी, उध्योगी, व्यापारी, राजनीतिज्ञ, कूटनीतिज्ञ, कानुनविद, विश्लेषक, प्राध्यापक, अन्वेषक र विज्ञको आवरणमा हुर्केका तमाम वर्गहरु खुलेआम रुपमा ती राष्ट्रहरुको एजेन्डाको पैरवी गर्दै हिंड्दै छन् ।

मुलुक दिनकादिन कमजोर हुँदै जाँदैछ । ती व्यक्तिहरूलाई समाउदै कोच्दै गर्न सक्ने कोही जन्मिएको देखिन्न ,मनोमानी शासन व्यवस्था हुर्केको छ ,विधिको शासन व्यवस्था जगैदेखि ढालिएको छ । अहिले नेपालमा झन्डै २६ राष्ट्रका ४० हजार एनजीओ कार्यरत छन् अरे । तिनले स्वास्थ्य, सामुदायिक विकास, गाउँको उत्थान नारा लिएर गाउँ गाउँमा पुगि ईशाइको प्रचार गरिरहेका छन् । मिलेर बसेका जातजातिबीच घृणा र भ्रम फैलाउनु तिनको ध्येय रहेको छ । यता , यस विश्वको सवभन्दा पुरानो सेना नेपाली सेना अव ‘गोर्खा रेजिमेन्ट’ बन्ने प्रक्रियालाई मुक दर्शक भएर समर्थन गर्दै हेरिरहेछ ।

भारतीय गुप्तचरहरूको पालन पोषणमा दश वर्षसम्म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, विभाग लगायतका सम्पूर्ण राज्यसंयन्त्र विरुद्ध कथित जनयुद्ध गर्ने माओवादीलाई पश्चिमी राष्ट्रका संस्थाहरूले ठूलो आर्थिक सहायता गरेको खुलासा गरिसकेको अवस्था छ।संघीयता र गणतन्त्रलाई स्थापित गर्न राष्ट्रियता विस्थापित गरिसकिएको छ। माओवादी मार्फत नेपालमा भित्र्याइएका गलत एजेन्डाबारे बृहत वौद्धिक बहस कहिल्यै हुन सकेको छैन ।

काम्लोमा मुछेको सातु निल्न सबैको तँछाड मछाड छ। सबै नेताहरु त्यतै झुम्मिएका छन् ,एउटापनि मुलुक बोल्ने नेता जनताको नजरमा छैनन् । नेपालीहरुको नेपालबाट विस्थापित हुने क्रम बढदो छ । सरकारी जागिरमा रमाउनेको अवस्था सुरक्षित देखिएपनि राष्ट्र सुरक्षित छैन । द्दन्द र तनाव बढाएर नेपालको धमिलो पानीमा माछा मार्न चाहने नेताहरुको वाहुल्यता भित्र देश पिसिएको छ । स्वदेशको अहित चिताएर विदेशकोलागि काम गर्ने बढिरहेछन ।  नेपालमा राष्ट्रघातीहरू सुखसुविधाले सुसज्जित भएका छन्र राष्ट्रवादीहरू लज्जित छन् । यो राष्ट्र अब कसले बचाउन सक्छ ? कोही छ ?

प्रकाशित मिती २०७४ साल श्रावण १९ गते बिहिबार 

प्रतिक्रिया दिनुहोस्