के गरिब हुनु भनेको बोक्सीको अर्को नाम हो ?
– सिन्धु पौडेल
ढक्…. ढक् …… ढक् ……..बाहि बाट कसैले ढोकामा जोडले ढक्ढक्याएको आवाज आउँछ । को हो भन्दै रतियाले बिस्तारै उठेर ढोका खोलेर हेरी पल्लो घरबाट छिमेकी बज्यै आउनु भएको रहेछ ! उसले ढोका आधा मात्र खोलेकी थिई । सामने बज्यैलाई देखेर उ आश्चर्य चकित हुदै सोध्न थाली , बज्यै यो साँझको बेलामा म गरिबको घरमा के भन्न आउनु भयो कुन्नि ? केहि काम पर्यो कि ? भन्दै नजिकैको मक्किसकेको कुर्सी देखाउदै बस्न अनुरोध गरि । बज्यै नाक खुम्च्याउँदै बसिन् र भनिन् हेर रतिया म त संग कुनै काम छ गर्न आइज भनेर बोलाउन आएको हैन । मलाई यति बेला पैसाको खाँचो परेको छ ,अब त तेरो छोरा विदेश गएको पनि ३ महिना हुने बेला भैसक्यो तैले म संग तेरो छोरा विदेश जादा लिएको ऋण तिर्नु पर्दैन ? कहिले तिर्छेस ?
रतिया बज्यैको अगाडी मुर्तिबत् बसिरह्न्छे,
बज्यै एकनासले बोलिरहींन् ,हेर अब कमाएर पनि पठायो होला ,तेती बेला तैले बज्यै म १ महिनामा छोराले पैसा पठाउने बित्तिकै तिर्छु भनेकी हैनस ? अहिले तेरो छोरो विदेश गएको पनि ३ महिना बितिसक्यो अब त तिर्नु पर्छ नि !
हेर रतिया भनिदिएको छु आउने महिनामा तैंले जसरी पनि मेरो पैसा तिर्नुपर्छ नत्र तँलाई मैले जानेको छु के गर्नु पर्छ भनेर तेरो के हबिगत बनाउछु हेर्दै जा ! यस्तो आवेगमा आएर धम्किपूर्ण भाषामा उनि धम्क्याउदै बाहिरीन् !
उ चुप चाप नीरिह भएर ढ्याम्म ढोका लगाउदै थचक्क भुइँमा बसेर एक्लै बर्बराउन थाली,
साँच्ची किन होला भुवनले फोनपनि गरेको छैन जाने बितिक्कै एकपटक फोन गरेर आमा म आइपुगे नआत्तिनु है मैले साथीकोबाट फोन गरेको भनेको छोरो आज ३ महिना बितिसक्दा पनि फोन गरेको छैन ।
आखिर के भयो त्यसलाई ? कतैबाट केहि खबर पाउदिन एकपटक त सोच्नु पर्छ नि त्यसले ? म बुढी आमाको बारेमा
यस्तै सोच्दा सोच्दै आँखाबाट बर्रर आशुको थोपा भुइँभरि पोखिन्छन् । उ कतिबेला त्यही चिसो भुइँमा निदाईछ पत्तो भएन । बिहानको भालेको डाँकसँगै सानो आँखीझ्यालबाट आएको चिसो र भुइँको चिसोले गर्दा बिउँझिई । आँखा ओभानो भए पनि बेस्सरी सुन्निएका थिए । मनमा अनेकथरी कुराहरु सोचेर बस्दै घरको यौटा सानो कुनामा भएको चुल्होमा आगो बालेर चिया बनाएर पिउन लागेको थिई फेरी उही पल्ला घरको बज्यैले बोलाईन् , रतिया एइ रतिया !
तेरो फोन आएको छ ! कस्ले बज्यै ? खै चिन्दिन म कस्ले हो विदेशबाट भन्छ ! रतियाको खुशीको सिमा नै रहेन,
के साच्चै मेरो प्रार्थना भगवानले सुनेकै हो त ? यस्तै सोच्दै मख्ख पर्दै छोरासंग फोनमा कुरा गर्न कुँदेर फोन हातमा लिएर हेल्लो भुवन किन बाबु तैले आज सम्म फोन नगरेको ? छोरा के भयो तँलाई तँ सन्चै छस् नि ? खान बस्न सुबिधा कस्तो छ बाबु ? बिहान बेलुका समयमा खाना खा है ? छोरा म त यहाँ तेरो पिरै पिरले थलिएर मर्न आटिसकेको थिए छोरा ! मानौ उ पागल जस्तो या भनौ धेरै बर्षपछी बिछोडिएर घर फर्केको छोरा संग मन भरिको दुखेसो कसैको कुरा नसुनी पोखिरहेकी थिई । आखिर आमाको मन न हो !
तर यता बज्यै भने ल अब त छोराको पनि फोन आयो पैसा पनि पठा भन् तँलाई हो ब्याज घट्ने यसरि बोल्दै थिइन् कि उता भुवन आफैले सुनिरहेको होस् .विदेश गएको मान्छेलाइ पनि तैले यहाँ बाट खान बस्न सिकाई राख्नुपर्छ यस्तै यस्तै फतफताउदै थिइन् साहुनी बज्यै !
उताबाट सानो स्वरमा आवाज आयो ,आमा म भुवन होइन म भुवनको साथी रमेश हो ! अनि आमा छ नि भुवन यहाँ आएको १ महिना पनि नपुग्दै बिरामी पर्यो तर पनि उ जसोतसो काममा जान्थ्यो आराम गर भन्दा पनि मान्दैनथ्यो घरमा आमा एक्लै हुनुहुन्छ साहुको ऋण छ म कसरी आराम गर्नु रमेश भन्थ्यो र जबर्जस्ती काममा पनि जान्थ्यो ! आमा यो अरबको भुमी ४५/५० डिग्रीको घाममा काम गर्नुपर्ने त्यहीपनि हामी त बिल्डिंग कन्स्ट्रक्सन बाहिर काम गर्नुपर्छ ।
त्यही क्रममा उ माथिबाट खसेर उस्को टाउकोमा गहिरो चोट लाग्यो हात भाच्चियो र उ हस्पिटल भर्ना भयो । अनि उताबाट सुँक्क सुँक्क रोएको आवाज आउन थाल्यो । रतियालाइ अड्कल काट्न गार्हो भएन उसका हात खुट्टाहरु थरथरी काँप्न थाले । हातबाट फोन भुँईमा खस्यो र मुर्छा परेर रुनथाली ! यो सबै दृश्य हेरिरहेकी तिनै साहुनी बज्यैकि छोरी निताले भित्रबाट आएर रतियालाइ च्याप्प अँगालो हालेर बेस्सरी रुन थाली मानौं नितालाइ पनि ठुलो चोट परेको छ । चोट नपरोस पनि कसरी ? सानोमा दाजु बैनी झैं संगै हात समाएर यौटै स्कुल जान्थे भुवन र निता ।
यो सब दृश्य हेरिरहेकी बज्यैलाइ पनि केहि गरुङ्गो चिजले थिचेजस्तो भयो उन्का पनि आँखा भरिएर आए । मान्छे जतीसुकै घमण्डी भए पनि निर्दई र क्रुर हुनत नसक्ला ।
गाउँका सबै मान्छे भेला भए सम्झाई बुझाई गरि रतियालाई घर पुर्याए । रतिया छाती पिट्दै भक्कानिदै रोइरहेकी थिइ । जीवन बाँच्ने आधार भनेको त्यही एउटा छोरा थियो त्यसलाई पनि हे दैव ! किन लगिस् यो दिन देखाउनु नै थियो भने मेरो कोखमा किन जन्म दिईस् ? म दु:खीलाई सानोमा आमा छिनीस् फेरी भएन भनेर श्रीमान लाइपनि क्यान्सरबाट पीडित बनाएर सबै लगिस् ? आज फेरी छोरालाई म बाट चुँडिस् ए दैव ! तँ यती निष्ठुरी कसरी हुन सक्छस् ?
१५ औ दिन पछि छोराको मृत शरीर आइपुग्छ सबै गाउँले मिलेर अन्त्येष्टी गर्छन् । रतियालाई ऋणमाथि ऋणको भारीको थुप्रो हुन्छ उमेरले ४० पनि नकटेकी रतियाको शरीर हाड छालाले मात्र बेरेको हुन्छ ,मात्र मानिसको आकृती हुन्छ ।
समयसँगै उसले बिस्तारै बिस्तारै आफूलाई सम्हाल्छे रातदिन बज्यैको टोकेसो आउँछ मान्छेले सम्हालिन नै कहाँ दिन्छन् र ? समाज नै यस्तै छ ।
ए रतिया के हो त अब के छ विचार कसरी तिर्छु भन्ने सोचेकी छेस ऋण ? हेर ! दैब लाग्यो म बुझ्छु तर म त्यत्रो पैसा त मायाँ मार्न सक्दिन नि ! अब त ५-६ महिना बितिसक्यो के छ विचार रतिया तेरो ?
बज्यै मसंग भएको त्यही एउटा बाख्रो र २-४ वटा कुखुरा अनि जग्गाको नाममा ७ धुर जग्गा छ म के गरुँ बज्यै ?
उनि कडा रुपमा प्रस्तुत हुदै भनिन् मलाई थाहा छैन जसरी हुन्छ तिर तेरो जग्गा बेचेर हुन्छ के गरेर हुन्छ ?
रतियाको मनमा विचार आउँछ बज्यै बरु त्यही घर र जग्गा तपाईँको नाममा गरिदिन्छु र म त्यही घरमा बस्छु ! तपाईँको ऋण खाएर म यही गाउँमा कसरी बसुँ ? यस्तै कुराको याचना गर्थी हात जोडेर बज्यैको अगाडी ।
खै साहुनी बज्यै झन् खरो रुपमा भन्थिन् , ए अव १ लाखको लागि तेरो जग्गा लिउँ हैन ? तैले के सोचेको मलाई ? मलाई तेरो त्यो झुप्रो चाहिएको हैन । हैन कसरी कुरा गर्न सकेकी यो डंकिनीले ? पहिला आमा खाइ अनि भएन भनेर पोइ खाइ त्यसपछी छोरा खाइ अव त्यसको एउटा झुप्रो देखाएर मलाई खा पो भन्छे तलाई बोक्सी ! अनुहार हेर्दा नि डंकिनी नभएपनि होलि जस्तो छे ! तँ अबदेखि मेरो घरको बाटो नहिँड मेरो भाको एउटी छोरी पनि तेरो नजर लाग्यो भने ? यती भनेर बज्यै आफ्नो घर भित्र पसिन् ! बर्खा याममा अरुको मेला गरेर फर्केकी रतियालाई बाटोमा रोकेर बोलेको यस्तो शब्दले मुटुमा छुरा प्रहर गरे जत्तिक्कै भयो !
बर्खाको झरीले भिजेको माटोलाइ अझै अलिकति आफ्नो आँशु थपिदीइ र बिस्तारै भनि शायद गरिबीको अर्को नाम बोक्सी पनि होला !
भित्रबाट यो सब ब्यबहार हेरिरहेकी नीताले आफ्नो आमालाई कराउँदै भनि आमा तपाईँले यो के भन्नुभएको काकीलाई ? मैले तपाईँको व्यवहार धेरै दिनदेखि नियालीरहेको छु । आमा कस्तो संकीर्ण सोच लिएर तपाईँले काकीलाई कराउनुभएको ? के हो बोक्सी भनेको थाहा पनि छ के ? तपाईँले अहिलेको जमानामा के बोल्नुभएको त्यस्तो हामीले त आडभरोसा दिने बेला हो यो। को छ त्यो काकीको विचरा ? तपाईँले गर्दा आज गाउँमा सबै जनाले त्यो काकीलाई बोक्सिनी भन्न थालेका छन् ।
त्यसो नगर्नु आमा …….तर बज्यैले केहि सुनिनन् ,उल्टै नितालाई हकार्दै भनिन् तँलाई के थाहा छ ? बाठी भएर नबोल पैसा कहाँबाट तिर्छे तेस्ले ? अब चाँही केहि उपाय नगरी भएन भन्दै बज्यै कराउन थालिन् । अब त् हुँदा हुँदा यसलाई पनि पो पाठ पढाइ छे त ! त्यो बोक्सिनीले भन्दै आफ्नो छोरी नितातिर लक्षित् गर्दै कुर्लिन थालिन् । फेरी भोलिपल्ट त्यही रतियाको घरमा गएर भनिन् , ओई रतिया तैले त्यो घर जग्गा मलाई दिन्छु मलाई बास दिनुस भनेकी हैनस ? ल ठिक छ हिंड माथ्लो घरे हरि मास्टर कहाँ गएर ल्याप्चे लगा यती भनेर उसलाई लिएर गइन् र खाली कागजमा ल्याप्चे लाउन लगाइन् र सबै आफ्नो नाम गरिन् ।
अब रतियाको केहि बाँकी रहेन गाउँलेले त उसलाई बोक्सीको आरोप लगाएर कोहि कसैको बच्चालाई समेत हेर्न दिदैंन थिए ! गाउँमा कोहि बिरामी पर्यो कि तेही रतिया बोक्सिनीको काम हो भनेर गाउँले नै सारा उर्लेर कुटपिट गर्थे यो सब घटना नितुले हेरिरहेकी थिई कति सम्झाउँथी गाउँका मान्छेहरुलाई र आफ्नो आमालाई पनि आमा यस्तो नगर्नुस न हेर्नुस आज तपाईँले गर्दा त्यो काकीलाई यो गाउँमा बस्न नसक्ने बनाईसकेका छन् ! आमा के गरिब हुनु बोक्सी हो र ? काकीको कोहि छैन बिधवा हुनु उन्को दोष हो र ? आमा ! आफै विचार गर्नुस त ? मेरो पनि त बुवा हुनुहुन्न के तपाईँलाई पनि भोली यो समाजले यस्तै नभन्ला भन्न सकिन्न आमा त्यसैले बिन्ती ! यस्तो कुराहरु नगर्नुस कि हामी सम्पन्न छौ हाम्रा आफ्ना हरु सम्पन्न छन् त्यसैले इनिहरु केहि बोल्दैनन ..हेर्नुस त हिजो पल्लाघरको माइली काकीले पनि उहाँको छोरो बिरामी भयो भनेर बेस्सरी गएर काकीलाइ बोक्सी भनेर नानाभाती गाली गरेर आइछिन रतिया काकीले हेरेको ले उहाँको छोरो बिरामी परेको रे भनेर !
हिजो आज समाजको अपहेलना सहन नसकेर कसैको पिटाइ र गाली हरु सहन नसकेर रतिया पागल जस्तै भौतारिदै हिड्न थालेकी छे । कहिले एक्लै हाँस्दै हिंड्छे, कहिले रुदै हिंड्छे, कहिले छोरालाई सम्झेर बेस्सरी बाटो घाटो रुदै हिंड्छे त कहिले त्यही गाउँका मानिस हरुलाइ तथानाम सराप्दै हिंड्छे । तर उसको मर्म मात्र एउटी निताले बुझेकी थिई । किनकी उ शहरमा बसेर पढेर भर्खर मात्र +२ सकाएर आएकी थिइ । तर उनको आमाले जति गरेपनि बुझिनन् एक कानले सुनेर अर्को कानले उडाईदिन्थिन् ।
यसै क्रममा एकदिन रतिया साँझपख त्यसैगरि बाटोघाटो तथानाम गाउकी बज्यैलाइ सराप्दै हिडिरहेको बेलामा सब गाउँले मिलेर उस्लाई समातेर एउटा रुखको फेदमुनी बाँधे र पानी खन्याउदै पिट्दै थिए । कोहि भन्दै थिए , यसलाई गु मुत्र खुवाउनुपर्छ ,कोहि भन्दै थिए यो बोक्सिनी हो यसलाई आगो लाएर जलाउनुपर्छ, यसलाई समाजमा राख्नुहुँदैन । कोहि भन्दैथिए यसले हेरेपछि मेरो बाख्रो मर्यो कोहि भन्दैथिए मेरो गाइ मर्यो सब यो बोक्सिनीको काम हो , यसले उसको पोइ छोरा खाको जस्तै हामी सबैलाई खान्छे हो हो यसलाई पिट ,अझै पिट । रतियाको मुखबाट टाउकोबाट रगतको धारा बग्न थालेको थियो । शायद उसलाई कुनै पनि भनाइ र पिटाइले दुखेकै छैन उ चुप चाप आफ्नो जिउमा मान्छे हरुको लात्ती र लाठी थापेर बसेकी थिई । मानौ उ मुर्ति हो जहाँ मानिसहरु जे मन लागेपनि गर्न सक्छन् । मानवता हराएर राक्षसको रुप लिइसकेको भिडले त्यहाँ केहि र कसैलाई पनि देखेको थिएन ।
यो सब हेरिरहेकी नितालाई अथाह पिडा र अथाह छटपटी भएर भित्र भित्रै भएर पोलिरहेको थियो । रतियालाई जिउँदै जलाउन भनेर त्यो भिडबाट जब मास्टर हरि मट्टीतेल लिएर जिउ भरि छर्किदिन्छ र जलाउन ठिक्क हुन्छ ,ठिक तेही बेला भिडबाट आवाज आउँछ ,रोक्नुहोस ! सबैजना त्यो आवाज आए पट्टि फर्किएर हेर्छन् गाउकी साहुनी बज्यै कि छोरी निता थिइ । उ भिडलाई सम्झाउन थाली , के तपाईँहरुको मानवता हराएकै हो ? एक अवला महिलाप्रती अलिकति पनि दया छैन ? यत्रो ठूलो भिडमा को छ यहाँ मान्छे ? यदी एकजना मात्र पनि हुनुहुन्छ भने मेरो साथ दिनुहोस् ।
भिडमा सन्नाटा छाउँछ,
निता बोल्दै जान्छिन् , हेर्नुस हामीहरु यो पृथ्वीको सबैभन्दा उत्कृष्ठ र चेतनशिल प्राणी हौ । त्यसैले हामीमा चेतना हुनु जरुरी छ । कोहि पनि बोक्सी हुदैन ,बोक्सी त तपाईँ हामी जस्तै चेतनशिल भनेर गनिएका उत्कृष्ट समाजभित्र बसेर उत्कृष्ट सोच राख्न नसक्ने मानिसले एउटा गरिब अनि बिधवा नीरिहलाई बनाउने खाली दिमागको घर मात्र हो । यदी यो कुरा कानुनसम्म पुग्योभने तपाईँहरुलाई ज्यानमारा केस लाग्छ ,हेर्नुस् म पनि तपाईँहरुकै छोरी चेली हो बिन्ति छ मेरो कुरा सुनिदिनुहोस मेरो पनि बाबा हुनुहुन्न ! सरिता काकी तपाईँको पनि श्रीमान हुनुहुन्न के तपाई बोक्सी ? के मेरी आमा बोक्सी ? किन भोलि तपाईँ हामी कसैलाई पनि दैबको बज्रपात पर्न नसक्ला र ? कि रतिया काकी गरिब अनि बिधुवा हुनु भयो ,आफ्नो सबै गुमाउनुभयो, त्यसैले उहाँ बोक्सी ? के गरिब हुनु भनेको बोक्सीको अर्को नाम हो ?
भन्नुस तपाईँहरु ? त्यसैले आमा ,काका,काकी मेरो दाजु दिदी हरु र मेरो दौतरीहरु यस्तो कार्य बन्द गर्नुस् चेतनाले आँखा खोलेर हेर्नुस् यती बेला रतिया काकीलाई तपाईँ हाम्रो साहाराको खाँचो छ । हाम्रो समाजमा बाँच्न सक्ने बाताबरण बनाइदिउँ हामीले सबैले सहयोग गरुँ भन्दै निता रुँदै रतिया काकीको बाँधिएको हात खुट्टा फुकाउँछिन् र जिउमा गम्लङ्ग अँगालो हालेर रुन्छिन । रतियाको अलिअलि मात्र ढुक ढुकी चलेको छ । उनि मुढाझैँ बेहोस छिन् ! समाज अक्क न बक्क छ कोहि केहि बोल्दैनन् निताको आमा साहुनी बज्यै छेउमै आएर छोरी लाइ अँगालो हालेर रुन्छिन र भन्छिन छोरी निता तैले मेरो आँखा खोलिदिस मेरो अहंकारले गर्दा यस्तो भयो ! त्यसपछी गाउँलेहरुले पनि निता र रतिया संग माफी माग्दै अबदेखि यस्तो दुष्कार्य कहिले नगर्ने बाचा गर्छन् ।
हाल ईजरायल
प्रकाशित मिती २०७४ साल श्रावण १६ गते सोमबार