त्रिकोणीय प्रेम सम्बन्ध र पारिवारिक झगडा
सम्वन्ध अनेक थरिका हुन्छन् , आज यहाँ विवाहपछिको प्रेम सम्वन्ध र त्यसलाई विवाह पश्चात पनि निरन्तरता दिइन्छ भने त्यसबाट त्यो परिवारमा पर्ने असरको बारेमा देखेका भोगेका तथा पर्न सक्ने समस्यालाई अर्को भाषामा भन्नु पर्दा त्रिकोणीय प्रेमलाई ब्याख्या गर्न खोजिएको छ ।
विवाह अगाडीको या विवाह पश्चात हुने अन्य प्रेम सम्वन्धले पारिवारिक मेलजोलमा चुनौती मात्र नभएर पारिवारिक बातावरण नै दुषित गराइदिन्छ । हाम्रो समाज पुस्तैनी पिंढी को हिसाब मा चल्ने हुँदा बाबु आमाका क्रियाकलापको सिधा असर छोरा छोरीहरुमा परिरहेको हुन्छ ।
सर्वप्रथम यस्ता त्रिकोणीय सम्वन्धको कारण निश्चित रुपमा परिवारले आर्थिक नोक्सान त उठाउनुपर्छ नै साथै त्यसबाट पारिवारिक असन्तोषको जन्म भई दिनहुँ झैँ-झगडा शुरु हुन थाल्दछ ।
स्वार्थमा टिक्ने खालका यस्ता सम्वन्धलाइ टिकाएर राख्न धनको आवश्यकता पर्ने हुन्छ ,यही धनले नै परिवार का आवश्यकताहरु लाई कटौती गरिदिन्छ । किनकि परिवारमा खर्च गरिनु पर्ने धन यता अर्को सम्वन्ध टिकाएर राख्नमा खर्च भइरहेको हुन्छ । यसैको परिणाम स्वरुप घरमा असन्तोष ,झगडा अनि तनाव हुन थाल्दछ।
अर्को कुरा जब परिवारमा यस्तो सम्वन्धको बारेमा थाहा लाग्छ तत:पश्चात पुरा माहौल नै बिषालु हुनजान्छ । दिनहुँ झगडा तथा तनावको प्रभावले अन्तिममा आएर परिवार नै टुट्न जान्छ । यसबाट श्रीमान -श्रीमती बीच सम्वन्धबिच्छेद हुनसक्छ । यदी परिवारले सम्झाई बुझाइ गरेर घर बसाउँछन् भने पनि मुटुभित्र गडेको त्यो तिरले जीवनभर घोचिरहेको हुन्छ । हमेशा त्यो घटनाले उसलाई पछ्याई रहेको हुन्छ । जसको कारण शंका पैदा हुनजान्छ अनि पुरा परिवारको नजर उसको क्रियाकलापमाथि परिरहेको हुन्छ जसबाट कहिले काहीं तिब्र आलोचना को पनि सामना गर्नुपर्दछ ।
महिलाहरुको बिषयमा स्थिति अझै गम्भीर बन्न जान्छ प्रायजसो हाम्रो समाजमा धेरै जसो महिलाहरु अझै पनि श्रीमानको कमाईमा आश्रित छन् । आर्थिक अनि सामाजिक दुवै रुपबाट यस्तो अवस्थामा त्यस्तो खालको सम्वन्धले महिलाको लागि अपराधको रुप धारण गर्दछ । जसको परिणाम स्वरूप उनिलाई कैयौं पटक कडा दण्डपनि भुक्तान गर्नुपर्ने हुनजान्छ ।
श्रीमानबाट तिरस्कृत भैसकेपछि फेरी समाजमा शरण पाउन मुश्किल हुन्छ । यदी पढेलेखेकी साहसी महिला छिन् भने आफ्नो जीविकोपार्जन आफैँ गर्छिन्। हिम्मतकासाथ बाहिर रहेर पनि शान्तिपूर्वक जीवन यापन गर्दछिन् ।
यती हुँदापनि श्रीमानको साथमा रहन्छिन् भने उनीलाई बिभिन्न किसिमको शारिरीक हिँसा तथा मानसिक उत्पीडनहरु परिवारबाट सहिरहनुपर्ने हुन्छ ।
पुरुष प्रधान समाजको मानसिकता भएकै कारण यहाँ एउटा पुरुषको अपराधलाई एक किसिमको स्वीकृति मिल्छ भने, त्यही अपराध स्त्री को जीवनलाई बिषम परिस्थितिमा धकेली दिएको हुन्छ किन ? स्त्री-पुरुष दुबैमा समान रुपमा अपराध बोध हुन्छ तथापी त्यसको अभिब्यक्ती हाम्रो समाजमा भिन्दा भिन्दै तरिकाले हुन्छ किन ? यसप्रती हामि सबैले आफ्नो सोचमा परिवर्तन ल्याउनु अत्यन्त जरुरी छ ।
बच्चाहरुमा प्रभाब :
यस्ता खालका सम्वन्ध अगाडी भने झैँ सम्वन्धविच्छेदको कारण बन्न सक्छ । दम्पति त सम्वन्धबिच्छेद को पश्चात अलग-अलग इकाईहरुमा बाँडिएका हुन्छन तर प्रत्यक्ष रुपमा त्यसको दुष्परिणाम निर्दोष बच्चाहरुले झेल्नु परेको हुन्छ ।
बच्चाहरुको सहि तथा समुचित बिकासको निम्ति बाबु आमा दुबैको आवश्यकता पर्नुको साथै उनिहरुमा उचित तालमेल पनि हुनु अत्यन्त जरुरी हुन्छ । घरको स्वस्थ बाताबरणमा बच्चाहरुको सर्वाङ्गिण बिकास हुन्छ । यदी घरमा कुनै अवान्छनीय घटनाहरु घट्छन भने बच्चाहरुको मनमा त्यसको ठुलो प्रभाब परिरहेको हुन्छ । आपसी झगडाको कारण बाबु आमाले बच्चाहरुको सहि ध्यान दिंदैनन फलस्वरूप बच्चाहरु आफ्नो लक्ष्यबाट भटकिने गर्दछन् साथै बाबु आमाका बैचारिक मतभेद ,झगडा तथा नाजायज सम्वन्धको चर्चा बाट उनिहरुको मनमा अनेक प्रकारका प्रश्नहरु खेल्न थाल्दछन् । उनिहरु हर गतिबिधिको विश्लेषण गर्दै आफ्नो तार्किक बुद्दीबाट आफूलाई नियन्त्रित गरिरहेका हुन्छन् ।
कहिले काहीं बाबु आमाको झगडाबाट निक्लने कुनै कुराहरु बच्चाहरुले समय भन्दा पहिला नै सुन्दछन् र त्यसलाई अपनाउने कोशिस गर्दछन् ,बच्चाहरुको बुद्दी सहि गलत को निर्णय लिन सक्षम हुँदैन । प्राय: बाबु आमाको लडाई झगडा ले बच्चाहरुलाई पथभ्रष्ट हुनमा प्रेरित गर्दछ ।
बाबु आमाको स्वयं गलत आचरण हुनाको कारण बच्चाहरुलाई त्यस्ता कार्यबाट रोक्ने अधिकार पनि गुमाइसकेका हुन्छन् । केहि बोले उल्टो जवाफ आउन सक्छ जसको केही हिसाब हुँदैन भनेर पनि चुप बस्नुपर्ने स्थिति आउँछ।
ध्यान राख्नुस यस्ता कार्यहरुबाट घरमा झगडा हुन्छ ,सधैँ अशान्तीको बाताबरण बनि रहेको हुन्छ । यतिमात्र कहाँ हो र परिवारलाई सामाजिक बेइज्यती भोग्नुपर्ने हुन्छ ।
सामाजिक प्रतिष्ठा :-
सिधै भन्नुपर्दा यो अवस्था मा बदनामीको कारण घरमा बस्न या बाहिर निक्लन मुश्किल उत्पन्न हुन्छ । मान्छेहरु घुमाई-फिराइ अरुको अगाडी त्यो कमजोरीलाइ उजागर गर्ने प्रवृतिमा लागी परेका हुन्छन् । त्यति मात्रै कहाँ होर सा-साना बच्चाहरुलाई समेत के भइरहेको छ घरमा ? कत्तिको कल गर्छन बाबु आमा भन्दै उनिहरुमा हुने नहुने मानसिक पिडा दिइरहेका हुन्छन् । जसबाट बच्चाहरु आत्मग्लानीले भित्रभित्रै गलिरहेका हुन्छन् । बिस्तार बिस्तार सामाजिक दायरा पनि कम हुँदै जान्छ । अन्तत: निर्दोष बालबालिकाहरु कुण्ठाको शिकार हुन्छन् । परिवारका अन्य सदस्यहरुलाई अकारण नै क्षोब तथा ग्लानि सहनुपर्ने हुन्छ । यसप्रकार एकजनाको गल्तिले गर्दा पुरा परिवार नै दण्डित भै रहेको हुन्छ ।
पारिवारिक जीवन एक गम्भिर जिम्मेवारी हो । यहाँ प्रत्येक काम सोचेर सम्झेर गर्नुपर्ने हुन्छ । साथै हर कार्यको दुरगामी परिणाम को बारेमा सोच्नुपर्ने हुन्छ ,कुन कार्यले परिवार र समाजमा कस्तो खालको प्रभाब पर्छ त्यो बुझ्नु जरुरी हुन्छ । परिवारका प्रत्येक सदस्यको भाबना तथा स्वाभिमान को रक्षा गर्ने दायित्व पनि परिवार माथि नै हुन्छ ।
परिवारका प्रत्येक सदस्य अन्यहरुसँग भावनात्मक ,सामाजिक,आर्थिक अनि व्यबहारिक रुपमा जोडिएका हुन्छन्। कसैको कार्य या बिचारबाट यदी अर्कोलाई दु:ख पुग्छ या कठिन समयमा एक अर्काको सहयोग मिल्दैन भने त्यो परिवार शीघ्र नै विखण्डित हुन्छ ।
समाजका गतिबिधिहरुलाई सुचारु राख्न या भनौ साथमा चल्नको निम्ति परिवारको कार्य प्रणालीलाई सुचारु रुपले चलाउन अत्यन्त आवश्यक हुन्छ । जस्तैः थोपा थोपा ले घैंटो भरिन्छ त्यस्तै एक-एक परिवार बाट समाज , समाज बाट संगठन र संगठन बाट राष्ट्रको निर्माण हुन्छ ।
परिवार समाजको धरोहर हो,हामी कसैलाई पनि यो अधिकार छैन आफ्नो मनमानी ढंगले अर्काको अधिकारको हनन गर्ने तथा आफ्नो निजी स्वार्थ पूर्तिका लागि अरुको शोषण गर्ने । परिवार अनि समाजको अर्थ संयुक्त रुपमा प्रत्येक सुख सुबिधाहरुको उपयोग गर्नु हो ।
आपसी प्रेम सद्भाव र सहृदयता ले नै मानब समाजलाई सदैव एक आपसमा जोडेर राखेको हुन्छ । यस कुरालाई सबैले मानेका कुरा हुन् । यहाँ प्रत्येक मानिस एक्लो हुँदा हुँदै पनि संयुक्त छ। आफ्ना अनि अपनत्वबाट घेरिएको छ । यही भावले नै मानिसलाई अनौठो सुख दिएको हुन्छ ।
हाल, अफगानिस्तान
प्रकाशित मिती २०७४ साल असार १ गते विहिबार