आमा छोरीको सम्बन्ध
“एउटी आमाको गैर जिम्मेबारीपनले छोरीलाई विद्रोह गर्न उक्साइरहेको हुन सक्तछ । यहीँनेर विचार पुर्याउनुपर्ने हुन्छ आखिर गृहस्थी त आमाकै हो, छोरीको होइन क्यार….। आमाले सधैँ छोरीको उमेर र क्षमताअनुसार विस्तारै काम सिकाउँदै जानुपर्छ । जबर्जस्ती पछि लाग्नु हुदैन । खानपिन, खेलकुद अनि पढाईको समुचित ख्याल राख्नुपर्दछ । साथै उनीहरूको रूचिमा पनि ध्यान दिनुपर्दछ । छोरीलाई पनि छोरा समान स्वतन्त्रता दिनुपर्दछ । जब यौवना हुन्छिन उनीहरूको शारीरिक संरचनाबारे बताएर विस्तारै सम्झाउँदै जानुपर्दछ । पुरूष सहपाठीहरूसँग दूरी बनाएर रहन विस्तारै सम्झाउनु पर्दछ । “
– राजन गिरी
आमा/छोरीको सम्बन्ध अनौठो तथा रहस्यमयी हुन्छ । छोरीको गुरू, सहयोगी र आदर्श भनेकै आमा हुन । कतिपय छोरीहरूले आमा जतिलाई प्रतिद्वन्दी वा तानाशाह पनि सम्झने गर्दछन । आमा/छोरी भनेको दुई नारी बीचको फरक पुस्ता हुन् । कतिपय आमाले छोरी जन्मेपछि उनमा आफ्नो प्रतिरूप देख्न थाल्दछिन् । जुन इच्छा र आकांक्षा स्वयंले पूरा गर्न पाएकी हुँदिनन त्यो आफ्नो छोरीको जीवनमा पूरा गर्ने भरपुर कोशिस गर्न सक्छिन । तर परिस्थितिवश वा अन्य कारणले आमाको व्यवहारमा केहि परिवर्तन देखापर्न थाल्दछ जहाँ नचाहँदा नचाहँदै पनि आमा/छोरीमा मनमुटाव उत्पन्न हुन जान्छ । जस्तै, आवश्यकता भन्दा बढी पुल्पुल्याउँदा छोरीको व्यवहारमा निरंकुशता बढ्ने सम्भावना धेरै हुन्छ । अत: उसलाई दिइने मायाँलाई आफ्नै कमजोरी बनाउनु हुदैन । आवश्यक स्वतन्त्रतासँगै केहि नियन्त्रण पनि राख्नुपर्दछ । ताकि आमाको अवज्ञा गर्न नसकून । कोही आमाहरू पहिले पहिले त आवश्यकता भन्दा बढी छुट दिन्छन । पछि एक्कासी बन्देज लगाउन थाल्दछन । त्यतिखेर हरेक किशोरीहरूको अबोध मन-मस्तिष्कले सोँच्न सकिरहेको हुदैन कि आमाबाट आफूमाथि किन बन्देज लगाइएको हो ?
नारी अति संवेदनशील हुन्छन । एकदिन छोरीलाई पूर्ण विकसित बनाउनु छ त्यसैले त्यो सँगै यो पनि सम्झाउँदै जानुपर्छ । बिना कारण अनावश्यक सल्लाह दिन थालियो भने उनीहरूले मन र मस्तिष्कमा कुण्ठा पाल्न सक्छन । त्यसैले वस्तुस्थितिको बारेमा समयअनुसार ज्ञान अवश्य दिइनुपर्दछ तर, जबर्जस्ती होइन । प्राय: घरहरूमा आमा/छोरीबीच लुगा फाटालाई लिएर झगडा हुने गर्दछन । वयस्क आमा अनुभवी हुन्छन । आमाले राम्रोसँग जानेकी हुन्छन कहाँ कस्तो लुगा लगाइनुपर्दछ । तर, छोरी फेशन मुताबिक लगाउन चाहन्छिन । यस्तै विषयहरूमा अधिकांश घरहरूमा मनमुटाव भएको पाइन्छन । यस्ता विषयहरूमा अनावश्यक हल्लीखल्ली मच्चाएर छोरीको गरिमाको मानमर्दन नगरौं । बन्द कोठामा पनि स्पष्ट शब्दमा सम्झाउन सकिन्छ । कस्ता खालका पोशाकले कस्तो प्रभाव पर्दछ । कुन प्रकारको पोशाकबाट शरीरलाई कुन कोणबाट प्रदर्शित गर्दछ तथा त्यसको दुस्परिणाम के हुन्छ ?
यदि धैर्यपूर्वक छोरीलाई सम्झाउने हो भने अस्तव्यस्त खालका लुगा वा पहिरन लगाउदा घरमा रहेका दाजुभाई, बाबु बाजे, काका, ठूलोबुवा , छरछिमेक वा पाहुनाको रूपमा आएका पुरूषवर्गले के सोँच्न सक्छन ? उनीहरूको आत्मसम्मानमा ठेस नपुर्याई सम्झाउन सकियो भने आफ्नो फेशनलाई उनीहरू स्वयंले अंकुश लगाउने छन ।
छोरीको पहिरन, उठ्बस गर्ने तरीकामा ध्यान दिनु तर, व्यर्थै सबैको अगाडी हप्काउने, अनावश्यक टीकाटिप्पणी गर्नबाट पनि बच्नुपर्दछ । कतिपय आमाहरूले छोरीका साथीहरूकै अगाडी उसको गलत बानीहरूको बारेमा चर्चा गरिदिनु अति नै गलत हो । यसबाट उनीहरूलाई अप्ठ्यारो पर्न सक्छ । आफ्नी छोरीका साथीहरूसँग कुराकानी अवश्य गर्नुपर्दछ तर, याद राख्नोस…ती त छोरीका साथीहरू हुन् तपाईंका होइनन । कतै तपाईंको सस्तो लोकप्रियता छोरीको इर्ष्याको कारण नबनून ।
जवान भइसकेकी छोरीका निम्ति केही आमाहरूले कहिलेकाहिँ बडो अप्ठ्यारो परिस्थिति सिर्जना गरिदिन्छन ।
छोरी भन्दा तरूनी देखिनु छोरीका निम्ति गर्वको कुरा होला । तर, यही कारणले छोरीको साथी सँगीबीच नराम्रो प्रभाव नपरोस । यसर्थ छोरीको स्कुल कलेज वा कुनै कार्यक्रममा सँगै जानु छ भने याद राखौँ, त्यहाँ आमा जस्तो देखिनु नै राम्रो हो । छोरीलाई केहि धेरै नै सिकाउने चक्करमा जतिखेर पनि पछि लाग्नु राम्रो होइन । छोरीको सिक्ने चाहना छ कि छैन ? छोरीको मन पढाई तथा करिअरतिर केन्द्रीत भइरहेको हुनसक्छ । यस्तोमा कुरै नबुझी जबर्जस्ती घरेलु काम सिकाउँछु भनेर पछि लाग्दा ती आमाको छवि तानाशाह जस्तो पनि बन्न सक्तछ । केही आमाहरूले छोरी जन्मने बित्तिकै आफूलाई सघाउन आएकी भन्ने सम्झन्छिन र हुर्कन वा केही बुझ्न पाएकी हुदिनन् पूरै घरको कामकाजमा जोत्न थाल्दछिन ।
टोल छिमेकमा कुनै महिला यस्ता पनि हुन्छन जो सधैँजसो घरमा झगडा मात्र गरिरहन्छन अनि रिसले आफन्तकहाँ गएर बसिदिन्छन । घरको काम गर्न भनेपछि मरे जत्तिकै गर्छन र पूरै घरमा झिँगा भन्किरहँदा पनि वरको सिन्का पर सार्दैनन । वर्षौ यही क्रम चल्दै आएपछि चार क्लासमा पढ्दै गरेकी छोरी र उनकी हजुरआमा मिलेर घर सम्हाल्छन । छोरी आठ नौ कक्षामा पुगेपछि मुखाले बन्छिन अनि आफ्नी आमालाई देख्नेबित्तिकै भन्न थाल्दछिंन ,जाउ गएर आफन्तको घरमा कुरा काट्दै बस, खाना त हामी आफैं बनाइहाल्छौँ ।´ छोरीको यही वचन आमाका लागि छूरा बन्न सक्छ । त्यस्ताकै छोरीले आमाले जे नगर भन्छिन त्यही त्यही गर्न थाल्दछिन । जो देखि सिँगो घरकाहरू थर्कमान हुन्छन उसैका विरूध्द घरका बाँकी सदस्यहरूसँग मिलेर छोरीले मोर्चा बनाउन सक्छन ।
एउटी आमाको गैर जिम्मेबारीपनले छोरीलाई विद्रोह गर्न उक्साइरहेको हुन सक्तछ । यहीँनेर विचार पुर्याउनुपर्ने हुन्छ आखिर गृहस्थी त आमाकै हो, छोरीको होइन क्यार….। आमाले सधैँ छोरीको उमेर र क्षमताअनुसार विस्तारै काम सिकाउँदै जानुपर्छ । जबर्जस्ती पछि लाग्नु हुदैन । खानपिन, खेलकुद अनि पढाईको समुचित ख्याल राख्नुपर्दछ । साथै उनीहरूको रूचिमा पनि ध्यान दिनुपर्दछ । छोरीलाई पनि छोरा समान स्वतन्त्रता दिनुपर्दछ । जब यौवना हुन्छिन उनीहरूको शारीरिक संरचनाबारे बताएर विस्तारै सम्झाउँदै जानुपर्दछ । पुरूष सहपाठीहरूसँग दूरी बनाएर रहन विस्तारै सम्झाउनु पर्दछ ।
युवावस्थामा केटाहरूतिर आकर्षित हुनु स्वभाविक प्रक्रिया हो तर, यो प्रक्रियामा अल्झिने हो भने पढाई तथा करिअरमाथि कस्तो खालको असर पर्दछ ? उल्टो-सुल्टो कुराहरू उनीहरूको दिमागमा घुसाउने प्रयास गर्नु हुदैन । स्वस्थ्य विचारधारा र स्वस्थ्य दृष्टिकोण प्रदान गर्नुपर्दछ । यसले आमा-छोरीबीच राम्रो तालमेल वा कुनै प्रकारको कटूता रहँदैन । किनकी आमा नै छोरीको सबैभन्दा राम्रो या असल साथी बन्न सक्दछिन । छोरीमा केहि राम्रो बानी बसाल्न लगाउनु पर्दछ । जस्तै, नियमित व्यायाम, आफ्नो अनुहार र सौन्दर्यको ध्यान राख्ने, शरीरको ध्यान राख्ने, कोठाको सजावट एवं स्वच्छता आदि ।
कैयौँं केटीहरूको तँ-तँ र म-म गरेर बोल्ने बानी हुन्छ । कोहीमा प्यार प्यार बोलिरहने बानी हुन्छ । जसले उल्टो-सुल्टो वा पाल्सी शब्दको प्रयोग गर्छन । यस्तो बानीले स्पष्ट हुन्छ कि त्यस्ताकी आमा कति लापरबाह रहिछन भन्ने । यदि आमाले सही गाइड तथा मार्गदर्शन गर्ने हो भने छोरीले सही दिशामा उन्नति गर्न सक्दछिन । छोरीको करिअर निर्माणमा सधैँ प्रोत्साहित गर्नुपर्दछ । र पूरा सहयोग गर्नुपर्दछ । छोरीको स-साना सफलता एवं खुशहाल जीवन आमाको लागि सबैभन्दा ठूलो उपलब्धि हो । आमा नै हुन् छोरीलाई धैर्य, सहनशिलताको पाठ सिकाउन सक्ने । हरेक कुरामा छोरीलाई हप्की-दप्की गरिरहे छोरीको मनमा विस्तारै आमाप्रति हीनभावना उत्पन्न हुन थाल्दछ । आत्मविश्वास शून्य हुन जान्छ । जसको असर उसको सारा जीवनमाथि पर्दछ । त्यस्ताले सारा जीवन हीन भावनाकासाथ बिताउँछन उनीहरूलाई लागिरहेको हुन्छ कि यो जीवन अबान्छ्नीय छ ।
अक्सर महिलाहरू आफ्नो स्त्री जीवनलाई धिक्कारी रहेका हुन्छन । जसको एउटै कारण हो, बाल्यावस्था देखि हुर्काइएको हीनभावना । यसर्थ समय छँदै आफ्नी छोरीको हीनताबोध हटाएर आत्मगौरवको भावना जागृत गराऔँ । उनीहरूमा यो आत्मविश्वास जगाऔँ कि नारीको जीवन अनमोल र गरिमामय हुन्छ । नारी सृजनाका स्रोत हुन् । नारीको अस्तित्व नष्ट हुने हो भने यो संसारको क्रम नै रोकिन्छ । उनीहरूमा नारीको सृजनशक्ति एवं उसको महत्वबारे जानकारी गराउनु आवश्यक छ, ताकि आफूलाई हीन नसम्झियुन् र उनीहरूमा सकारात्मक व्यक्तित्वको विकास होओस । छोरीको व्यक्तित्व विकासमा सहायक बनौँ ।
उनीहरूलाई उठबस गर्न, हिँड्न र कुरा गर्ने तौरतरीकाको बारेमा सिकाउनुपर्दछ । समाजका व्यवहारिक नियमहरूको बारेमा जानकारी दिऔँ ।
छोरीप्रति निस्वार्थ भाव राखौँ, आफ्नो परिचारिका सम्झनु हुदैन । अशिष्ट र असभ्य तरीकाले कुराकानी नगर्नुस अन्यथा उनीहरूले पनि त्यस्तै व्यवहार सिक्नेछन । भविष्यमा यही पाठ नै जीवनभरी घाँटीमा अड्किएको हड्डी सरह हुनेछ । छोरीलाई घरेलु काम अवश्य सिकाउनुस तर, विस्तारै- विस्तारै…काम गर्दा कुनै गल्ति भयो भने हप्काउने होइन कि सम्झाउनु पर्दछ । पटक-पटक सम्झाउने कोशिस गर्नुपर्दछ । बेला-बेलामा स्वास्थ्य र सौन्दर्यबारे पनि शिक्षा दिनुपर्छ । तर, नारी भनेको उपभोग्य वस्तु हैनन भन्ने बुझाउन पनि जरूरी छ ।
सिध्द-१ कास्की
हाल: काबुल, अफगानिस्तान